परीक्षाको नतिजाले मात्र विद्यालय उत्कृष्ट हुँदैन : मेदिनबहादुर लामिछाने

परीक्षाको नतिजाले मात्र विद्यालय उत्कृष्ट हुँदैन : मेदिनबहादुर लामिछाने

उत्कृष्ट विद्यालयको मापदण्ड केवल भवन, परीक्षा नतिजा वा प्रचार होइन। विद्यार्थीको समग्र विकास, चरित्र निर्माण, सुरक्षित सिकाइ वातावरण, समता, अभिभावक–समुदाय सहकार्य र जीवनसँग जोडिएको सिकाइ नै उत्कृष्ट विद्यालयका वास्तविक आधार हुन्।

“उत्कृष्ट विद्यालय” ले केवल भौतिक संरचना राम्रो भएको विद्यालयलाई मात्र जनाउँदैन। यसले विद्यार्थीको नैतिकता, अनुशासन, संस्कार, ज्ञान निर्माण र सामाजिक उत्तरदायित्व बहन गर्ने क्षमतालाई समेत समेटेको हुन्छ। उत्कृष्ट विद्यालयमा विद्यार्थीलाई केवल ज्ञान निर्माणमा मात्र सहभागी गराइँदैन, जीवनोपयोगी सीप र संस्कार सिकाइन्छ। साथै, चरित्र निर्माणमा पनि जोड दिइन्छ। यस्ता विद्यालयका शिक्षक योग्य, अनुशासित र जिम्मेवार हुन्छन्। यस्ता विद्यालयमा संस्कारयुक्त सिकाइ वातावरण, विद्यार्थीप्रतिको सम्मानजनक व्यवहार, समाज र राष्ट्रप्रतिको उत्तरदायित्वलाई विशेष महत्त्व दिइन्छ। उत्कृष्ट विद्यालयहरूले विद्यार्थीलाई इमानदार, परिश्रमी, नैतिकवान् र देशप्रेमी नागरिक बनाउन भूमिका खेल्छन्। साथै, विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँछन्।

अब उत्कृष्ट विद्यालयको अवधारणा आम मानिसको बुझाइमा केही फरक हुँदै गएको देखिन्छ। धेरै अभिभावक र समाजले विद्यालयको गुणस्तरलाई ठूलो र आकर्षक भवन, राष्ट्रिय स्तरका परीक्षामा उत्कृष्ट नतिजा, सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा गरिने चम्किला प्रचार–प्रसार तथा सञ्चार माध्यममा देखाइने चमक–धमकका आधारमा व्याख्या गरेको पाइन्छ। आधुनिक प्रतिस्पर्धात्मक वातावरणमा विद्यालयले आफ्नो पहिचान र लोकप्रियता बढाउन विज्ञापन, डिजिटल प्रचार तथा बाह्य आकर्षणमा बढी ध्यान दिन थालेका छन्। यद्यपि यस्ता पक्षहरूले विद्यालयको बाह्य छवि बलियो बनाए पनि वास्तविक उत्कृष्टता भने विद्यार्थीको नैतिक विकास, व्यवहारिक शिक्षा, अनुशासन, शिक्षकको गुणस्तर तथा समाजप्रतिको उत्तरदायित्वबाट मात्र मापन गर्न सकिन्छ।

उत्कृष्ट विद्यालयको विश्वव्यापी र सर्वस्वीकार्य एउटै मापदण्ड नभए पनि विभिन्न शैक्षिक अवधारणा र अभ्यासका आधारमा तलका पक्षहरूलाई उत्कृष्ट विद्यालय मापनका आधार बनाउन सकिन्छ।

उत्कृष्ट विद्यालयको दूरदृष्टि र ध्येय स्पष्ट हुन्छ

उत्कृष्ट विद्यालय सञ्चालनका लागि स्पष्ट दूरदृष्टि र ध्येय अत्यन्त आवश्यक मानिन्छ। विद्यालयले भविष्यमा प्राप्त गर्न चाहेको आदर्श अवस्था तथा दीर्घकालीन लक्ष्यले दूरदृष्टिलाई संकेत गर्छ भने ध्येयले ती लक्ष्य हासिल गर्न अपनाइने कार्यप्रणाली, मूल्य र जिम्मेवारीलाई स्पष्ट दिशा प्रदान गर्छ। जब विद्यालयको दूरदृष्टि र ध्येय स्पष्ट हुन्छ, तब शिक्षक, विद्यार्थी र अभिभावक सबै एउटै उद्देश्यतर्फ प्रेरित हुन्छन्। यसले विद्यालयको शिक्षण पद्धति, अनुशासन, नेतृत्व तथा समग्र विकासलाई सही मार्गदर्शन प्रदान गर्छ। केवल राम्रो परीक्षाफल वा भौतिक संरचनाले मात्र विद्यालय उत्कृष्ट बन्न सक्दैन।

नेपालका धेरै विद्यालयहरूले आफ्नो दूरदृष्टि र ध्येयलाई कागजमा मात्र सीमित गरेका छन्। उनीहरूले आफ्ना विद्यालयका दूरदृष्टि र ध्येयलाई आकर्षक र आदर्शवादी रूपमा प्रस्तुत गरेको पाइन्छ। व्यवहारमा ती अवधारणाको प्रभावकारी कार्यान्वयन भने कमजोर देखिन्छ। धेरै विद्यालयमा दूरदृष्टि र ध्येय एकातिर देखिन्छ भने विद्यालयका योजना, नीति र व्यवहारबीच आवश्यक तादात्म्यता पाइँदैन। “गुणस्तरीय शिक्षा”, “विश्वस्तरीय नागरिक निर्माण” वा “नैतिक तथा व्यवहारिक शिक्षा” जस्ता शब्दावली प्रायः औपचारिक नारा वा प्रचार सामग्रीमा सीमित हुने गरेका छन्। विद्यालयको वास्तविक वातावरण, शिक्षण पद्धति तथा विद्यार्थीको व्यवहारमा ती मूल्यहरूको स्पष्ट प्रतिबिम्ब कम मात्र देखिन्छ।

