नाइटिङ्गेल स्कुलको शैक्षिक यात्रा केवल एउटा संस्थाको विस्तारको कथा होइन, यो विश्वास, अनुशासन, गुणस्तरीय शिक्षा र विद्यार्थीको चौतर्फी विकासप्रतिको दीर्घकालीन प्रतिबद्धताको कथा पनि हो। ५० विद्यार्थीबाट सुरु भएको यो संस्थामा आज ३००० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। पढाइ, अनुशासन, व्यक्तिगत हेरचाह, प्रविधिमैत्री कक्षा, अतिरिक्त क्रियाकलाप र भविष्य–उन्मुख शिक्षामार्फत नाइटिङ्गेलले आफूलाई एक स्थापित शैक्षिक संस्थाका रूपमा उभ्याएको छ। यसै सन्दर्भमा नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानसँग विद्यालयको यात्रा, शिक्षाप्रतिको दृष्टि, विद्यार्थी विकास, टिमवर्क र व्यक्तिगत जीवनदर्शनबारे गरिएको विशेष कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ।
नाइटिङ्गेल स्कुलको यात्रा कहाँबाट सुरु भयो, आज कहाँ आइपुगेको छ ?
रञ्जना प्रधान: म विगत लामो समयदेखि नाइटिङ्गेल स्कुलमा कार्यरत छु। सुरुमा हामीले केवल ५० विद्यार्थीबाट यात्रा सुरु गरेका थियौँ। आज यही विद्यालयमा ३००० भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन्। यो वृद्धि केवल संख्या बढेको कुरा मात्र होइन, यो अभिभावकको विश्वास, शिक्षकको समर्पण र हाम्रो शैक्षिक प्रतिबद्धताको परिणाम हो। हामीले सुरुदेखि नै सबैभन्दा बढी फोकस पढाइमा दियौँ। भौतिक पूर्वाधार धेरै ठूलो नभए पनि शिक्षा क्षेत्रमा हामीले आफ्नो बलियो पहिचान बनाउन सफल भएका छौँ। किनभने अन्ततः विद्यार्थीलाई जहाँ गए पनि आवश्यक पर्ने कुरा भनेको गुणस्तरीय शिक्षा र प्रमाणपत्र नै हो।
“विद्यार्थीलाई केवल पास गराउने होइन, उसलाई जहाँ गए पनि पछाडि नपर्ने, आफ्नै पहिचान बनाउन सक्ने बनाउनु नै हाम्रो लक्ष्य हो।” - रञ्जना प्रधान
नाइटिङ्गेल स्कुलको मुख्य शैक्षिक विशेषता के हो ?
रञ्जना प्रधान: हाम्रो विद्यालयको विशेषता भनेको इन्डिभिजुअल केयर हो। हामी हरेक विद्यार्थीलाई व्यक्तिगत रूपमा बुझ्ने र अगाडि बढाउने प्रयास गर्छौँ। हामीले पढाएको विद्यार्थीले आवश्यक कुरा सिकून्, कुनै पनि ठाउँमा जाँदा पछाडि नपरोस्, हरेक क्षेत्रमा नाम निकाल्न सकोस् र आफ्नो छुट्टै पहिचान बनाउन सफल होस् भन्ने हाम्रो लक्ष्य हो। आजको २१औँ शताब्दीमा विद्यालयले केवल किताबको शिक्षा दिएर मात्र पुग्दैन। विद्यार्थीको चौतर्फी विकास पनि उत्तिकै जरुरी छ। त्यसैले हामीले पढाइसँगै व्यक्तित्व विकास, आत्मविश्वास, नेतृत्व क्षमता र व्यवहारिक दक्षतामा पनि विशेष ध्यान दिएका छौँ।

