काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा नेपालमा न्यूरो विकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।
कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल तथा सांसद सरिता महतोको उपस्थिति रहेको थियो।
छलफलका क्रममा नेपालमा न्यूरो विकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, प्रारम्भिक पहिचान र निदान, थेरापी तथा पुनर्स्थापना सेवा, समावेशी शिक्षा, दक्ष जनशक्तिको उपलब्धता, आवश्यक पूर्वाधार तथा देशभर सेवाको पहुँच विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो।
बालबालिका र उनीहरूका परिवारका लागि पहुँचयोग्य, समावेशी तथा दिगो सेवा प्रणाली निर्माण र सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवालाहरूबीच अनुभव, सुझाव तथा आवश्यकतामाथि विचारविमर्श गरिएको जनाइएको छ।
छलफलमा बालबालिकाको विकास तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित सेवामा प्रारम्भिक पहिचान र समयमै आवश्यक सहयोगको महत्त्वमाथि जोड दिइएको थियो। साथै, शिक्षा, स्वास्थ्य तथा सम्बन्धित क्षेत्रबीच प्रभावकारी समन्वय गर्दै आवश्यक नीति, कार्यक्रम र आगामी कार्यदिशा तय गर्नुपर्ने विषयमा पनि चर्चा भएको मन्त्रालयले जनाएको छ।
बालबालिका र परिवारले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्दै समावेशी शिक्षा र आवश्यक सहयोग प्रणालीलाई प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन्।