काठमाडौँ — निजामती कर्मचारीका सन्ततिका लागि प्रदान गरिने शैक्षिक प्रोत्साहन वृत्ति कार्यक्रमअन्तर्गत आवेदन खुला गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार उक्त वृत्ति प्रदान गरिने भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा ले जारी गरेको सूचनाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को पत्रका आधारमा २०८२ चैत १ गतेदेखि १५ दिनको म्याद दिई आवेदन आह्वान गरिएको छ। मन्त्रालयका अनुसार विस्तृत सूचना आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ भने सोही मितिमा गोरखापत्र दैनिक मार्फत संक्षिप्त जानकारीसमेत सार्वजनिक भइसकेको छ।
यस कार्यक्रमबारे जानकारी गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा शिक्षक सेवा आयोग लाई परिपत्र गरिएको छ। साथै, मातहतका कार्यालयहरूमा कार्यरत निजामती कर्मचारीहरूलाई समयमै सूचना उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।
त्यसैगरी, शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखा लाई उक्त सूचना मन्त्रालयको वेबसाइटमा अपलोड गरी सहज पहुँच सुनिश्चित गर्न भनिएको छ।
सरकारले यस कार्यक्रममार्फत निजामती कर्मचारीका सन्ततिलाई शिक्षामा थप प्रोत्साहन मिल्ने विश्वास लिएको जनाएको छ।