नाइटिङ्गेलले चौतर्फी विकासका लागि के–कस्ता काम गरिरहेको छ ?
रञ्जना प्रधान: हामीले विद्यार्थीको चौतर्फी विकासलाई अत्यन्त प्राथमिकतामा राखेका छौँ। विद्यालयमा विभिन्न एक्स्ट्रा करिकुलर एक्टिभिटीज सञ्चालन भइरहेका छन्। खेलकुद, नृत्य, संगीत, कुकिङ, स्काउट, एनसीसी लगायतका गतिविधिमार्फत विद्यार्थीलाई विभिन्न क्षेत्रमा अगाडि ल्याउने प्रयास गरिरहेका छौँ। हाम्रो सोच के हो भने सबै विद्यार्थी पढाइमा मात्रै अब्बल हुनुपर्छ भन्ने होइन। कोही डान्समा राम्रो हुन सक्छ, कोही संगीतमा, कोही नेतृत्वमा, कोही अन्य क्रियाकलापमा। त्यसैले हामी हरेक विद्यार्थीको क्षमता पहिचान गरेर उनीहरूलाई अवसर दिन्छौँ। विद्यालयमा हरेक विद्यार्थीलाई अभिभावक दिवस, वार्षिक कार्यक्रम वा अन्य गतिविधिमा अनिवार्य रूपमा सहभागी गराउने संस्कार पनि बनाएका छौँ। प्रतिभा कम भए पनि प्रशिक्षण दिएर उसलाई स्टेजमा उभ्याउने प्रयास गर्छौँ। यसले विद्यार्थीमा आत्मविश्वास र प्रस्तुति क्षमता दुवै विकास गर्छ।

विद्यालयले प्रविधिमैत्री शिक्षामा कस्तो काम गरिरहेको छ ?
रञ्जना प्रधान: अहिलेको समय प्रविधिको समय हो। त्यसैले हामीले हरेक कक्षाकोठामा स्मार्ट बोर्ड राखेका छौँ। एआई कक्षा र रोबोटिक्स कक्षा पनि सञ्चालन भइरहेका छन्। नर्सरीदेखि कक्षा ३ सम्म हामीले प्ले–वे मेथडमा पनि जोड दिएका छौँ। हामी घोकाएर मात्र पढाउने पक्षमा छैनौँ। बरु विद्यार्थीलाई बेसिक, ज्ञानमूलक र बुझेर सिक्ने वातावरण दिनुपर्छ भन्ने हाम्रो धारणा हो। आफैँ पढ्ने इच्छा जागोस्, सिकाइप्रति रुचि बढोस् र विषयलाई बुझेर सिकून् भन्ने उद्देश्यले हामीले शिक्षण पद्धतिमा सुधार गरिरहेका छौँ।

नाइटिङ्गेलको शैक्षिक उपलब्धिलाई कसरी हेर्नुहुन्छ ?
रञ्जना प्रधान: नाइटिङ्गेलले २०५० सालदेखि यता धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। हामी बोर्डमा फर्स्ट, सेकेन्डसम्म भएका छौँ। विद्यालयले राष्ट्रिय पुरस्कार तीनपटक प्राप्त गरिसकेको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि पुरस्कृत भएका छौँ र विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाएका छौँ। रिजल्टको कुरा गर्दा, हामीले अहिलेसम्म राम्रो नतिजा दिइरहेका छौँ। हरेक वर्ष शतप्रतिशत नतिजा प्राप्त भइरहेको छ। SEE मा हाम्रा ४–५ जना विद्यार्थीले ४ GPA सम्म ल्याइरहेका छन्। तर हाम्रो उद्देश्य केवल विद्यार्थीलाई पास गराउने मात्र होइन, सकेसम्म सबैलाई उत्कृष्ट नतिजा दिलाउने हो।

