काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच, अवसर र समावेशितासम्बन्धी विषयमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।
छलफलमा सांसदहरू यशोदा बराल, गंगा चन्त्याल र सरिता महतोसहित अपाङ्गता भएका व्यक्तिहरू, शिक्षक, अपाङ्गता अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले शिक्षा क्षेत्रमा भोगिरहेका चुनौती, अवरोध र अवसरका विषयमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी शिक्षा प्रणालीलाई सबैका लागि पहुँचयोग्य, समावेशी, समान र गुणस्तरीय बनाउन आवश्यक नीतिगत तथा व्यावहारिक उपायबारे सरोकारवालाहरूले आफ्ना अनुभव, सुझाव र चिन्ता प्रस्तुत गरेका थिए।
प्रशासनिक तथा कार्यकारी तहका प्रतिनिधिहरूसमेत सहभागी छलफलमा वर्तमान शिक्षा प्रणालीभित्र रहेका भौतिक, नीतिगत तथा व्यवहारिक अवरोध पहिचान गर्दै तिनको समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिइएको थियो।
छलफलबाट प्राप्त सुझाव र अनुभवका आधारमा अपाङ्गता भएका व्यक्तिको शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्न विद्यमान चुनौतीहरूको पहिचान गर्दै आवश्यक नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा पनि चर्चा गरिएको जनाइएको छ।
सरोकारवालाहरूले समावेशी शिक्षा केवल नीतिमा सीमित नभई व्यवहारमा समेत प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। गुणस्तरीय र पहुँचयोग्य शिक्षा सुनिश्चित गर्न सरकार, शैक्षिक संस्था तथा सम्बन्धित सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूको धारणा थियो।