काठमाडौँ — शिक्षा क्षेत्रसँग सम्बन्धित समाचार, अन्तर्वार्ता, विचार, विश्लेषण, विद्यालय तथा कलेज प्रोफाइल, वैदेशिक अध्ययनसम्बन्धी सामग्री र शैक्षिक गतिविधिलाई एउटै थलोमा समेट्ने उद्देश्यका साथ एजुकेसन दैनिक औपचारिक रूपमा सुरु भएको छ।
विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय, कलेज, शैक्षिक परामर्शदाता संस्था र समग्र शिक्षा क्षेत्रबीच प्रभावकारी सूचना, विचार र संवादको सेतु बन्ने लक्ष्यसहित एजुकेसन दैनिक सञ्चालनमा आएको हो। बदलिँदो शैक्षिक परिवेशमा विश्वसनीय, सन्तुलित र उपयोगी शैक्षिक सामग्रीको आवश्यकता बढिरहेका बेला सोही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यो अनलाइन माध्यम सुरु गरिएको जनाइएको छ।
एजुकेसन दैनिकले विद्यालय शिक्षा, कक्षा ११/१२, कलेज, प्राविधिक तथा व्यावसायिक शिक्षा, वैदेशिक अध्ययन, भाषा शिक्षा, शैक्षिक कार्यक्रम, संस्थागत गतिविधि, शिक्षा–नीति, व्यक्तित्व, प्रेरक यात्रा र समसामयिक शैक्षिक बहसबारे नियमित सामग्री प्रकाशन गर्ने जनाएको छ।
यस माध्यमले केवल समाचार मात्र होइन, विशेष अन्तर्वार्ता, फिचर सामग्री, विचार लेख, संस्थागत प्रोफाइल, विद्यार्थी–केन्द्रित सूचना, अभिभावक उपयोगी सामग्री, अध्ययन अवसर, भिडियो सामग्री लगायतका विविध विधामा सामग्री प्रस्तुत गर्ने बताइएको छ। यसबाट शिक्षा क्षेत्रका विविध पक्षलाई अझ व्यवस्थित, नजिक र अर्थपूर्ण रूपमा पाठकमाझ पुर्याउने विश्वास लिइएको छ।
एजुकेसन दैनिकले शिक्षा केवल पाठ्यपुस्तक वा परीक्षा नतिजामा सीमित नहुने मान्यता राख्दै गुणस्तरीय शिक्षा, संस्कार, सीप, नेतृत्व, व्यक्तित्व विकास र भविष्य निर्माण जस्ता पक्षलाई पनि आफ्नो प्राथमिकतामा राखेको जनाएको छ।
यस अनलाइन माध्यममार्फत देशभरका विद्यालय, कलेज, शैक्षिक संस्था, शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, परामर्शदाता र सरोकारवालाका गतिविधि, अनुभव, उपलब्धि र दृष्टिकोणलाई समेट्दै शिक्षा क्षेत्रको सशक्त माध्यम बन्ने उद्देश्य लिइएको छ।