पढाइमा कमजोर विद्यार्थीलाई विद्यालयले कसरी सम्हाल्छ ?
रञ्जना प्रधान: हामीले विद्यार्थीलाई सामान्य रूपमा तीन वर्गमा हेर्ने गरेका छौँ—कमजोर, मध्यम र अब्बल। यसको उद्देश्य कसैलाई लेबल लगाउनु होइन, बरु उनीहरूको आवश्यकता बुझेर उचित सहयोग गर्नु हो। अब्बल विद्यार्थीलाई पढाउने तरिकाले मात्र सबैलाई पढाउँदा कमजोर विद्यार्थी अझ पछाडि पर्न सक्छन्। त्यसैले हामीले मिटिङमा बसेर कमजोर विद्यार्थीलाई पहिलो प्राथमिकता दिने निर्णय गर्छौँ। उनीहरूका लागि अतिरिक्त कक्षा, अभ्यास, परीक्षा र विशेष फोकस राख्छौँ। जबसम्म उनीहरू मध्यम स्तरमा आउँदैनन्, हामी विशेष मेहनत गरिरहन्छौँ। यही कारणले अभिभावक पनि हामीप्रति धेरै सकारात्मक हुनुहुन्छ।
अभिभावकले नाइटिङ्गेलप्रति यति धेरै विश्वास गर्नुको कारण के हो ?
रञ्जना प्रधान: हाम्रो लागि सबैभन्दा ठूलो विज्ञापन भनेको अभिभावकको विश्वास हो। हामीलाई ठूलो प्रचार–प्रसार गरेर विद्यार्थी ल्याउनुपर्ने अवस्था कम छ। किनभने हाम्रोमा पढेका विद्यार्थीका अभिभावक नै हाम्रो राम्रो प्रतिक्रिया र सिफारिसमार्फत नयाँ अभिभावकसम्म पुग्नुहुन्छ। अभिभावकहरू भन्छन्—नाइटिङ्गलमा भर्ना गरेपछि बच्चा राम्रोसँग पास हुन्छ, राम्रो अङ्क ल्याउँछ र अनुशासनमा पनि बस्छ। त्यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

तपाईंको नाइटिङ्गेल स्कुलसँगको व्यक्तिगत यात्रा कस्तो रह्यो ?
रञ्जना प्रधान: यस विद्यालयमा मेरो ३१ वर्षको अनुभव छ। म सुरुवातदेखि नै यही संस्थामा कार्यरत छु। सुरुमा ग्रेड टिचरका रूपमा काम गरेँ, र आज प्रिन्सिपलको जिम्मेवारीमा छु। यो यात्रा मेरो लागि अत्यन्त भावनात्मक र गर्विलो छ। आज हामीले पढाएका विद्यार्थीहरू देश–विदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट स्थानमा पुगेका देख्दा मन निकै खुसी हुन्छ। जब आफ्नै विद्यार्थी डाक्टर, बैंकर, शिक्षक, प्रशासक, स्कुल सञ्चालक वा अन्तर्राष्ट्रिय स्तरका पदमा भेटिन्छन्, त्यो अनुभूति शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। एकपटक प्रसूति गृहमा बिरामी स्टाफलाई भेट्न जाँदा डाक्टरको पोशाकमा एक जना विद्यार्थीले मलाई ‘म्याम’ भनेर बोलाउनुभयो। भित्र जाँदा त्यहाँ सात जना मेरा पूर्वविद्यार्थी डाक्टर भइसकेका रहेछन्। त्यो क्षण सम्झँदा अहिले पनि भावुक हुन्छु। शिक्षकका लागि त्योभन्दा ठूलो उपलब्धि के हुन सक्छ र ?
शिक्षक जीवनले तपाईंलाई के दियो ?
रञ्जना प्रधान: शिक्षक पेशाले मलाई अत्यन्त ठूलो आत्मसन्तुष्टि दिएको छ। मैले मेरो जीवनको धेरै समय स्कुलमै इन्भेस्ट गरेँ। आज फर्केर हेर्दा मैले ठूलो उपलब्धि पाएको महसुस गर्छु। विद्यार्थी र अभिभावकले दिने सम्मान मेरो लागि धेरै मूल्यवान् छ। सायद म अरू कुनै पेशामा भएको भए यस्तो खुशी नपाउँथेँ होला। शिक्षक भएर विद्यार्थीको उज्ज्वल भविष्यका लागि काम गर्न पाउनु नै मेरो लागि ठूलो सौभाग्य हो। यो भावना पैसाले किन्न सकिँदैन।