विशेषतः सार्वजनिक विद्यालयहरूमा दूरदृष्टि र ध्येय स्पष्ट रूपमा परिभाषित गरिएको पाइँदैन। विद्यालय सुधार योजना तयार गरिए पनि तिनको कार्यान्वयनमा निरन्तरता र प्रभावकारिताको अभाव देखिन्छ। कतिपय अवस्थामा यहाँ “विद्यालय सुधार योजना बनाइएको छ” भन्ने विज्ञापन पनि पढ्न पाइन्छ। यसरी बनाइएका सुधार योजनामा विद्यालयको दूरदृष्टि र ध्येय व्यवहारमा कति समेटिन्छ भन्ने प्रश्न पनि उठ्ने गरेको छ। नीति र व्यवहारबीचको दूरी, स्रोतसाधनको अभाव तथा नेतृत्वको कमजोरीका कारण विद्यालयका उद्देश्यहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। निजी विद्यालयहरूले पनि आफ्नो दूरदृष्टि र ध्येयलाई शैक्षिक दर्शनभन्दा बढी बजारमुखी प्रतिस्पर्धासँग जोडेको देखिन्छ।

राष्ट्रिय परीक्षा बोर्डको नतिजा, आकर्षक भवन, अङ्ग्रेजी माध्यम, सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा “ब्रान्डिङ” लाई विद्यालयको सफलताको प्रमुख आधार बनाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ। त्यसैले नेपालको विद्यालय शिक्षामा दूरदृष्टि र ध्येयलाई केवल कागजी दस्तावेजमा सीमित नराखी विद्यालयको दैनिक अभ्यास, शिक्षण र समग्र विद्यालय संस्कृतिमा रूपान्तरण गर्नु आवश्यक देखिन्छ।

उत्कृष्ट विद्यालयले विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राख्छ

नेपालको शैक्षिक परिदृश्यमा प्रायः उच्च जिपिएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा हेरिन्छ। धेरै अभिभावकहरूले पनि “उच्च अङ्क र ग्रेड ल्याउने विद्यालय” लाई नै उत्कृष्ट विद्यालय ठान्ने प्रवृत्ति राख्छन्। यसले सिकाइमा परीक्षा केन्द्रित सोचलाई बल दिएको छ। उत्कृष्ट विद्यालय मापनको मापदण्ड केवल परीक्षाको नतिजा मात्र हो त? यो प्रश्न महत्त्वपूर्ण छ।

निश्चय नै परीक्षाको नतिजा विद्यालयको सिकाइ उपलब्धि मापन गर्ने एउटा आधार हुन सक्छ। तर उत्कृष्ट विद्यालयको मूल्याङ्कन केवल त्यसमै मात्र सीमित हुनुहुँदैन। विद्यार्थीको चरित्र निर्माण, सिकाइ क्षमताको विकास, जीवनोपयोगी सीपको अभिवृद्धि तथा व्यवहारिक ज्ञानको विकासजस्ता पक्षहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। उत्कृष्ट विद्यालयको मापदण्डले केवल सिकाइ उपलब्धि मात्र होइन, शिक्षकको व्यावसायिकता, सिकाइमा विद्यार्थीको सक्रिय सहभागिता, सिकाइको वातावरण तथा समुदायसँगको सम्बन्धलाई समेत समेट्नुपर्छ। साथै, विद्यार्थीमा जीवनका चुनौती सामना गर्ने क्षमता, आत्मविश्वास तथा रचनात्मक चिन्तनको विकास गराउने पक्षलाई पनि प्राथमिकता दिनुपर्छ।

उत्कृष्ट विद्यालयको महत्त्वपूर्ण विशेषता भनेको विद्यार्थीको समग्र विकासमा जोड दिनु हो। यस्ता विद्यालयले सिकाइलाई केवल परीक्षामा राम्रो अङ्क ल्याउने प्रक्रियामा मात्र सीमित गर्दैनन्। विद्यार्थीको बौद्धिक, शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक तथा सिर्जनात्मक क्षमताको समान रूपमा विकास गराउँछन्। उत्कृष्ट विद्यालयले खेलकुद, कला, सङ्गीत, नेतृत्व विकास, जीवनोपयोगी सीप, अनुशासन, सहकार्य, आत्मविश्वास र जिम्मेवारीजस्ता पक्षलाई सिकाइको अभिन्न अङ्ग बनाउँछ। विद्यार्थीको समग्र विकासमा ध्यान दिने विद्यालयले उनीहरूको सोच शैली र प्रश्न गर्ने क्षमता विकास गरेको हुन्छ। जीवनलाई बुझ्ने दृष्टिकोण निर्माण गराएको हुन्छ।

उत्कृष्ट विद्यालय भौतिक संरचनामा मात्र केन्द्रित हुँदैन

आजकल विद्यालयको उत्कृष्टता विद्यार्थीको सिकाइभन्दा बढी भौतिक संरचनाबाट मापन गर्न थालिएको छ। कक्षाकोठामा बिछ्याइएको कार्पेट, भर्‍याङमा राखिएको मार्बल, शौचालयका टायल, खेलमैदानको टर्फ, गेटको उचाइ र भवनको आकर्षक रङलाई विद्यालयको गुणस्तरसँग जोडेर हेर्ने प्रवृत्ति बढ्दो छ। कक्षाकोठामा शिक्षकको आवाज कमजोर भए पनि भवनको रङ अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्छ भन्ने सोच विकसित भएको छ। पुस्तकालयमा पर्याप्त किताब नभए पनि फोटो खिच्न मिल्ने सुन्दर सिकाइ कुना अनिवार्य ठानिन्छ। विद्यार्थीले सिर्जनात्मक रूपमा सोच्न नसके पनि प्रवेशद्वारमा “आईएसओ प्रमाणित विद्यालयमा स्वागत छ” भन्ने सुनौलो बोर्ड झुन्ड्याइएको हुनुपर्छ भन्ने मानसिकता स्थापित हुँदै गएको छ। खेलमैदानमा खेलाडी नदेखिए पनि खेलमैदानको घाँस कार्पेटजस्तो देखिनुपर्छ भन्ने मानसिकता स्थापित हुँदै गएको छ।

