आजको परिवर्तनशील संसारमा विद्यार्थीलाई केवल जानकारी कण्ठ गराउनु पर्याप्त छैन। उनीहरूलाई सिक्न, सोच्न, प्रश्न गर्न, विश्लेषण गर्न र नयाँ परिस्थितिसँग अनुकूलन हुन सक्ने क्षमता विकास गराउनु आवश्यक छ।
अहिले विद्यालय शिक्षा र सिकाइमा शिक्षकहरू माझ विद्यार्थीका लागि भविष्य तयारी सीप (Future-ready Skills) सिकाउने भन्ने बुझाइमा अन्योलता देखिन्छ। आजको संसार तीव्र परिवर्तनशील संसार हो। हिजो रहेको कुरा आज छैन। आज भएको कुरा भोलि नहुन सक्छ। भोलि के हुन्छ ? अनुमान गर्न सकिँदैन। हरेक क्षेत्रमा अस्थिरता र अनिश्चितताले राज गरेको पाइन्छ। समस्याको कारण र कारकहरू बुझ्न गाह्रो भइरहेको छ। कुनै एउटा समस्या सिर्जना हुनुमा कुनै एक क्षेत्रको मात्र भूमिका देखिँदैन। खोज्दै जाँदा धेरै कुरा जोडिएर आउँछन्। यस्तो अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट संसारमा काम गर्नका लागि यही नै सीप चाहिन्छ भन्ने हुँदैन। एउटा मात्र सीपले यस्तो संसार बुझ्न सकिँदैन। विज्ञान, प्रविधि, अर्थतन्त्र, राजनीति, शिक्षा र सामाजिक संरचनामा भइरहेको तीव्र परिवर्तनले मानिसलाई निरन्तर नयाँ परिस्थिति सामना गर्न बाध्य बनाइरहेको छ। यस्तो अवस्थामा कुनै पनि सीप स्थायी रूपमा उपयोगी रहन्छ भन्ने हुँदैन। आज अत्यन्त मूल्यवान् मानिएको सीप भोलि अप्रासङ्गिक र असान्दर्भिक हुन सक्छ।
दुई दशकअघिको संसार र आजको संसारबीच हरेक क्षेत्रमा आमूल परिवर्तन भएको छ। सन् २००० को दशकमा इन्टरनेटको उपलब्धता र प्रयोग सीमित मात्रामा रहेको थियो। त्यतिबेला मोबाइल फोन सामान्य सम्पर्कको माध्यम मात्र थियो। सामाजिक सञ्जालहरू सुरुवाती चरणमा थिए। कृत्रिम बौद्धिकताको प्रभाव दैनिक जीवनमा न्यून थियो। विद्यार्थीहरूले पुस्तक, शिक्षक वा खबरपत्रबाट जानकारी प्राप्त गर्थे। रोजगारीको संरचना स्थिर थियो। एउटै विषय पढेर लामो समयसम्म एउटै पेशामा टिकिरहन सकिन्थ्यो। सरकारी जागिर, वित्त तथा बैंकिङ क्षेत्र, शिक्षण वा प्रशासनिक सेवा स्थायित्वका प्रतीक मानिन्थे। त्यस बखत टाइपिङ, कम्प्युटर चलाउने सीप, हस्तलेखन, फोन नम्बर सम्झने, एनालग फोटोग्राफी, भिसिआर चलाउन जान्ने सीप, परम्परागत लेखा प्रणालीजस्ता सीपहरू निकै महत्वपूर्ण मानिएका थिए। बीस वर्षअघि टाइपराइटर चलाउन जान्ने व्यक्ति दक्ष मानिन्थ्यो। आज त्यो सीप लगभग संग्रहालयमा सीमित भएको छ। पहिले फाइल व्यवस्थापन कागजी दस्तावेजमा आधारित थियो। अहिले क्लाउड स्टोरेज र डिजिटल डेटा व्यवस्थापन आवश्यक भएको छ। पहिले क्यालकुलेटर चलाउन जान्नु ठूलो सीप मानिन्थ्यो। आज कृत्रिम बौद्धिकताले जटिल गणना केही सेकेन्डमै गर्न सक्छ। त्यसैले केवल प्राविधिक सीप सिकेर जीवनभर सुरक्षित रहन सकिन्छ भन्ने धारणा अब कमजोर भएको छ।
