सामान्य परिवारबाट शैक्षिक नेतृत्वसम्म : प्रा. तोया नारायण पौडेलको प्रेरणादायी जीवनयात्रा

सामान्य परिवारबाट शैक्षिक नेतृत्वसम्म : प्रा. तोया नारायण पौडेलको प्रेरणादायी जीवनयात्रा

स्याङ्जाको एक साधारण कृषक परिवारमा जन्मिएको एउटा बालकलाई उनका हजुरबुबाले सधैं सम्झाइरहन्थे— “जीवनमा अगाडि बढ्न पढाइ अनिवार्य छ।” यही वाक्यले उहाँको जीवनको दिशा तय गर्‍यो। सामान्य परिवेश, सीमित अवसर र गाउँको सरल जीवनबीच हुर्किंदै आएका उहाँले सानैदेखि अध्ययनलाई केवल पढाइका रूपमा होइन, जीवन बदल्ने माध्यमका रूपमा लिनुभयो।

वि.सं. २०३१ सालमा स्याङ्जा जिल्लामा जन्मिनुभएका प्रा. तोया नारायण पौडेल आज हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजका प्रिन्सिपलका रूपमा शैक्षिक नेतृत्व गरिरहनुभएको छ। तीन दाजुभाइमध्ये जेठा सन्तान उहाँका पिता ज्ञानप्रसाद पौडेल शिक्षक हुनुहुन्थ्यो भने माता अम्फादेवी पौडेल हुनुहुन्छ। सानैदेखि पढाइमा अब्बल रहनुभएका उहाँको जीवनमा हजुरबुबाको गहिरो प्रभाव रह्यो। हजुरबुबाले “पढ्नुपर्छ” भन्ने मात्र होइन, “झुटो बोल्नु हुँदैन” भन्ने जीवनमूल्य पनि सिकाउनुभयो। यही संस्कार, अनुशासन, इमानदारी र अध्ययनप्रतिको समर्पणले उहाँलाई शिक्षा क्षेत्रमा विशिष्ट पहिचान दिलायो।

आज शिक्षा क्षेत्रमा स्थापित व्यक्तित्वका रूपमा चिनिनुभएका प्रा. पौडेलको यात्रा सहज थिएन। सामान्य पारिवारिक पृष्ठभूमिबाट सुरु भएको उहाँको जीवनयात्रा संघर्ष, मेहनत, धैर्य र स्पष्ट लक्ष्यले बनेको प्रेरणादायी कथा हो। उहाँको अनुभव केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, शिक्षा, मूल्य र नेतृत्व कसरी एकसाथ जोडिन्छन् भन्ने उदाहरण पनि हो।

“शिक्षा प्रणालीलाई समय अनुसार बदल्नैपर्छ” — प्रा. तोया नारायण पौडेल

एजुकेसन दैनिकसँगको यस विशेष संवादमा उहाँले आफ्नो जीवनका महत्वपूर्ण अनुभव, पारिवारिक संस्कार, अहिलेको युवा पुस्ताप्रतिको चिन्ता, नेपालको शिक्षा प्रणाली, विद्यार्थीको बदलिँदो सोच, सुधारका आवश्यकता तथा भविष्यको दिशाबारे आफ्ना स्पष्ट र अर्थपूर्ण विचार राख्नुभएको छ।

यहाँ प्रस्तुत सामग्री एजुकेसन दैनिकसँग गरिएको उक्त अन्तर्वार्ताका केही छोटा अंशहरू मात्र हुन्।

अहिलेको युवा पुस्ता र शिक्षा प्रणालीलाई तपाईं कसरी हेर्नुहुन्छ?

पछिल्लो समय मलाई के लाग्छ भने, हामीले दिन खोजेको शिक्षा अहिलेको युवाले ठीकसँग ग्रहण गर्न सकेको छैन कि, वा उसले अर्कै प्रकारको शिक्षा खोजिरहेको छ कि भन्ने अलि अस्पष्ट जस्तो लाग्छ। विद्यार्थीहरू पढाइभन्दा बाहिरका कुरामा अलि बढी केन्द्रित भएको देखिन्छ। कहिलेकाहीँ राम्रो नतिजा आउँछ, तर भित्री रूपमा हेर्दा हामीले अपेक्षा गरेको स्तरको नतिजा आएको छैन कि भन्ने अनुभूति हुन्छ। त्यसैले अब विद्यार्थीलाई मात्र दोष दिनुभन्दा, हाम्रो शिक्षा प्रणालीमै के परिवर्तन गर्नुपर्छ भन्ने सोच्नुपर्ने बेला आएको छ जस्तो लाग्छ।

अहिलेको शिक्षा प्रणालीमा मुख्य समस्या के देख्नुहुन्छ?

हामी अझै पनि करिब ३०–३५ वर्षअघिको सोच र संरचनामा अघि बढिरहेका छौं। तर अहिलेको पुस्ता भने त्यसरी सोच्दैन, उनीहरू नयाँ तरिकाले सिक्न चाहन्छन्। यहीँबाट समस्या सुरु भएको जस्तो लाग्छ। शिक्षकले दिन खोजेको कुरा र विद्यार्थीले खोजेको कुरा बीच एउटा दूरी बढेको देखिन्छ। यो दूरी कम गर्न सकेनौं भने भविष्यमा अझ ठूलो समस्या आउन सक्छ भन्ने मलाई लाग्छ।

विद्यार्थीहरूमा बढ्दो विदेश जाने सोचलाई तपाईं कसरी बुझ्नुहुन्छ?