विद्यालयको ध्यान सिकाइभन्दा बढी सजावट, प्रदर्शन र सामाजिक सञ्जालमा आकर्षक देखिने पृष्ठभूमि तयार गर्नमा केन्द्रित हुन थालेको छ। आजको शिक्षा प्रणालीमा उत्कृष्टता भन्नाले “ज्ञान निर्माण” भन्दा बढी “चमक–धमकयुक्त” पूर्वाधार बुझ्ने प्रवृत्ति बलियो बन्दै गएको छ। विद्यालयको उत्कृष्टता मापन गर्ने सबैभन्दा सजिलो तर सबैभन्दा भ्रमपूर्ण मापदण्ड नै भौतिक संरचना बन्न पुगेको छ। आधुनिक भवन, स्मार्ट बोर्ड, आकर्षक यातायात सेवा, प्रयोगशाला, चम्किलो फर्निचर र सुन्दर विद्यालय परिसरले मात्र विद्यालयलाई वास्तविक अर्थमा उत्कृष्ट बनाउँदैनन्। धेरै विद्यालयहरू भौतिक रूपमा भव्य भए पनि त्यहाँको सिकाइ प्रक्रिया कमजोर हुन सक्छ। राज्यद्वारा लिइने परीक्षामा उच्च नतिजा ल्याउनु, भवन आकर्षक देखिनु वा रङरोगन उत्कृष्ट हुनु मात्र विद्यालय उत्कृष्ट भएको प्रमाण होइन। वास्तवमा पूर्वाधार शिक्षाको साधन हो, गन्तव्य वा साध्य होइन।

उत्कृष्ट विद्यालय त्यो होइन जहाँ भवन मात्र चम्किएको हुन्छ। उत्कृष्ट विद्यालय त्यो हो जहाँ विद्यार्थीको आत्मा, क्षमता, सोच र भविष्य चम्किएको हुन्छ। विद्यालयको वास्तविक परिचय विद्यार्थीको सोच्ने क्षमता, चरित्र, सिर्जनशीलता, सीप, आत्मविश्वास र सामाजिक जिम्मेवारीको विकासबाट हुन्छ। त्यसैले विद्यालयको मूल्याङ्कन पर्खाल, भवन वा बाहिरी सुविधाबाट होइन, त्यहाँ अध्ययन गर्ने विद्यार्थीको अनुभव, भावना, व्यवहार र उनीहरूले निर्माण गरेको भविष्यको दिशाबाट गरिनुपर्छ। सिकाइमा पूर्वाधार आवश्यक भए पनि त्यसलाई विद्यालय उत्कृष्टताको प्रमुख मापदण्ड बनाउनु शिक्षाको गहिरो उद्देश्यलाई सतही प्रदर्शनमा सीमित गर्नु हो।

उत्कृष्ट विद्यालयले सिकाइको केन्द्रमा अवधारणा र चरित्र निर्माणलाई राख्छ

उत्कृष्ट विद्यालयको उद्देश्य केवल विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउनु मात्र होइन। उनीहरूलाई सक्षम, जिम्मेवार, आत्मनिर्भर र नैतिक नागरिकका रूपमा विकास गर्नु हो। परीक्षा उत्तीर्ण हुनु सिकाइको अन्तिम लक्ष्य होइन, त्यो सिकाइको एउटा चरण मात्र हो। वास्तविक सिकाइ त्यही हो जसले विद्यार्थीमा दीर्घकालीन रूपमा प्रयोग गर्न सकिने ज्ञान, सीप, दृष्टिकोण र मानवीय मूल्यहरूको विकास गर्छ। उत्कृष्ट विद्यालयले सिकाइलाई अङ्क, प्रमाणपत्र र प्रतिस्पर्धाको सीमित दायरामा बन्द गर्दैन। जीवनसँग जोडिएको समझ, आलोचनात्मक सोच र चरित्र निर्माणलाई केन्द्रमा राख्छ।

धेरै विद्यालयहरू अझै पनि सूचना, तथ्य, परिभाषा, सूत्र र उत्तर घोकाउने संस्कृतिबाट मुक्त हुन सकेका छैनन्। विद्यार्थीले “कति सम्झिए?” भन्ने आधारमा मूल्याङ्कन गरिन्छ। यस्तो प्रणालीले विद्यार्थीको सोच्ने, विश्लेषण गर्ने र समस्या समाधान गर्ने क्षमताभन्दा स्मरणशक्तिलाई प्राथमिकता दिन्छ। जब सिकाइ अवधारणा बुझ्नुभन्दा उत्तर कण्ठ गर्नमा सीमित हुन्छ, तब विद्यार्थीले वास्तविक जीवनका जटिल समस्या समाधान गर्न सक्दैनन्। उत्कृष्ट विद्यालयले सिकाइलाई “ज्ञान निर्माण” को प्रक्रियाका रूपमा हेर्छ। विद्यार्थीलाई तथ्य सम्झाउनुभन्दा अवधारणा बुझ्न, सम्बन्ध जोड्न, प्रश्न गर्न र आफ्नै अनुभवबाट अर्थ निर्माण गर्न प्रेरित गरिन्छ। त्यसैले उत्कृष्ट विद्यालयमा सिकाइ केवल पाठ्यपुस्तकभित्र सीमित हुँदैन। त्यसलाई वास्तविक जीवन, सामाजिक जिम्मेवारी र नैतिक निर्णयसँग जोडिन्छ।