आजको संसार पूर्णतः फरक छ। स्मार्टफोनले संसारलाई हत्केलामा ल्याइदिएको छ। कृत्रिम बौद्धिकता, रोबोटिक्स, डेटा विज्ञान, क्लाउड कम्प्युटिङ र डिजिटल प्लेटफर्महरूले काम गर्ने तरिका नै परिवर्तन गरिरहेका छन्। अहिले सूचनाको खडेरी छैन। हाम्रै वरिपरि सूचनाको महासागर नै छ। हामी अहिले त्यही सूचनाको महासागरमा डुबिरहेका छौँ। अहिलेको युग जानकारीको अत्यधिक उपलब्धताको युग हो। दुई दशकअघि अत्यधिक जानकारी भएको व्यक्ति ‘जान्ने–बुझ्ने’ व्यक्ति मानिन्थ्यो। अब व्यक्तिको मूल्य कसले कति सूचना र जानकारी राख्यो भन्ने कुराले निर्धारण गर्दैन। जसले उपलब्ध सूचना र जानकारीलाई विश्लेषण गर्न, सही प्रयोग गर्न र नयाँ परिस्थितिमा लागू गर्न सक्ने क्षमता राख्छ, उही व्यक्ति सक्षम हुने देखियो।
बीस वर्षअघि शिक्षा प्रणाली मुख्यतः जानकारी हस्तान्तरणमा केन्द्रित थियो। शिक्षक बोल्ने र विद्यार्थी सुन्ने प्रक्रिया नै शिक्षाको मुख्य आधार मानिन्थ्यो। परीक्षा प्रणालीले स्मरण शक्तिलाई प्राथमिकता दिन्थ्यो। तर आज गुगल र एआईले केही सेकेन्डमै जानकारी उपलब्ध गराउने भएकाले केवल तथ्य कण्ठ गर्नुको मूल्य घट्दै गएको छ। अब शिक्षा प्रणालीले विश्लेषण, समस्या समाधान, परियोजना आधारित सिकाइ र अन्तरविषयक सोचमा जोड दिनुपर्ने आवश्यकता बढेको छ। यदि शिक्षा प्रणाली पुरानै ढाँचामा सीमित रह्यो भने विद्यार्थी भविष्यको विश्व प्रतिस्पर्धामा पछाडि पर्न सक्छन्। त्यसैले विद्यालय र विश्वविद्यालयले विद्यार्थीलाई केवल परीक्षामा सफल बनाउने होइन, परिवर्तनशील विश्वमा टिक्न सक्ने व्यक्ति बनाउने लक्ष्य राख्नुपर्छ।
आज धेरै अभिभावक र विद्यार्थी “कुन विषय पढेपछि सुरक्षित भविष्य हुन्छ ?” भन्ने प्रश्न सोध्छन्। आजको संसारलाई नबुझी यो प्रश्नको उत्तर खोज्न सकिँदैन। आजको संसार बुझ्नका लागि भुका (VUCA) अवधारणा बुझ्न जरुरी हुन्छ। भुका शब्द चार अंग्रेजी शब्दहरू अस्थिरता (Volatility), अनिश्चितता (Uncertainty), जटिलता (Complexity) र अस्पष्टता (Ambiguity) को पहिलो अक्षरबाट बनाइएको हो। अहिलेको संसार अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट छ। यस्तो संसारमा पूर्ण रूपमा सुरक्षित भविष्य भन्ने कुरा घट्दै गएको छ। सुरक्षित भविष्य कुनै एउटै पेशामा होइन, परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमतामा निर्भर हुन्छ। त्यसैले भविष्यको शिक्षा के सिक्ने भन्दा पनि कसरी सिक्ने भन्ने कुरामा केन्द्रित हुनुपर्छ। यो आलेख मूलतः भविष्य तयारी सीपअन्तर्गत सिकाइ सीपमा केन्द्रित रहेको छ।
