सुन्दरहरैंचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आयोजित अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा झापाकै सुवर्ण भट्टराई र कोषाध्यक्षमा मोरङका सन्तोष कुमार राई निर्विरोध चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुनसरीका उमेश महतो, मोरङका लोक बहादुर रोका र महेन्द्र कुमार राई तथा झापाका धिरज नारायण गणेश चयन भएका छन्। कार्यसमितिको सल्लाहकारमा मोरङका कुमार विक्रम खवासलाई मनोनित गरिएको छ।

कार्यक्रम नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष कमल खनालकै अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनका प्रमुख अतिथि नेसनल प्याब्सनका निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी तथा विशिष्ट अतिथि केन्द्रीय सदस्य नारायण ढकाल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डव हमाल ठकुरीले निजी विद्यालय क्षेत्रले नेपालको शिक्षामा पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै अब गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “निजी विद्यालयहरू केवल शिक्षण संस्था मात्र होइनन्, देशको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारस्तम्भ हुन्। अब हामीले प्रतिस्पर्धात्मक मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनेतर्फ अग्रसर हुनुपर्छ।”

त्यस्तै विशिष्ट अतिथि नारायण ढकालले संगठनलाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउन नवगठित कार्यसमितिको भूमिका महत्वपूर्ण हुने बताए। उनले शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न नेसनल प्याब्सनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै प्रदेशस्तरका सकारात्मक पहलहरूलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्न आवश्यक रहेको बताए।
अधिवेशनको अवसरमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार योगेन्द्र योगी, एलएन गच्छदार, शिव भट्टराई भोजपुरे र सुरज माझीसहित विभिन्न प्रकाशनका प्रमुखहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले यस्तो सम्मानले आफ्नो जिम्मेवारी अझ बढेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा नेसनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, मोरङका अध्यक्ष इन्द्र नारायण शाह, सुनसरीका अध्यक्ष खगेन्द्र केसीलगायत विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, विद्यालय सञ्चालक तथा शिक्षासेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष कमल खनालले संगठनलाई थप गतिशील, प्रभावकारी र शिक्षामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहकार्य र समर्थन आवश्यक रहेको बताए। उनले प्रदेशभरका निजी विद्यालयहरूको हकहित संरक्षण, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा आपसी समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारे।

अधिवेशनले शिक्षा क्षेत्रको विकास, निजी विद्यालयहरूको सुदृढीकरण तथा शिक्षक–विद्यार्थीको समग्र उन्नयनका लागि नयाँ नेतृत्वले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।