पूर्वीय शिक्षादर्शनले पनि सिकाइलाई केवल जानकारीको सङ्कलन मानेको छैन। हितोपदेशको प्रसिद्ध उक्ति “विद्या ददाति विनयम्” ले शिक्षाको उद्देश्य विनयशीलतालाई मानेको छ। उत्कृष्ट विद्यालयले विद्यार्थीलाई विनयशील बनाउन सक्नुपर्छ। विनय भन्नाले आत्मअनुशासन, सहिष्णुता, आत्मसम्मान र अरूप्रतिको सम्मानलाई जनाउँछ। साँचो सिकाइ त्यो हो जसले व्यक्तिको सोचलाई परिष्कृत गर्छ। व्यवहारलाई मानवीय बनाउँछ। यसले समाजप्रतिको उत्तरदायित्वको भावना विकास गर्छ। आज समाजलाई केवल उच्च अङ्क ल्याउने व्यक्ति होइन, सहकार्य गर्न सक्ने, नैतिक निर्णय लिन सक्ने र सामाजिक उत्तरदायित्व वहन गर्न सक्ने नागरिक आवश्यक छ। उत्कृष्ट विद्यालयले यही मानवीय पक्षलाई केन्द्रमा राख्छ। उत्कृष्ट विद्यालयको वास्तविक परिचय केवल शैक्षिक उपलब्धिमा होइन, उसले निर्माण गर्ने मानवीय, नैतिक र विवेकी नागरिकमा देखिन्छ।

उत्कृष्ट विद्यालयमा सिकाइ वातावरण सुरक्षित हुन्छ

उत्कृष्ट विद्यालयको आधार सुरक्षित र मानवीय सिकाइ वातावरण पनि हो। यस्ता विद्यालयले विद्यार्थीको सुरक्षालाई भौतिक सुरक्षामा मात्र सीमित गर्दैनन्। विद्यार्थीको प्राज्ञिक, मानसिक, संवेगात्मक र सामाजिक सुरक्षालाई पनि समान रूपमा प्राथमिकता दिन्छन्। विद्यार्थीले आफूलाई सुरक्षित, सम्मानित र स्वीकार गरिएको महसुस गरेपछि मात्र सिकाइ गहिरो र अर्थपूर्ण हुन्छ। उत्कृष्ट विद्यालयमा विद्यार्थीले आफ्नो विचार खुला रूपमा राख्न, प्रश्न सोध्न, असहमति व्यक्त गर्न र गल्ती स्वीकार गर्न सक्ने वातावरण निर्माण गरिएको हुन्छ।

धेरै विद्यालयहरूले व्यवहारमा “सुरक्षा” लाई अझै पनि अनुशासन, नियन्त्रण र डरको माध्यमबाट बुझ्ने गरेका छन्। “शान्त कक्षा”, “कडा नियम” र “दण्डको भय” लाई सुरक्षित वातावरण ठान्ने प्रवृत्ति अझै व्यापक छ। वास्तवमा डरले सिर्जना गरेको मौनता सुरक्षा होइन। नियन्त्रण हो। भयले भरिएको वातावरणमा विद्यार्थीले स्वतन्त्र रूपमा सोच्न सक्दैनन्। सिर्जनात्मक जोखिम लिन सक्दैनन्। आफ्ना कमजोरी स्वीकार गर्न डराउँछन्। परिणामस्वरूप सिकाइ केवल सतही र परीक्षा केन्द्रित बन्न पुग्छ। शिक्षा मनोविज्ञानका विभिन्न अध्ययनहरूले पनि डर र तनावले विद्यार्थीको संज्ञानात्मक क्षमता, सहभागिता र दीर्घकालीन सिकाइलाई कमजोर बनाउने देखाएका छन्।

उत्कृष्ट विद्यालयले गल्तीलाई सिकाइ प्रक्रियाको स्वाभाविक र आवश्यक हिस्सा मान्छ। विद्यार्थीको गल्तीलाई सजायको आधार बनाइँदैन। गल्तीलाई सुधार र आत्मविकासतर्फ डोर्‍याउने अवसरका रूपमा हेरिन्छ। प्रश्न सोध्नुलाई जिज्ञासा र आलोचनात्मक सोचको संकेत मानिन्छ। जब विद्यालयले गल्तीलाई सिकाइसँग जोड्छ, तब मात्र वास्तविक सिकाइ संस्कृति निर्माण हुन्छ। विद्यार्थीलाई गल्ती गर्न र पुनः प्रयास गर्न सुरक्षित महसुस गराउने विद्यालय नै दीर्घकालीन रूपमा प्रभावकारी हुन्छन्।

सुरक्षित सिकाइ वातावरणको अर्को महत्त्वपूर्ण पक्ष मानसिक र भावनात्मक सुरक्षा हो। उत्कृष्ट विद्यालयमा विद्यार्थीको मानसिक स्वास्थ्यलाई शिक्षाको अभिन्न अङ्गका रूपमा लिइन्छ। त्यहाँ मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र विद्यार्थीको आवाज सुन्ने संस्कार विकसित गरिएको हुन्छ। बाल संरक्षण नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिएको हुन्छ। विद्यालयलाई हिंसा, अपमान, दुर्व्यवहार, धम्की र विभेदबाट मुक्त बनाइन्छ।