“भविष्यको शिक्षा के सिक्ने भन्दा पनि कसरी सिक्ने भन्ने कुरामा केन्द्रित हुनुपर्छ।”
हरेक दशकमा जीवन जिउनका लागि आवश्यक सीपहरू परिवर्तन भइरहेका छन्। एक दशकअघि महत्वपूर्ण मानिएको सीपको औचित्य एक दशकपछि अर्थहीन भएको उदाहरण हामीले देखेका छौँ। आज जुन सीप रोजगारीको बजार र जीवनमा महत्वपूर्ण ठानिएको छ, त्यो सीप अबको एक दशकपछि महत्वहीन हुन सक्छ। सीपहरू समयक्रममा निरन्तर बदलिरहन्छन् भने विद्यालयहरूले विद्यार्थीलाई के सीप सिकाउने त ? संसारमा के त्यस्तो कुनै सीप छैन, जुन कालातीत हुन्छ ? पक्कै पनि त्यस्ता कालातीत सीपहरू छन्, जुन हामीले विद्यार्थीको भविष्य तयारी सीपका रूपमा सिकाउनुपर्ने हुन्छ। अब विद्यार्थीलाई केवल जानकारी होइन, सिक्न सिक्ने सीप (Learning to Learn Skill) सिकाउनुपर्छ।
नयाँ ज्ञान र सीप छिटो सिक्ने क्षमता नै भविष्यको सबैभन्दा ठूलो शक्ति हो। अहिले धेरै कुरा जानेको व्यक्ति भविष्यमा सफल नहुन सक्छ। जसले परिस्थिति बदलिँदा आफूलाई पुनः सिकाउन सक्छ, त्यो व्यक्ति भविष्यमा सफल हुन्छ। सिक्न सिक्ने सीप भनेको निरन्तर प्रश्न गर्नु, नयाँ कुरा खोज्नु, परिस्थिति बदलिँदा आफ्नो सोच र व्यवहार परिवर्तन गर्न सक्ने क्षमता राख्नु, सूचनाको बाढीमा कुन सूचना सही हो र कुन गलत भन्ने छुट्याउन सक्नु, जीवनभर आफैँ सिकिरहनु आदि हो। आजका धेरै विश्वविद्यालयमा पढाइने केही ज्ञान पाँच वा दश वर्षमै पुरानो हुन सक्छ। त्यसैले डिग्रीभन्दा पनि सिकाइको निरन्तरता महत्वपूर्ण हुँदै गएको छ। उदाहरणका लागि कुनै विद्यार्थीले अहिले एउटा विशेष सफ्टवेयर सिक्यो भने केही वर्षपछि त्यो सफ्टवेयर पुरानो हुन सक्छ। यदि उसले छिटो सिक्ने क्षमता विकास गरेको छ भने ऊ भविष्यमा पनि सान्दर्भिक रहन सक्छ। त्यसैले वर्तमान विश्वमा “सिक्न सिक्ने क्षमता” सबैभन्दा महत्वपूर्ण सीपका रूपमा उदाएको छ।
भविष्यमा मानिस र कृत्रिम बौद्धिकता (एआई) बीच सहकार्य बढ्ने सम्भावना छ। कृत्रिम बौद्धिकताले दोहोरिने र विश्लेषणात्मक काम गर्न सक्छ, तर मानिसले मूल्य, उद्देश्य, सम्बन्ध र सिर्जनात्मकता दिन्छ। त्यसैले भविष्यमा सफल हुने व्यक्ति त्यो हुनेछ, जसले प्रविधिसँग प्रतिस्पर्धा होइन, सहकार्य गर्न सिक्छ। आजको सीप भोलि पर्याप्त नहुन सक्छ। त्यसैले शिक्षा र जीवनको मूल उद्देश्य केवल ज्ञान सङ्कलन होइन, निरन्तर सिकाइको क्षमता विकास गर्नु हो। सिक्नका लागि सिकाइ वास्तवमै भविष्यको सबैभन्दा शक्तिशाली सीप हो, किनकि यसले मानिसलाई जुनसुकै परिवर्तनसँग जुध्न सक्षम बनाउँछ।
