भक्तपुर / २१ साउन – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ। फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल तथा मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सञ्जय खड्का र कार्यकारी प्रमुख शर्मिला देउजाले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, प्रभावकारी सञ्चार, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ।

कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा सहकार्य गर्न, निर्णय लिन, नेतृत्व गर्न र आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ।
फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।

मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सञ्जय खड्काले बदलिँदो समयअनुसार विद्यार्थीलाई पाठ्यज्ञानसँगै सञ्चार, नेतृत्व, निर्णय क्षमता र जीवनोपयोगी सीप प्रदान गर्नु आवश्यक रहेको बताए। यस सहकार्यले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, चुनौती सामना गर्न र भविष्यका अवसरका लागि तयार हुन सहयोग पुग्ने उनको भनाइ छ।
विद्यालयकी कार्यकारी प्रमुख शर्मिला देउजाले गतिविधि र अनुभवमा आधारित सिकाइले विद्यार्थीको सक्रिय सहभागिता, सिर्जनशीलता, आत्मविश्वास र जिम्मेवारीको भावना विकास गर्न सहयोग पुर्याउने बताइन्। फ्युचर एड्भान्टेजसँगको साझेदारीले विद्यालयले अघि बढाउँदै आएको समग्र विद्यार्थी विकासको अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरिन्।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलसँगको साझेदारी विद्यार्थीलाई जीवन र भविष्यका अवसरका लागि सक्षम बनाउने अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यालयमा नेतृत्व अभ्यास, सञ्चार संस्कृति, सक्रिय सहभागिता र व्यावहारिक सिकाइलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