विद्यालयको वास्तविक गुणस्तर भवन, पोसाक वा परीक्षाको नतिजाले मात्र निर्धारण हुँदैन। विद्यार्थी विद्यालय जाँदा कस्तो महसुस गर्छन् भन्ने कुराले पनि निर्धारण गर्छ। यदि विद्यार्थी बिहान विद्यालय जान उत्साहित हुन्छन्, आफ्ना शिक्षकसँग नजिक महसुस गर्छन् र विद्यालयलाई सुरक्षित स्थानका रूपमा अनुभव गर्छन् भने त्यहाँ सिकाइ जीवन्त हुन्छ। विद्यार्थी डर, तनाव, दण्ड वा असफलताको भय बोकेर विद्यालय जान बाध्य छन् भने त्यहाँ सिकाइ औपचारिकता र दबाबमा भइरहेको हुन्छ। त्यसैले कुनै पनि विद्यालयको गुणस्तर मूल्याङ्कन गर्दा “विद्यार्थी खुसी छन् कि डराएका छन्?” भन्ने प्रश्नलाई पनि उत्कृष्ट विद्यालय मापनको आधार बनाउनुपर्छ।

उत्कृष्ट विद्यालयको सिकाइमा समतालाई जोड दिइन्छ

उत्कृष्ट विद्यालयको अर्को आधारभूत विशेषता सिकाइमा समताको सुनिश्चितता हो। विद्यालयको उद्देश्य केवल छिटो सिक्ने वा सक्षम विद्यार्थीलाई अगाडि बढाउनु मात्र होइन। प्रत्येक विद्यार्थीलाई सिक्ने अवसर उपलब्ध गराउनु हो। विद्यार्थीहरू फरक सामाजिक, भाषिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमिबाट विद्यालय आएका हुन्छन्। उनीहरूको सिकाइ गति, अनुभव, रुचि र क्षमता पनि फरक हुन्छ। यही विविधता सिकाइको वास्तविकता हो। त्यसैले उत्कृष्ट शिक्षा प्रणालीले सबै विद्यार्थीलाई एउटै ढाँचामा ढाल्ने प्रयास गर्दैन। विविधता अनुसार सिकाइको अवसर सिर्जना गर्छ।

धेरै विद्यालयहरू अझै पनि “सबैले एउटै समयमा, एउटै तरिकाले सिक्नुपर्छ” भन्ने धारणा अनुसार सञ्चालन भइरहेका छन्। यसले छिटो सिक्ने विद्यार्थीलाई “प्रतिभाशाली” र समय लिएर सिक्ने विद्यार्थीलाई “कमजोर” भनेर वर्गीकृत गर्ने प्रवृत्ति विकास गरेको छ। फलस्वरूप विद्यालयहरूमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई मात्र अवसर र पुरस्कार दिइन्छ। सिकाइमा कठिनाइ भोगिरहेका विद्यार्थी उपेक्षित हुँदै जान्छन्। यस्तो प्रणालीले सिकाइलाई समावेशी बनाउँदैन। उत्कृष्ट विद्यालयले “सबै विद्यार्थी सिक्न सक्छन्, तर सबैले एउटै तरिकाले सिक्दैनन्” भन्ने मान्यतालाई आत्मसात् गर्छ। सिकाइमा कठिनाइ भोगिरहेका विद्यार्थीका लागि अतिरिक्त सहयोग दिइन्छ। वैकल्पिक सिकाइ क्रियाकलापमा सहभागी गराइन्छ। विशेष आवश्यकता भएका विद्यार्थीलाई दयाको आधारमा होइन, अधिकारका आधारमा सिकाइ क्रियाकलापमा समावेश गरिन्छ।

उत्कृष्ट विद्यालयले जात, वर्ग, भाषा, लिङ्ग, आर्थिक अवस्था वा भौगोलिक पृष्ठभूमिका आधारमा कुनै पनि प्रकारको विभेद स्वीकार गर्दैन। छात्र र छात्रा, सम्पन्न र विपन्न पृष्ठभूमि, तीव्र र मन्द गतिमा सिक्ने सबै विद्यार्थीलाई समान सम्मानका साथ व्यवहार गर्छ। विद्यालयले “प्रत्येक विद्यार्थीको क्षमता विकास गर्ने बाटो फरक हुन सक्छ” भन्ने यथार्थलाई स्वीकार गर्छ। समतामूलक विद्यालयले सिकाइमा सहकार्य र सहयोगलाई प्राथमिकता दिन्छ।

सिकाइमा समता बिना उत्कृष्टता सम्भव हुँदैन। विद्यालयले केही विद्यार्थीलाई मात्र अवसर दिने र अरूलाई पछाडि छोड्ने संरचना बनाउँछ भने त्यो विद्यालय उत्कृष्ट विद्यालय होइन। त्यो असमानता उत्पादन गर्ने कारखाना हो। उत्कृष्ट विद्यालयमा प्रत्येक विद्यार्थीले आफ्नो क्षमता अनुसार सिक्न, अघि बढ्न र सफल हुन अवसर पाउँछ। सिकाइ तब मात्र अर्थपूर्ण हुन्छ जब सबै विद्यार्थीलाई सम्मान, सहभागिता र सम्भावनाको समान अधिकार दिइन्छ।

उत्कृष्ट विद्यालयमा अभिभावक र समुदायसँगको सम्बन्ध घनिष्ठ हुन्छ

उत्कृष्ट विद्यालयले अभिभावकलाई केवल शुल्क तिर्ने व्यक्ति वा नतिजा बुझ्न आउने औपचारिक पात्रका रूपमा हेर्दैन। अभिभावकलाई शिक्षण–सिकाइ प्रक्रियाका महत्त्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्छ। विद्यार्थीको सिकाइ विद्यालयको कक्षाकोठामा मात्र सीमित हुँदैन। घर, परिवार र समुदाय पनि सिकाइका महत्त्वपूर्ण क्षेत्र हुन्। विद्यालयले अभिभावकलाई सिकाइ प्रक्रियाबाट अलग राख्यो भने सिकाइ अर्थपूर्ण बन्दैन।