संसार परिवर्तनशील भए पनि केही मानवीय गुणहरू—जिज्ञासा, नैतिकता, सिर्जनशीलता, सहकार्य, आलोचनात्मक सोच र संवेदनशीलता जस्ता सीपहरू—सधैँ सान्दर्भिक रहनेछन्। प्रविधि विकसित हुँदै जाला, पेशा बदलिँदै जाला, तर मानवीय मूल्य र सिकिरहने क्षमता नै मानिसको वास्तविक शक्ति रहनेछ। त्यसैले भविष्यका विद्यार्थीलाई कुनै एक निश्चित पेशाका लागि मात्र होइन, अनिश्चित विश्वमा निरन्तर विकास गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार पार्नु आजको शिक्षाको सबैभन्दा ठूलो जिम्मेवारी हो।
आज विद्यार्थीले अध्ययन गरिरहेका विषयहरू आगामी दश वा बीस वर्षमा पूर्ण रूपमा बदलिन सक्छन्। भविष्यमा वर्तमानका धेरै पेशा हराउने र नयाँ प्रकारका पेशा जन्मिने हुन सक्छन्। डेटा विश्लेषक, एआई प्रशिक्षक, साइबर सुरक्षा विशेषज्ञ, डिजिटल सामग्री निर्माता र भर्चुअल वातावरण डिजाइनर जस्ता पेशा केही दशकअघि कल्पनाबाहिर थिए। त्यसैगरी भविष्यमा आज चर्चित रहेका केही पेशा प्रतिस्थापन हुन सक्छन्। यसले नयाँ–नयाँ सीपको माग गर्न सक्छ। यद्यपि सबै सीप अस्थायी हुँदैनन्। केही आधारभूत मानवीय सीपहरू यस्ता छन्, जुन पचास वर्षपछि पनि सान्दर्भिक रहने सम्भावना उत्तिकै रहन्छ।
अहिले विद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई भविष्य तयारी सीप सिकाउने हो भने तीनवटा आधारभूत सीपहरू सिकाउनुपर्छ। ती तीन भविष्य तयारी सीपहरू सिकाइ सीप (Learning Skills), साक्षरता सीप (Literacy Skills) र जीवनोपयोगी सीप (Life Skills) हुन्। सिकाइ सीपले विद्यार्थीहरूलाई आलोचनात्मक सोच, सिर्जनशीलता, सहकार्य र प्रभावकारी सञ्चार जस्ता कौशलहरू विकास गर्न मद्दत गर्छ। यी सीपहरूले विद्यार्थीलाई नयाँ परिस्थितिमा अनुकूलन हुन, समस्या समाधान गर्न र निर्माण गरेको ज्ञानलाई व्यवहारमा लागू गर्न सक्षम बनाउँछन्। यसले विद्यार्थीलाई जीवनभर सिकिरहने र परिवर्तनशील संसारमा सफल हुने आधार तयार पार्छ। साक्षरता सीपले सूचना र प्रविधिसँग सम्बन्धित सीपहरूमा जोड दिन्छ, जसले विद्यार्थीलाई सही र गलत सूचना छुट्याउन, विश्वसनीय स्रोत पहिचान गर्न र इन्टरनेटमा फैलिने गलत सूचनाबाट जोगिन सक्षम बनाउँछ। जीवनोपयोगी सीपले विद्यार्थीको व्यक्तिगत जीवनसँग सम्बन्धित लचिलोपन, नेतृत्व, पहल र सामाजिक सीपहरू सिकाउँछ।