अहिले धेरै विद्यार्थीको सोच सुरुबाटै यस्तो बनिसकेको हुन्छ— “म त पढेर विदेश जान्छु।” त्यसैले उनीहरूले यहाँ पाइने अवसरहरूलाई त्यति महत्व दिँदैनन्। इन्टर्नसिप, अतिरिक्त सीप, प्रशिक्षण जस्ता कुरालाई पनि कहिलेकाहीँ बेवास्ता गरिएको देखिन्छ। मुख्य कुरा के हो भने, उनीहरूले नेपालमै भविष्य देखिरहेका छैनन्। जबसम्म यो सोच परिवर्तन हुँदैन, हामीले जति प्रयास गरे पनि त्यो पूर्ण रूपमा सफल हुँदैन।

नेपालको शिक्षा प्रणाली सुधार गर्न के गर्नुपर्ला?

यो एउटा संस्था मात्रले गर्ने काम होइन। यो राज्य, नीति, र सम्बन्धित सबै पक्षको संयुक्त प्रयासले मात्र सम्भव हुन्छ। स्थानीय तहदेखि केन्द्रसम्म सबै निकाय बसेर गम्भीर रूपमा छलफल गर्नुपर्छ। विद्यार्थीले के खोजिरहेका छन्, बजारले के मागिरहेको छ, देशलाई कस्तो जनशक्ति चाहिएको छ— यी सबै कुरा बुझेर अघि बढ्नुपर्छ। सही ढंगले काम गरियो भने हाम्रो शिक्षा प्रणालीलाई राम्रो दिशामा लैजान सकिन्छ भन्ने मलाई विश्वास छ।

 “मार्केट अनुसारको शिक्षा” भन्नाले के बुझ्नुहुन्छ?

हामीले विद्यार्थीलाई केवल प्रमाणपत्र दिने होइन, जीवनमा काम लाग्ने सीप दिने शिक्षा दिनुपर्छ। विद्यार्थीले पढेको विषयलाई व्यवहारमा कसरी प्रयोग गर्ने, बजारमा गएपछि आफूलाई कसरी प्रस्तुत गर्ने— यी कुरा पनि सिक्नुपर्छ। त्यसैले कोर्ससँगै अतिरिक्त तालिम, व्यवहारिक अभ्यास र सीप विकासमा ध्यान दिन जरुरी छ। तर सबै विद्यार्थीले त्यो कुरालाई समान रूपमा महत्व दिएको जस्तो देखिँदैन।

प्राविधिक शिक्षाबारे तपाईंको धारणा के छ?

प्राविधिक शिक्षा नेपालको लागि निकै महत्वपूर्ण छ। हाम्रो देशको आवश्यकता हेर्दा यसमा धेरै सम्भावना छ। तर अहिलेका विद्यार्थीहरू छिटो नतिजा खोजिरहेका छन्। शिक्षा भनेको समय, अभ्यास र धैर्य चाहिने प्रक्रिया हो। त्यसैले विद्यार्थीको अपेक्षा र संस्थाले दिन खोजेको प्रक्रिया बीच तालमेल नमिलेको जस्तो देखिन्छ।

विद्यार्थी मूल्याङ्कन प्रणालीबारे तपाईंको विचार के छ?

म सधैं एउटा कुरा भन्छु— विद्यार्थीलाई फेल गराउने होइन, स्तर अनुसार मूल्याङ्कन गर्ने हो। हरेक विद्यार्थी फरक हुन्छ। कोही कुनै विषयमा राम्रो हुन्छ, कोही अर्को क्षेत्रमा। त्यसैले एउटै तरिकाले सबैलाई नाप्नु हुँदैन। शिक्षा भनेको विकासको प्रक्रिया हो, दण्ड दिने माध्यम होइन।

विश्वविद्यालय तहको पढाइमा के परिवर्तन आवश्यक छ?

अहिलेको समस्या के छ भने, स्नातकमा पढेको कुरा फेरि स्नातकोत्तरमा पनि दोहोरिन्छ। विद्यार्थीले पनि यही गुनासो गर्ने गर्छन्। मेरो विचारमा, स्नातकपछि विशेषीकृत अध्ययन (specialized study)मा जान सकिन्छ। जसले विद्यार्थीलाई आफ्नो रुचिको क्षेत्रमा गहिरो ज्ञान दिन्छ। यसले समय बचाउँछ, दक्षता बढाउँछ र व्यवहारिक रूपमा पनि धेरै उपयोगी हुन्छ।

अन्त्यमा, विद्यार्थी र नीति-निर्मातालाई तपाईंको सन्देश के छ?

विद्यार्थीलाई म के भन्न चाहन्छु भने, केवल प्रमाणपत्र होइन, सीप, अनुशासन, इमानदारी र दीर्घकालीन सोच विकास गर्नुपर्छ। छिटो सफलता खोज्ने भन्दा आफूलाई निरन्तर सुधार गर्ने बानी बसाल्नुपर्छ। नीति-निर्मातालाई भने, युवाको सोच र चुनौती गहिराइमा बुझेर नीति बनाउन जरुरी छ। यदि सबै पक्ष मिलेर काम गरे भने, नेपालको शिक्षा प्रणालीलाई अझ राम्रो दिशामा लैजान सकिन्छ।

पूरा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=Vx7I92lPQ2A