उत्कृष्ट विद्यालयले अभिभावकसँग नियमित संवाद गर्छ। उनीहरूको सुझावलाई सम्मानपूर्वक ग्रहण गर्छ र विद्यालयका कार्यक्रम तथा निर्णय प्रक्रियामा सहभागी गराउँछ। विद्यार्थीको प्रगति, व्यवहार, रुचि र सिकाइसम्बन्धी चुनौतीबारे शिक्षक र अभिभावकबीच निरन्तर सहकार्य हुँदा विद्यार्थीको सिकाइ अझ प्रभावकारी बन्छ।

उत्कृष्ट विद्यालयले समुदायलाई पनि सिकाइको प्रयोगशालाका रूपमा उपयोग गर्छ। विद्यार्थीलाई समाजसँग जोडेर सिकाउँछ, जसले गर्दा उनीहरूले पुस्तकमा भएका ज्ञानलाई वास्तविक जीवनसँग जोड्न सिक्छन्। स्थानीय संस्कृति, सीप, इतिहास, वातावरण वा समुदायका अनुभवी व्यक्तिहरूसँगको अन्तर्क्रियाले विद्यार्थीको सिकाइलाई जीवन्त र व्यवहारिक बनाउँछ। विद्यालयले समुदायसँगको सम्बन्धलाई कम महत्त्व दिँदा विद्यार्थीको ज्ञान किताब र परीक्षामा मात्र सीमित हुने खतरा हुन्छ। त्यसैले उत्कृष्ट विद्यालय एक्लै चल्ने संस्था होइन। त्यो अभिभावक, समुदाय र विद्यालयबीचको सहकार्यमा आधारित साझा शैक्षिक अभियान हो। त्यस्ता विद्यालयले अभिभावक र समुदायलाई “शुल्कको स्रोत” होइन, विद्यार्थीको समग्र विकासका सहयात्रीका रूपमा सम्मानजनक स्थान दिन्छन्।

उत्कृष्ट विद्यालयले विद्यार्थीलाई प्रश्न गर्न सिकाउँछ र खोजी गर्ने संस्कृतिलाई प्रोत्साहन गर्छ

उत्कृष्ट विद्यालयको प्रमुख विशेषता भनेको शिक्षण–सिकाइ क्रियाकलापका क्रममा प्रश्न गर्ने, जिज्ञासा राख्ने र खोजी गर्ने संस्कृतिको विकास हुनु हो। उत्कृष्ट विद्यालयको कक्षाकोठामा विद्यार्थीले स्वतन्त्र रूपमा प्रश्न गर्न सिक्छन्। उनीहरू आफ्ना विचार व्यक्त गर्न सिक्छन् र नयाँ कुरा खोज्न प्रेरित हुन्छन्। यदि विद्यालयमा प्रश्नलाई असान्दर्भिक, गलत वा अनुशासनविपरीत कार्य मानिन्छ भने त्यहाँ सिर्जनात्मकता र आलोचनात्मक चेत क्रमशः कमजोर हुँदै जान्छ।

सिकाइ भनेको केवल तयार उत्तर कण्ठ गर्नु मात्र होइन। नयाँ प्रश्न निर्माण गर्नु, कारण खोज्नु र ज्ञान निर्माणको गहिराइमा पुग्नु पनि हो। प्रश्न गर्ने विद्यार्थी नै वास्तविक अर्थमा सिकिरहेको हुन्छ। उत्कृष्ट विद्यालयले प्रश्नलाई व्यवधान होइन, बौद्धिक विकासको संकेतका रूपमा लिन्छ। त्यहाँ “गलत प्रश्न” भन्ने अवधारणा हुँदैन। हरेक प्रश्नलाई थप सोच र छलफलतर्फ लैजाने अवसरका रूपमा हेरिन्छ। हाम्रो धार्मिक र सांस्कृतिक परम्पराले पनि प्रश्नको महत्त्वलाई स्वीकार गरेको पाइन्छ। भगवद्गीतामा अर्जुनले कृष्णसँग निरन्तर प्रश्न गरेपछि मात्र गहिरो ज्ञान प्राप्त गर्छन्। यदि अर्जुनले प्रश्न नगरेका भए गीता जस्तो महान् ज्ञान सम्भव हुने थिएन। यसले ज्ञानको निर्माण प्रश्न र जिज्ञासाबाट सुरु हुन्छ भन्ने स्पष्ट सन्देश दिन्छ। नेपालीमा एउटा उखान छ—“बाटो सोध्ने मान्छे कहिल्यै हराउँदैन।” यो उखानले पनि जिज्ञासा र प्रश्नलाई सिकाइको आधार मानेको छ।

प्रश्न गर्ने संस्कृति भएको विद्यालयले विद्यार्थीलाई केवल सूचना ग्रहण गर्ने पात्र मात्र बनाउँदैन। उनीहरूलाई सोच्न, विश्लेषण गर्न, तर्क गर्न र नयाँ ज्ञान सिर्जना गर्न सक्षम बनाउँछ। त्यस्ता विद्यालयका कक्षाकोठामा शिक्षक मात्र ज्ञानको स्रोत हुँदैनन्। विद्यार्थीका जिज्ञासा, अनुभव र विचार पनि सिकाइका महत्त्वपूर्ण आधार बन्छन्। त्यसैले प्रश्नलाई दबाउने होइन, स्वागत गर्ने वातावरण निर्माण गर्नु नै उत्कृष्ट विद्यालयको वास्तविक पहिचान हो।

