अहिलेको प्रविधिमैत्री युगमा केवल शैक्षिक ज्ञान पर्याप्त छैन। विद्यार्थीले ‘सफ्ट स्किल्स’ र २१औँ शताब्दीका जीवनोपयोगी सीपहरूमा विशेष ध्यान दिनु आवश्यक छ।
अहिलेको टेक्नोलोजिकल युगमा हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने ‘हार्ड स्किल्स’ भनेका कुरा संस्था तथा शिक्षण प्रणालीमार्फत सिक्न सकिन्छ। आजको दिनमा धेरैजसो सूचना र ज्ञान इन्टरनेट तथा गुगलमार्फत सहजै प्राप्त गर्न सकिन्छ। तर ‘सफ्ट स्किल्स’ भनेको त्यस्तो पक्ष हो, जुन सिक्न र विकास गर्न त्यति सजिलो हुँदैन।
आजको विश्व तीव्र रूपमा परिवर्तन भइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (AI) को विकाससँगै यस्तो अवस्था आएको छ कि हामीले विद्यार्थीलाई त्यस्ता रोजगारीका लागि शिक्षा दिइरहेका छौँ, जुन अझै सिर्जना नै भएका छैनन्। त्यस्तै, हामीले प्रयोग गर्ने प्रविधि र काम गर्ने प्रणाली पनि भविष्यमा कस्तो हुने हो भन्ने पूर्ण रूपमा कल्पना गर्न सकिएको छैन।
यस्तो परिवर्तित सन्दर्भमा केवल परम्परागत ज्ञान पर्याप्त हुँदैन। त्यसैले म ठान्छु कि विद्यार्थीले ‘सफ्ट स्किल्स’ र ‘२१औँ शताब्दीका जीवनोपयोगी सीपहरू’लाई प्राथमिकता दिनु अत्यन्त आवश्यक छ।
“सूचना गुगलबाट पाइन्छ, तर सफल बन्ने सीप भने ‘सफ्ट स्किल्स’मै हुन्छ।”
विशेषगरी, विद्यार्थीले दुईवटा महत्वपूर्ण पक्षलाई ध्यान दिनुपर्छ—‘मानिस’ र ‘समस्या’। जहाँ पनि जाँदा मानिस र समस्या दुवै हुन्छन्। त्यसैले प्रभावकारी रूपमा काम गर्नका लागि सञ्चार सीप (Communication Skills), सहकार्य क्षमता (Collaboration Skills) र समस्या समाधान गर्ने क्षमता (Critical Thinking & Problem Solving) अत्यन्त आवश्यक हुन्छ।
यी सबै सीपहरू नै २१औँ शताब्दीका मुख्य आधार हुन्। जसले विद्यार्थीलाई केवल शैक्षिक रूपमा मात्र होइन, व्यावहारिक जीवनमा पनि सक्षम बनाउँछन्।
यसका साथै, विद्यार्थीले जुनसुकै क्षेत्रमा काम गरे पनि ‘उत्कृष्टता’ (Excellence) र ‘नैतिकता’ (Ethics) लाई सधैं प्राथमिकतामा राख्नुपर्छ। चाहे प्रशासनिक क्षेत्रमा काम गर्ने होस् वा निजी क्षेत्रमा, उत्कृष्टता र नैतिकता बिना दीर्घकालीन सफलता सम्भव हुँदैन।