काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने भएको छ । प्रत्येक शुक्रबार कापी किताब तथा झोला बिनै विद्यार्थीहरू विद्यालय जान पाउने भएका हुन् ।
‘विद्यार्थीहरू झोला र कापी किताब नलिएरै आउने । खेल्दै रमाउँदै आउने खालको हो,’ उनले भने ।
विद्यालयमा आएर खेल्ने रमाउने मात्र नभएर पुरै सिस्टमेटिक गरेर अरू सीपहरू सिकाउन उक्त अवधारणा अघि सारिएको उनको भनाई छ ।
मेयर शाहकै ब्रड भिजन अनुसार उक्त कार्यक्रम अघि बढाउन खोजिएको उनले बताए । ‘मेयरसापको अलिकति ब्रड भिजन अनुसार नयाँ एप्लाई गर्न खोजिरहेका छौं । काठमाडौँमा सफल भयो भने नेपालभर लागू हुनसक्छ । यो भिजनलाई बिस्तारै लगेर जान म प्रयप्त गरिरहेको छु,’ उनले भने ।
बुक फ्रि डे भनेपछि अभिभावकहरू तथा बालबालिका पढाई नै नहुने भनेर कतै नकारात्मक प्रभाव पर्नेबारे आफूहरू सचेत रहेको उनको भनाई छ ।
‘कतै नेगेटिभ भएर होलिडे भनेर अथवा खेल्ने दिन भनेर अभिभावकहरूले बालबालिकालाई विद्यालय नै नपठाउने हुन कि भन्ने पनि छ । यसका लागि हामी धेरै सोचेर अगाडि बढ्न खोजिरहेका छौं,’ उनले भने ।
शुक्रबारको दिन बालबालिकाहरूलाई आवश्यक परेको खण्डमा विद्यालयबाटै नोट कपी दिइन्छ । आवश्यक परेको खण्डमा उनीहरू त्यही नोट कापीमा खेल्न सक्छन् । र त्यसपछि त्यो कापी विद्यालयमै छोड्नुपर्ने हुन्छ ।
यसका लागि दुई चरणमा विभाजन गरिएको छ । ‘टिफिन टाइमभन्दा अगाडिको समयमा करिकुलम एक्टिभिटी हुन्छन् । टिफिन टाइमभन्दा पछाडिका स्किलबेस र एक्ट्रा एक्टिभिटी हुन्छन्,’ शिक्षा अधिकारी सुवेदीले भने ।
महानगरले सिकाउने भनेको सफ्ट स्किल कार्यक्रम पनि यही अन्तर्गतको हो ।
विद्यार्थीहरूलाई विद्यालयको पढाइमा मात्र केन्द्रित गराएको तर, जीवनको पढाई गराउन नसकिएको उनको भनाई छ ।
‘हामीले बच्चाहरूलाई पढाइतिर मात्र ध्यान केन्द्रित गरायौं । दूध उत्पादन कसरी हुन्छ ? धान उत्पादन कसरी हुन्छ ? लगायतका जीवन उपयोगी विषयहरू पढाई हुन सकेनन् । यसमा हामीले प्रयोग नै गरेर जाने हो,’ उनले भने ।
विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान सिकाउनको लागि शुक्रबार छुट्याइएको उनको भनाई छ ।
‘व्यवहारिक शिक्षामा सिकाउनुपर्ने धेरै विषय रहेछन् । व्यवहारिक कुरा सिकाउनुका साथै गीत नाच गान लगायतका क्रियाकलाप त हामीले पहिलादेखि नै गर्दै आएका छौं,’ उनले भने, ‘मोबाइलको सेक्युरिटी सचेतना, यौन सचेतना, मानव अधिकार जस्ता थुप्रै कुराहरू छन् । त्यसैले हामीले पढेको कुरा ५० प्रतिशत मात्रै रहेछ । बाहिर सिक्नुपर्ने कुरा ५० प्रतिशत नै रहेछ । जुन हामीले कहिल्यै पढेनौं र सिकेनौं पनि ।’