उत्कृष्ट विद्यालयमा सिकाइको घेरा फराकिलो हुन्छ

उत्कृष्ट विद्यालयको सबैभन्दा ठूलो विशेषता भवन, नतिजा वा प्रचार होइन; सिकाइको दायरा हो। यस्ता विद्यालयले सिकाइलाई केवल पाठ्यपुस्तक, परीक्षा, शिक्षक वा कक्षाकोठाभित्र सीमित गर्दैनन्। सिकाइलाई जीवनसँग जोड्छन्। वास्तविक सिकाइ तब प्रभावकारी हुन्छ, जब विद्यार्थीले किताबको ज्ञानलाई जीवनको अनुभवसँग जोड्न सक्छन्। उत्कृष्ट विद्यालयमा विद्यार्थीहरूले केवल शिक्षकबाट मात्र होइन, आफ्ना आमाबुबा, समुदायका ज्येष्ठ नागरिक, स्थानीय पेशा, संस्कृति, इतिहास र सामाजिक परिवेशबाट पनि सिक्ने अवसर पाउँछन्।

उत्कृष्ट विद्यालयमा खेत, बजार, सडक, मन्दिर, उद्योग, नदी, सङ्ग्रहालय वा समुदायका गतिविधिहरू पनि सिकाइका जीवित कक्षाकोठा बन्छन्। उत्कृष्ट विद्यालयले विद्यार्थीलाई केवल विषयवस्तु मात्र पढाउँदैन। जीवनका लागि आवश्यक मानवीय मूल्य र जीवनोपयोगी सीपहरू जस्तै सहानुभूति, सम्मान, सहकार्य, समय व्यवस्थापन, समस्या समाधान, नागरिक चेतना र सामाजिक उत्तरदायित्व पनि सिकाउँछ।

धेरै विद्यालयहरू अझै पनि चार पर्खालभित्र सीमित ज्ञान वितरणमै अल्झिएका छन्। त्यहाँ सिकाइलाई घोकाइ, अङ्क र परीक्षाको सङ्कुचित घेरामा राखिन्छ। विद्यार्थीले वास्तविक जीवनसँग सम्बन्ध नदेख्ने विषयहरू रट्न बाध्य हुन्छन्। परिणामस्वरूप, उनीहरू परीक्षा त उत्तीर्ण गर्छन्, तर जीवनका जटिल प्रश्नहरूसँग जुध्ने क्षमता विकास गर्न सक्दैनन्।

उत्कृष्ट विद्यालयमा शिक्षक र शैक्षिक नेतृत्वको पेशागत विकासलाई उच्च प्राथमिकता दिइन्छ

उत्कृष्ट विद्यालयको वास्तविक शक्ति भवन, प्रविधि वा प्रचारमा हुँदैन। शिक्षक र शैक्षिक नेतृत्वको गुणस्तरमा हुन्छ। शिक्षक विद्यालयका मेरुदण्ड हुन्। उनीहरू केवल पाठ्यपुस्तक पढाउने कर्मचारी होइनन्। बालबालिकाको सोच, अनुभव, चरित्र र भविष्य निर्माण गर्ने शिल्पकार हुन्। त्यसैगरी, प्रधानाध्यापक केवल प्रशासन चलाउने व्यक्ति मात्र होइनन्; उनीहरू विद्यालयका शैक्षिक नेता हुन्। विद्यालयको संस्कृति, मूल्य, अनुशासन, सिकाइको वातावरण र शिक्षकको मनोबल नेतृत्वबाट नै निर्माण हुन्छ। जहाँ नेतृत्व दूरदर्शी, प्रेरणादायी र उत्तरदायी हुन्छ, त्यहाँ सिकाइ जीवन्त हुन्छ। जहाँ नेतृत्व कमजोर, नियन्त्रणमुखी वा केवल कागजी व्यवस्थापनमा सीमित हुन्छ, त्यहाँ सिकाइ संस्कृति पनि कमजोर हुन्छ।

कमजोर शिक्षक प्रणाली भएको विद्यालय जतिसुकै महँगो, आकर्षक वा सुविधासम्पन्न भए पनि उत्कृष्ट बन्न सक्दैन। वास्तवमा विद्यालयले शिक्षकको पेशागत विकासमा कति लगानी गर्छ भन्ने कुरा त्यस विद्यालयको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण सूचक हो। विद्यालय केवल विद्यार्थीको मात्र सिकाइ केन्द्र होइन। यो शिक्षक र नेतृत्वको पनि निरन्तर सिकाइको थलो हुनुपर्छ। उत्कृष्ट विद्यालयले शिक्षकलाई “सबै जान्ने र काम गर्ने व्यक्ति” का रूपमा होइन, “निरन्तर सिक्ने र विचार निर्माण गर्ने व्यक्ति” का रूपमा हेर्छ। त्यसैले त्यस्ता विद्यालयमा नियमित तालिम, सहकार्य, अनुसन्धान, आत्मचिन्तन र व्यावसायिक विकासका अवसर सुनिश्चित गरिन्छ।

शिक्षकको ऊर्जा, सम्मान, आत्मविश्वास र सिर्जनात्मकताले नै सिकाइलाई जीवन्त बनाउँछ। थाकेका, निरुत्साहित, असुरक्षित वा असहाय महसुस गरिरहेका शिक्षकहरूबाट गुणस्तरीय सिकाइ सम्भव हुँदैन। धेरै विद्यालयहरूमा शिक्षकको भूमिका अझै पनि कक्षाकोठामा पढाउने काममा मात्र सीमित गरिएको पाइन्छ। शिक्षकलाई निर्णय प्रक्रियामा सहभागी गराइँदैन र उनीहरूको अनुभव तथा आवाजलाई महत्त्व दिइँदैन। यस्तो संस्कृतिले शिक्षकलाई केवल निर्देशन पालना गर्ने कर्मचारीमा सीमित बनाउँछ। जहाँ शिक्षकको विचार दबाइन्छ, त्यहाँ नवप्रवर्तन मर्छ। जहाँ शिक्षकलाई विश्वास गरिँदैन, त्यहाँ सिकाइको गुणस्तर पनि हुँदैन। त्यसैले उत्कृष्ट विद्यालय त्यो हो जहाँ शिक्षक र शैक्षिक नेतृत्व दुवै निरन्तर सिकिरहेका हुन्छन्। एकअर्काबाट प्रेरित भइरहेका हुन्छन् र विद्यालयलाई केवल संस्था होइन, सिक्ने समुदायका रूपमा निर्माण गरिरहेका हुन्छन्।

