भक्तपुर / १३ साउन – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै प्रभावकारी सञ्चार, आत्मविश्वास, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले नवरत्न लाइफ स्कुल, भक्तपुर र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ। फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र नवरत्न लाइफ स्कुलका भाइस प्रिन्सिपल नरेन्द्र श्रेष्ठले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ।
कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा सहकार्य गर्न, निर्णय लिन, नेतृत्व गर्न तथा आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ।
फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।
नवरत्न लाइफ स्कुलका भाइस प्रिन्सिपल नरेन्द्र श्रेष्ठले विद्यालय शिक्षाले विद्यार्थीलाई पाठ्यज्ञान मात्र नभई आफ्नो क्षमता पहिचान गर्न, विचार व्यक्त गर्न र जिम्मेवार रूपमा अघि बढ्न सक्ने आधार दिनुपर्ने बताए। अनुभवमा आधारित सिकाइले विद्यार्थीलाई चुनौती सामना गर्न, सहकार्य गर्न र आत्मविश्वासपूर्वक नेतृत्व लिन सहयोग पुर्याउने उनको भनाइ छ।
उनका अनुसार फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीको अभिव्यक्ति क्षमता, सकारात्मक सोच, अनुशासन र व्यावहारिक दक्षता विकास गर्दै उनीहरूलाई भविष्यका अवसरका लागि थप तयार बनाउनेछ।
फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले नवरत्न लाइफ स्कुलसँगको साझेदारी विद्यार्थीको समग्र विकास र भविष्य तयारी अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यालयमा सक्रिय सहभागिता, नेतृत्व अभ्यास, जिम्मेवारी र अनुभवमा आधारित सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।