दुई चरणको छलफलपछि पनि टुंगिएन सेन्ट जेभियर्सको विद्यार्थी भर्ना ‘विवाद’

दुई चरणको छलफलपछि पनि टुंगिएन सेन्ट जेभियर्सको विद्यार्थी भर्ना ‘विवाद’
Education Dainik आइतबार, चैत १९, २०७९

ललितपुर महानगरपालिकाले पत्र पठाएर रोकेको सेन्ट जेभियर्स स्कुलको विद्यार्थी भर्ना विवाद टुंगिन सकेको छैन । जावलाखेलमा सञ्चालित सेन्ट जेभियर्स स्कुलले व्यवस्थापन समितिको निर्णयअनुसार कोटा निर्धारण गरेर फागुन १८ देखि भर्ना प्रक्रिया सुरु गरेको थियो ।

कक्षा १ मा भर्ना हुने सिट संख्या १५० मा ४ हजार ५ सय विद्यार्थीको दरखास्त बुझाएको स्कुल प्रशासनले जनाएको छ । दरखास्त दिएका मध्ये ३ हजार ७ सयको सर्टलिस्ट गरेर ३ हजारको अन्तरक्रिया सकेपछि चैत ६ मा महानगरपालिकाले भर्ना प्रक्रिया रोक्न निर्देशनात्मक पत्र पठाएको थियो ।

महानगरको निर्देशनपछि फारम भरेका करिब ४ हजार विद्यार्थीका अभिभावक अन्योलमा परेका छन् । सेन्ट जेभियर्समा १ कक्षामा भर्ना हुन साढे ५ देखि साढे ६ वर्ष उमेर समूहका बालबालिकाले मात्र दरखास्त दिन पाउँछन् ।

भर्ना प्रक्रिया रोकेपछि स्कुल प्रशासन र महानगरपालिकाका प्रतिनिधिको बिचमा दुई चरण छलफल भैसकेको छ । तर, छलफलबाट निकास निस्केको छैन ।

जेसिट साेसाइटी र सेन्ट जेभियर्सका कर्मचारीलाई भर्ना गरेर बाँकी रहेको संख्यामा मात्रै कोटा तोकेर गोलाप्रथाबाट विद्यार्थी भर्ना लिएको महानगरको आरोप छ । सेन्ट जेभियर्सले पूर्व विद्यार्थीका बालबच्चाका लागि १० प्रतिशत, पढिरहेका विद्यार्थीका भाइबहिनीका लागि १० प्रतिशत, ललितपुरको वडा नम्बर ४ का विद्यार्थीका लागि ५ प्रतिशत र ललितपुर महानगरभित्रका विद्यार्थीका लागि १० प्रतिशत कोटा दिने गरेको छ । त्यसबाहेकको कोटामा स्कुलले गोलाप्रथा गर्ने गरेको छ । महानगरले सो शर्त परिवर्तन गर्नुपर्ने अडान राखेको छ ।

३ वर्षअघि शिक्षा मन्त्रालयले परीक्षा लिन रोकेपछि सेन्ट जेभियर्सले गोलाप्रथा लागु गरेको थियो । महानगरपालिकाका एकजना अधिकृतका अनुसार स्थानीय निकाय र सेन्ट जेभियर्सको बिचमा ‘इगो’ देखिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल महानगरले भर्ना बन्द गर्नु नभनेको बताउँछन् । ‘कानुनले निर्धारण गरेअनुसार आरक्षित कोटा देउ भनेर महानगरले भनेको हो’, प्रमुख प्रशासकीय अधिकृत अर्याल भन्छन्, ‘छिट्टै छलफल गरेर यो समस्यालाई टुंग्याउँछौं ।’

शिक्षा मन्त्रालयले यस पटकबाट कक्षा १ मा प्रवेश परीक्षा नलिन स्कुलहरूलाई परिपत्र गरेको छ । सो परिपत्रपछि सेन्ट जेभियर्सले फारमको आधारमा सर्टलिस्ट तयार गरेर अन्तरक्रिया मार्फत विद्यार्थी भर्ना गर्ने निर्णय गरेको थियो । ७० वर्षदेखी गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएकोले सेन्ट जेभियर्स अभिभावकको रोजाइको स्कुल बन्ने गरेको छ ।