प्रविधि जति उन्नत भए पनि मानिसको संवेगात्मक, सामाजिक र नैतिक पक्षलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सकिँदैन। त्यसैले केही कालातीत सीपहरू सधैँ महत्वपूर्ण रहन्छन्। ती कालातीत सीपहरूलाई विभिन्न विद्वानहरूले विभिन्न नाम दिएका छन्। कसैले एक्काइसौँ शताब्दीका लागि आवश्यक सीप भन्छन् भने कसैले व्यवहारकुशल सीप भन्ने गरेका छन्। कसैले यसलाई नरम सीप पनि भन्ने गरेका छन्। यी तीनवटै सीपहरू विद्यार्थीलाई जीवन र समाजका लागि सक्षम बनाउने महत्वपूर्ण सीप हुन्। यी सीपहरू सुन्दा उस्तै सुनिए पनि आधारभूत रूपमा केही भिन्नता भने देखिन्छ। व्यवहारकुशल सीप भनेका यस्ता सीप हुन्, जुन कुनै एक विषय वा पेशामा मात्र सीमित हुँदैनन्। आलोचनात्मक सोच, समस्या समाधान, सहकार्य जस्ता सीप जीवनका सबै क्षेत्रमा प्रयोग गरिन्छ। एक्काइसौँ शताब्दीका सीप भनेका प्रविधि, एआई, डिजिटल जस्ता क्षेत्रसँग सम्बन्धित सीपहरू हुन्, जसमा डिजिटल साक्षरता, रचनात्मकता, सञ्चार र अनुकूलन क्षमता जस्ता सीपहरू समावेश हुन्छन्। यिनले भविष्यको विश्वमा सफल नागरिक र पेशाकर्मी बन्न सहयोग गर्छन्। नरम सीप भने व्यक्तिको व्यवहार, भावना, सम्बन्ध र सामाजिक अन्तर्क्रियासँग सम्बन्धित सीप हुन्, जसमा सहानुभूति, समूहकार्य, नेतृत्व, भावनात्मक बौद्धिकता जस्ता सीपहरू पर्छन्। समग्रमा भन्नुपर्दा, व्यवहारकुशल सीप जीवनका सबै क्षेत्रमा प्रयोग हुने व्यापक सीप हुन्। एक्काइसौँ शताब्दीका सीप बदलिँदो आधुनिक विश्वका आवश्यक सीप हुन्। नरम सीप मानिससँग प्रभावकारी रूपमा काम गर्न आवश्यक व्यवहारिक तथा सामाजिक सीप हुन्।
आजको शिक्षा केवल विषय ज्ञान दिनु मात्र होइन, यस्ता जीवनोपयोगी सीप विकास गर्नु पनि हो भन्ने धारणा विश्वभर बलियो हुँदै गएको छ। केही सीपहरू यी तीनै अवधारणाभित्र साझा रूपमा पर्छन्। तलका चार सीपहरू साझा रूपमा सबै सीपअन्तर्गत आउने सीपहरू हुन्।
मानिसहरूले आफ्नो विचार, भावना, ज्ञान, अनुभव र संस्कृतिको आदानप्रदान गर्न सञ्चारको प्रयोग गर्दै आएका छन्। परिवार, समाज र समुदायलाई जोड्न प्रभावकारी सञ्चार आवश्यक हुन्छ। आजको विश्वमा समाज र प्रविधिसँग जोडिन सञ्चारको भूमिका झन् बढेको छ। अहिले केवल बोल्न जान्नु मात्र पर्याप्त हुँदैन। ध्यानपूर्वक सुन्न, स्पष्ट रूपमा लेख्न, सम्मानपूर्वक आफ्नो विचार प्रस्तुत गर्न, डिजिटल माध्यमलाई सही