तपाईंको व्यक्तिगत ‘ह्यापिनेस मन्त्र’ के हो ?
रञ्जना प्रधान: मानिस खुसी हुनका लागि सबैभन्दा पहिले सकारात्मक हुनुपर्छ भन्ने मेरो विश्वास हो। म सधैँ पोजिटिभ रहने प्रयास गर्छु र भगवान्प्रति आस्था राख्छु। मैले जानेर कहिल्यै नराम्रो काम गर्दिनँ, र अनजानेमा केही भयो भने त्यो स्वीकार गरेर माफी माग्छु। मलाई कसैसँग सम्बन्ध बिगार्न मन पर्दैन। आफू रिसाउँदिनँ, रिसाउने मानिसबाट टाढा बस्ने प्रयास गर्छु। कोही दुःखी वा समस्यामा देखिए भने सहयोग गर्ने प्रयास गर्छु। म योग, ध्यान, स्वस्थ खाना र अनुशासित जीवनशैलीमा विश्वास गर्छु। जीवनलाई तनावको रूपमा होइन, एउटा सुन्दर यात्राको रूपमा लिनुपर्छ भन्ने मेरो सोच हो।

विद्यार्थीसँग तपाईंको सम्बन्ध कस्तो हुन्छ ?
रञ्जना प्रधान: म विद्यार्थीहरूलाई गाली गरेर, डर देखाएर वा पिटेर अगाडि बढाउने पक्षमा छैन। म उनीहरूलाई काउन्सेलिङ गर्छु, उनीहरूको समस्या बुझ्छु र सहज रूपमा समाधान खोज्ने प्रयास गर्छु। विद्यार्थीलाई आफ्नो आमाबुबाको सपना पूरा गर्नुपर्छ भनेर सम्झाउँछु। अनुशासनमा राख्छु, तर माया र संवादमार्फत। म विद्यार्थीलाई देखेरै खुसी हुन्छु। उनीहरूको भविष्य, प्रगति र सुधारबारे हरेक दिन सोच्ने गर्छु। यही नै मेरो प्रेरणा हो।

विद्यालयको सफलता पछाडि मुख्य शक्ति के हो ?
रञ्जना प्रधान: हाम्रो विद्यालय अघि बढ्नुको प्रमुख कारण टिमवर्क हो। मैले एक्लै केही गर्न सक्दिनँ। हाम्रो सम्पूर्ण टिमले धेरै मेहनत गर्नुभएको छ। सानो स्टाफ, ड्राइभरदेखि ठूलो व्यवस्थापकीय जिम्मेवारीमा रहेका सबैसँग राम्रो सम्बन्ध बनाएर, समान सम्मान दिएर काम गर्ने हाम्रो संस्कार छ। हामीले विद्यालयमा विभिन्न विभाग बनाएका छौँ—एकेडेमिक्स, ECA, ट्रान्सपोर्ट, होस्टेल आदि। प्रत्येक विभागसँग नियमित मिटिङ गरेर सामूहिक रूपमा निर्णय गर्छौँ। जब टिमवर्क राम्रो हुन्छ, समस्या पनि छिटो समाधान हुन्छ। कुनै पनि संस्थालाई माथि पुर्याउन टिमवर्क अत्यन्त आवश्यक छ।

अन्त्यमा अभिभावक र विद्यार्थीलाई के सन्देश दिन चाहनुहुन्छ ?
रञ्जना प्रधान: म अभिभावक र विद्यार्थीलाई यही भन्न चाहन्छु—विद्यालय छनोट गर्दा केवल बाहिरी कुरा नहेर्नुस्, त्यहाँको शिक्षा, अनुशासन, वातावरण, शिक्षकको समर्पण र विद्यार्थी विकासको दृष्टि बुझ्नुस्। शिक्षा भनेको केवल अंक वा प्रमाणपत्र होइन, यो जीवन निर्माणको आधार हो। हाम्रो प्रयास सधैँ यही हो कि नाइटिङ्गलमा पढ्ने प्रत्येक विद्यार्थी जहाँ गए पनि सक्षम होस्, आत्मविश्वासी होस्, संस्कारी होस् र आफ्नो जीवनमा सफल होस्।