भ्याली पब्लिक हाई स्कुलमा भविष्य–तयारी शिक्षाको नयाँ पहल, फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

भ्याली पब्लिक हाई स्कुलमा भविष्य–तयारी शिक्षाको नयाँ पहल, फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

काठमाडौँ – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले भ्याली पब्लिक हाई स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ। भ्याली पब्लिक हाई स्कुल काठमाडौँको सुन्दरबस्ती, बूढानीलकण्ठ क्षेत्रमा अवस्थित छ। फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र भ्याली पब्लिक हाई स्कुलका प्रशासनिक प्रमुख महेश अधिकारीले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, प्रभावकारी सञ्चार, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ।

कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै आफ्ना विचार प्रस्तुत गर्न, समूहमा सहकार्य गर्न, निर्णय लिन, नेतृत्व गर्न र अनुभवबाट सिक्न प्रेरित गरिन्छ।

फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।

भ्याली पब्लिक हाई स्कुलले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, विद्यार्थीको व्यक्तित्व विकास र भविष्यको नेतृत्वका लागि आवश्यक गुण विकासमा जोड दिँदै आएको छ। विद्यालयका प्रशासनिक प्रमुख महेश अधिकारीले नयाँ पुस्तालाई बदलिँदो समयअनुसार तयार गर्न कक्षाकोठाको ज्ञानसँगै आत्मविश्वास, सञ्चार, सहकार्य, नेतृत्व र व्यावहारिक क्षमताको विकास महत्वपूर्ण हुने बताए। फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न र वास्तविक जीवनका अवसर तथा चुनौतीका लागि थप तयार हुन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले भ्याली पब्लिक हाई स्कुलसँगको साझेदारी विद्यार्थीको समग्र विकास र भविष्य तयारी अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यार्थीमा सक्रिय सहभागिता, नेतृत्व अभ्यास, जिम्मेवारी र अनुभवमा आधारित सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।