प्रयोग गर्न र विविध संस्कृतिसँग संवाद गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ। भविष्यमा कृत्रिम बौद्धिकता र प्रविधि झन् विकसित भए पनि मानवीय सम्बन्ध, सहकार्य, सहानुभूति र विश्वास निर्माण गर्ने काम प्रभावकारी सञ्चारबिना सम्भव हुँदैन। त्यसैले सञ्चार सीप एउटा यस्तो जीवनोपयोगी सीप हो, जसले मानिसलाई हिजो, आज र भोलि सधैँ सफल र सक्षम बनाइरहन्छ। त्यसैले पनि विद्यालयमा विद्यार्थीहरूको भविष्य तयारी सीपका रूपमा सञ्चार कौशल सिकाइनुपर्छ।
मानिसहरूले समस्या समाधान गर्न, सही र गलत छुट्याउन, निर्णय लिन र समाजका परम्परा तथा मान्यतालाई बुझ्न आलोचनात्मक सोचको प्रयोग गर्छन्। दार्शनिक, वैज्ञानिक र शिक्षकहरूले यही सीपका आधारमा नयाँ–नयाँ विचार दिन्छन् र परिवर्तन गर्छन्। आजकल सूचना र प्रविधिको अत्यधिक विस्तारका कारण मानिसले सुनेका वा देखेका सबै कुरा सजिलै विश्वास गर्न सक्दैन। गलत सूचना, अफवाह, सामाजिक सञ्जालको प्रभाव, कृत्रिम बौद्धिकता र जटिल सामाजिक समस्याहरूबीच तथ्य विश्लेषण गर्ने, प्रमाण खोज्ने, प्रश्न गर्ने र तर्कसंगत निर्णय लिन सक्ने क्षमता अत्यन्त आवश्यक भएको छ। भविष्यमा विश्व झन् जटिल, प्रविधिमैत्री र अनिश्चित बन्दै जाँदा केवल जानकारी हुनु पर्याप्त हुँदैन। सिर्जनात्मक र विश्लेषणात्मक रूपमा सोच्न सक्ने व्यक्तिहरू बढी सफल हुन्छन्। त्यसैले आलोचनात्मक सोच सीप एउटा यस्तो जीवनोपयोगी सीप हो, जसले व्यक्तिलाई स्वतन्त्र रूपमा सोच्न, जिम्मेवार निर्णय लिन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाउँछ। त्यसैले विद्यालयहरूले भविष्य तयारी सीप सिकाउने कुरामा आलोचनात्मक सोच सीपलाई प्राथमिकतामा राख्नुपर्छ।
मानिसहरूले नयाँ उपकरण बनाउन, कला, संस्कृति, भाषा, कृषि, विज्ञान र जीवनशैली विकास गर्न सिर्जनात्मक सोच सीपको प्रयोग गरेर मात्र सम्भव भएको हो। संसारका धेरै आविष्कार, साहित्य, सङ्गीत, वास्तुकला र सामाजिक परिवर्तनहरू सिर्जनात्मक सोचकै परिणाम हुन्। अहिले पनि प्रविधि, शिक्षा, व्यवसाय र सामाजिक जीवनमा नयाँ विचार ल्याउन, समस्या समाधान गर्न र परिवर्तनशील परिस्थितिसँग अनुकूलन हुन सिर्जनशीलता अत्यन्त आवश्यक छ। आजको परिवर्तनशील संसारमा केवल सूचना, तथ्य र सूत्रको जानकारी राखेर मात्र जिउन कठिन छ। यसको सट्टा फरक तरिकाले सोच्ने, नयाँ सम्भावना खोज्ने र नवप्रवर्तन गर्न सक्ने सीपको महत्व बढ्दै गएको छ। भविष्यमा कृत्रिम बौद्धिकताले धेरै कामहरू गर्न थालेपछि मानिसको सिर्जनात्मक सोच सीपको महत्व झन् बढ्नेछ। त्यसैले पनि विद्यालयहरूले सिर्जनात्मक सोच सीपलाई सानै कक्षादेखि सिकाउन अनिवार्य देखिन्छ।