निष्कर्ष

एउटा उत्कृष्ट विद्यालय मापनको मापदण्ड कहिल्यै परीक्षाको नतिजामा सीमित हुनुहुँदैन। दशकौंदेखि हामीले विद्यार्थीलाई “ए प्लस” को दौडमा हिँडाएर उनीहरूको सिकाइबाट उत्सुकता, कौतूहल, सिर्जनशीलता र रोमाञ्चकता खोसिरहेका छौँ। विद्यालय केवल परीक्षा तयारीको केन्द्र होइन। विद्यार्थीको समग्र विकास गर्ने थलो हो। चरित्र निर्माण गर्ने ठाउँ हो। उत्कृष्ट विद्यालयसँग “हामी किन पढाउँछौँ?” भन्ने प्रश्नको स्पष्ट उत्तर हुन्छ। त्यहाँ सिकाइ केवल परीक्षा उत्तीर्ण गराउने उद्योग हुँदैन, मानव बनाउने प्रक्रिया हुन्छ। यस्ता विद्यालयले विद्यार्थीलाई उच्च अङ्क र ग्रेडका लागि होइन, जीवनका लागि तयार गर्नुपर्छ। विद्यालयको लक्ष्य केवल अङ्क र ग्रेड बढाउन मात्र सीमित भयो भने त्यो संस्था शैक्षिक संस्था हुन सक्दैन; त्यो त प्रशिक्षण केन्द्र मात्र हुन्छ।

उत्कृष्ट विद्यालयमा विद्यार्थी प्रतिक्रियाविहीन “सुन्ने मेसिन” होइन, सक्रिय सिक्ने पात्र हुन्छन्। यस्ता विद्यालयका शिक्षकले “म बोल्छु, तिमी सुन्छौ” भन्ने शैली प्रयोग गर्दैनन्। विद्यार्थीले प्रश्न गर्छन्, तर्क गर्छन्, प्रयोग गर्छन्, अनुसन्धान गर्छन् र छलफल गर्छन्। यसले विद्यार्थीमा आलोचनात्मक सोच, रचनात्मकता तथा सञ्चार कौशलजस्ता सीप विकास गर्छ।

उत्कृष्ट विद्यालयमा विद्यार्थी खुसी र सुरक्षित हुन्छन्। उनीहरूले प्रश्न गर्न र सोच्न सक्छन्। आफ्नो भविष्य निर्माण गर्न सक्षम हुन्छन्। उत्कृष्ट विद्यालय त्यो हो जहाँ शिक्षकहरू प्रेरित हुन्छन्, अभिभावकहरू विद्यार्थीको सिकाइमा सहभागी हुन्छन् र विद्यालयको समुदायसँग बलियो सम्बन्ध हुन्छ। उत्कृष्ट विद्यालयमा सङ्घर्ष गरिरहेका विद्यार्थीलाई हात समाएर अघि बढाइन्छ। उनीहरूलाई सम्मानका साथ अनुशासन सिकाइन्छ र उनीहरूको सिकाइलाई वास्तविक जीवन र संसारसँग जोडिन्छ। एउटा उत्कृष्ट विद्यालयले हिमाली बालकलाई आफ्नो परम्पराको गौरव सिकाउँछ, साथै उसलाई आधुनिक प्रविधिको पहुँच पनि दिन्छ। एउटा उत्कृष्ट विद्यालयले मधेशी बालिकालाई हिज्जे मात्र सिकाउँदैन, उसलाई भविष्यको सपना देख्न पनि सिकाउँछ। उत्कृष्ट विद्यालयले विद्यार्थीलाई जीवन जिउन सिकाउँछ।

उत्कृष्ट विद्यालय त्यो होइन जहाँ धेरै पैसा खर्च हुन्छ। उत्कृष्ट विद्यालय त्यो हो जहाँ सही सोच, सही संस्कृति र सही मूल्यहरू निर्माण हुन्छन्। जहाँ विद्यार्थीले समाज परिवर्तन गर्ने नागरिक बन्ने अवसर पाउँछन्। यदि विद्यालयले विद्यार्थीलाई केवल जागिरका लागि तयार पार्‍यो भने त्यो सामान्य विद्यालय हो। यदि विद्यालयले विद्यार्थीलाई जिम्मेवार, नैतिक र सक्षम नेतृत्वकर्ता बनायो भने, त्यो नै वास्तवमा उत्कृष्ट विद्यालय हो। त्यसैले उत्कृष्ट विद्यालय मापनका मापदण्ड बदलौँ। एउटा विद्यार्थीको समग्र विकास र उसलाई जीवन जिउन सक्षम बनाउने आधारमा विद्यालयको उत्कृष्टता तौलौँ।

लेखकको परिचय: मेदिनबहादुर लामिछाने युलेन्स एजुकेशन फाउन्डेशनमा चिफ एकेडेमिक अफिसर तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीको रूपमा कार्यरत हुनुहुन्छ। साथै उहाँ काठमाडौं विश्वविद्यालयमा विद्यावारिधिको शोधार्थी समेत हुनुहुन्छ। यस लेखमा व्यक्त विचार उहाँका निजी विचार हुन्।