कविता : हराएका सपना र सिंहदरबार

कविता : हराएका सपना र सिंहदरबार

कविता

हराएका सपना र सिंहदरबार

मान्छेका बिचारहरू
जब बन्द हुन्छन् कालकोठरिमा
थुनिन्छ हिरासतमा
मान्छेका फगत एउटा सपना
कक्रिन्छन् पेटहरू
थन्किन्छ एउटा बिपना
अस्पतालको भिन्टिलेटरमा
उर्लिन्छन आबेगहरू सडकहरूमा
र हरेक दश सालमा
फेरि हुन्छ सात सालको पुनरावृति

तर

सात सालका सपनाहरूले
घरको चुलो नबलेपछि
सतचालिस सालका
उही उरन्ठेउला सपनाहरूले
आङको लाज नछोपेपछि
बैसठ्ठी त्रिसठ्ठिले
चुहिएको छानो नटालेपछि
अहिले मान्छे
हारगुहार मागिरहेछ
खोलाका किनाराहरूसँग

किनकी

थुन्नेहरूका बिरुद्द खोला जस्तै
ऊ उर्लिन सकेन
छेक्नेहरूका बिरुद्द खोला जस्तै
ऊ लड्न सकेन
पुर्नेहरूका बिरुद्द खोलाहरू जस्तै
ऊ बाढी भएर
उनिहरूलाई नै बगाउन सकेन
र आज ऊ आफै बगिरहेछ
ऊ आफै भेल सँगै
नारा लगाईरहेछ
भन्छ,
हरेक दश वर्षमा उर्लने भेल किन
सिंहदरबारमा पस्दैन ?

हरेक दश सालले
बनाएर जान्छ
दुई चार गङ्गालाल र धर्मभक्तहरू
रित्याएर जान्छन् आमाको कोख
वर्ष अनि हरेक वर्ष
उर्लेर आउँछ भेल
बगेर जान्छ भेलसँगै
सन्तमानका गरिखाने ठेलागाडा
कान्छिमायाका
मकै पोल्ने निरीह तगारीहरू
जान्छ भत्काएर बुवाको छाहारी
लान्छ खोसेर आमाको माया
अनि श्रीमानको न्यानो साहारा

हो, सात साल र यो बाग्मती
उस्तै उस्तै लाग्छ अचेल
सतसालिस साल र हनुमन्ते खोला
उस्तै उस्तै लाग्छ अचेल
बैसठ्ठी त्रिसठ्ठी र सप्तकोशी पनि
उस्तै उस्तै लाग्छ अचेल
भलसँगै थुप्रिन्छन् उर्बर माटो घुर्यानमा
र सँगै बगाएर लैजान्छ
मान्छेका सुदुर सपनाहरू
पानीका निर्दयी भङ्गालाहरूमा

के गरोस् मान्छे ?
थुन्यो एता डुबाउँछ
अनि खोल्यो उतातिर डुबाउँछ
आजित छ एउटा औसत मान्छे
त्यसैले
मान्छेहरू निस्किएका छ्न्
तटबन्ध निर्माणार्थ
कि अब निर्दोष सपनाहरू कहिल्यै
नबगुन्.....!!!

- प्रेम राई परीक्षित