विगतदेखि नै मानिसहरूले खेतीपाती, घर निर्माण, समुदायको सुरक्षा, संस्कृतिको संरक्षण र सामाजिक जीवन सञ्चालन गर्न आपसी सहकार्यको अभ्यास गर्दै आएका छन्। कुनै पनि ठूलो काम एक व्यक्तिले मात्र गर्न सम्भव नहुने भएकाले मानिसहरू समूहमा मिलेर काम गर्थे। वर्तमान समयमा विद्यालय, अनुसन्धान, व्यवसाय र सामाजिक जीवनमा सहकार्य अत्यन्त महत्वपूर्ण बनेको छ। आजको विश्वमा जटिल समस्या समाधान गर्न विभिन्न विचार, सीप र अनुभव भएका मानिसहरूबीच सहकार्य आवश्यक हुन्छ। सहकार्यले संवाद, सम्मान, जिम्मेवारी बाँडफाँड, विविधताको स्वीकार र सामूहिक निर्णय गर्ने क्षमता विकास गर्छ। भविष्यमा विश्व झन् अन्तरसम्बन्धित र प्रविधिमैत्री बन्दै जाँदा विभिन्न देश, संस्कृति र क्षेत्रका मानिसहरूसँग मिलेर काम गर्न सक्ने क्षमता झन् आवश्यक हुनेछ। कृत्रिम बौद्धिकताको युगमा पनि मानवीय सहकार्य, सम्बन्ध निर्माण, विश्वास र सामूहिक सिर्जनशीलतालाई प्रविधिले पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन। त्यसैले सहकार्य सीप एउटा यस्तो जीवनोपयोगी सीप हो, जसले व्यक्तिलाई समूहमा प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउँछ। सहकार्य सीप विगतमा पनि समाज निर्माणको आधार थियो। अहिले पनि यो सीपको महत्व उस्तै छ र भविष्यमा पनि रहिरहनेछ।
आजको विश्व तीव्र परिवर्तन, प्रविधिको विकास, कृत्रिम बौद्धिकता र डिजिटल क्रान्तिको प्रभावले निरन्तर बदलिरहेको छ। यस्तो परिवर्तनशील संसार अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट हुन्छ। यस अवस्थामा विद्यार्थीलाई कस्तो सीप सिकाउने ? सबैभन्दा महत्वपूर्ण प्रश्न हो। परम्परागत शिक्षा प्रणालीले लामो समयसम्म विद्यार्थीलाई जानकारी कण्ठ गराउने र परीक्षा उत्तीर्ण गराउने कार्यलाई प्राथमिकता दियो। आजको भुका संसारमा केवल जानकारी मात्र पर्याप्त हुँदैन। जानकारी केही सेकेन्डमै इन्टरनेट वा कृत्रिम बौद्धिकताबाट प्राप्त गर्न सकिन्छ। त्यसैले भविष्यका लागि सबैभन्दा ठूलो सीप “सिकिरहन सक्ने क्षमता” हो।
