काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा समर्पित रूपमा काम गर्दै आएका विद्यालय, प्रिन्सिपल, शिक्षक तथा शैक्षिक उद्यमीहरूको योगदानलाई कदर गर्ने उद्देश्यले ‘एजुकेसन एक्सिलेन्स अवार्ड्स २०२६’ आयोजना हुने भएको छ।
आयोजकका अनुसार शिक्षा क्षेत्रमा नेतृत्व, नवप्रवर्तन, प्रभाव, समर्पण र योगदानका आधारमा विभिन्न विधामा सम्मान प्रदान गरिनेछ। कार्यक्रमले शिक्षा क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थाहरूलाई पहिचान दिलाउनुका साथै सकारात्मक प्रेरणा प्रवाह गर्ने अपेक्षा गरिएको छ।
अवार्ड्समा विद्यालय, प्रिन्सिपल, शिक्षक, शैक्षिक अगुवा तथा अन्य सम्बन्धित व्यक्तित्व र संस्थाहरूलाई विभिन्न श्रेणीमा सम्मान गरिने जनाइएको छ। यसले शिक्षा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा, गुणस्तरीय अभ्यास र उत्कृष्टताको संस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
विशिष्ट अतिथिहरूको उपस्थितिमा सञ्चालन हुने कार्यक्रममा औपचारिक सम्मान तथा प्रमाणपत्र वितरण गरिनेछ। आयोजकले छनोट प्रक्रिया पारदर्शी, योगदानमुखी र प्रभावमा आधारित हुने जनाएको छ।
कार्यक्रमले शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरूबीच सहकार्य, अनुभव आदानप्रदान र नेटवर्किङको अवसर सिर्जना गर्नुका साथै शिक्षा क्षेत्रमा प्रेरणादायी काम गरिरहेकाहरूलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।