आज सिकेको कुरा भोलि पुरानो हुन सक्छ। केही दशकअघि अत्यन्त महत्वपूर्ण मानिएका धेरै सीप आज अप्रासङ्गिक भइसकेका छन्। उदाहरणका लागि, टाइपराइटर चलाउने सीप, कागजी फाइल व्यवस्थापन वा केवल स्मरण शक्तिमा आधारित काम अहिले डिजिटल प्रणालीले प्रतिस्थापन गरिसकेको छ। आजका विद्यार्थीले पढिरहेका धेरै प्राविधिक विषय पनि आगामी दश वा बीस वर्षपछि परिवर्तन हुन सक्छन्। यस्तो अवस्थामा यदि विद्यार्थीले केवल एउटा निश्चित सीप मात्र सिक्यो भने त्यो सीप पुरानो हुँदा ऊ असुरक्षित बन्न सक्छ। यदि उसमा नयाँ परिस्थिति अनुसार आफैँ सिक्न, बुझ्न र अनुकूलन गर्न सक्ने क्षमता छ भने ऊ भविष्यमा पनि सफल रहन्छ। त्यसैले सिक्ने क्षमता भएको व्यक्ति कहिल्यै पुरानो हुँदैन।
भविष्यको संसारमा सफलताको मापन “सबै कुरा जान्ने” व्यक्तिबाट “नयाँ कुरा छिटो सिक्न सक्ने” व्यक्तितर्फ सर्दै गएको छ। पहिले एउटै विषय पढेर जीवनभर एउटै पेशामा काम गर्न सकिन्थ्यो। तर अहिले पेशा र प्रविधि दुवै छिटो परिवर्तन भइरहेका छन्। विश्वमा नयाँ–नयाँ कामका क्षेत्र जन्मिरहेका छन् भने धेरै पुराना काम हराउँदै गइरहेका छन्। त्यसैले भविष्यमा सफल हुने व्यक्ति त्यो हुनेछ, जो परिवर्तनसँग डराउँदैन। नयाँ सीप सिकेर आफूलाई निरन्तर अद्यावधिक गर्न सक्छ। जिज्ञासा, आत्मविश्वास, समस्या समाधान क्षमता, आलोचनात्मक सोच र सिर्जनशीलता जस्ता गुणहरूले मानिसलाई छिटो सिक्न सहयोग गर्छन्।
“भविष्यका लागि सबैभन्दा ठूलो सीप ‘सिकिरहन सक्ने क्षमता’ हो।”
आजको शिक्षा प्रणालीका धेरै कमजोरीमध्ये एक मुख्य कमजोरी भनेको पाठ्यपुस्तक केन्द्रित शिक्षण हो। यदि सिकाइ केवल पुस्तकमा लेखिएको कुरा कण्ठ गराउने र परीक्षा उत्तीर्ण गराउने प्रक्रियामा सीमित रह्यो भने विद्यार्थी वास्तविक जीवनका चुनौती सामना गर्न असक्षम हुन सक्छन्। आजको संसारमा सूचना धेरै छ, तर सही सूचना छनोट गर्ने, त्यसलाई विश्लेषण गर्ने र व्यवहारमा प्रयोग गर्ने क्षमता झन् महत्वपूर्ण हुन्छ। विद्यालयले विद्यार्थीलाई केवल “के सोच्ने” होइन, “कसरी सोच्ने” भन्ने सिकाउनुपर्छ।भविष्य तयारी सीप भनेको विद्यार्थीलाई जीवनभर सिकिरहने मानसिकता विकास गराउनु हो। यस्तो शिक्षाले विद्यार्थीलाई परिवर्तनसँग जुध्न, नयाँ अवसर सिर्जना गर्न र अनिश्चित भविष्यमा पनि आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउँछ। त्यसैले भविष्य तयारी सीप भनेको कुनै एक विषयको ज्ञान होइन, निरन्तर सिकिरहने क्षमता हो।
लेखकको परिचय : मेदिनबहादुर लामिछाने युलेन्स एजुकेशन फाउन्डेशनमा चिफ एकेडेमिक अफिसर तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा कार्यरत हुनुहुन्छ। साथै उहाँ काठमाडौं विश्वविद्यालयमा विद्यावारिधिको शोधार्थीसमेत हुनुहुन्छ। यस लेखमा व्यक्त विचार उहाँका निजी विचार हुन्।