विद्यार्थीलाई धेरै दबाब दिनु हुँदैन : प्रिन्सिपल सुमन बस्नेतसँग विशेष संवाद

विद्यार्थीलाई धेरै दबाब दिनु हुँदैन : प्रिन्सिपल सुमन बस्नेतसँग विशेष संवाद

मध्यपुर-थिमि (भक्तपुर) । युनिक नेपाल एकेडेमीका प्रिन्सिपल तथा मध्यपुर प्याब्सनका अध्यक्ष सुमन बस्नेत शिक्षा क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय रहँदै आउनुभएको छ। विद्यालयको रूपान्तरण, आधुनिक शिक्षण प्रणाली, विद्यार्थी विकास र अभिभावकको भूमिकाबारे उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ।

विद्यालयको रूपान्तरण यात्रालाई कसरी हेर्नुहुन्छ?

२०७२ सालमा नयाँ टिम आएपछि हामीले विद्यालयलाई पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्यका साथ अघि बढ्यौँ। त्यसबेला विद्यालयमा करिब १७५ विद्यार्थी थिए र भौतिक पूर्वाधार पनि खासै थिएन। अहिले आइपुग्दा विद्यालयलाई भौतिक, शैक्षिक र गतिविधिमूलक सबै पक्षबाट धेरै परिवर्तन गर्न सफल भएका छौँ। आज विद्यालयमा आधुनिक कक्षाकोठा, डिजिटल क्लास, उत्कृष्ट लाइब्रेरी, कम्प्युटर ल्याब, क्याफेटेरिया लगायतका सुविधा उपलब्ध छन्। साथै, विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि पनि व्यवस्थित व्यवस्था गरेका छौँ।

हाल विद्यालयको अवस्था कस्तो छ?

अहिले विद्यालयमा करिब ४७५ विद्यार्थी अध्ययनरत छन् र ४६ जना स्टाफ कार्यरत हुनुहुन्छ। हामीसँग आफ्नै स्कुल भ्यान, व्यवस्थित कक्षाकोठा र आधुनिक शिक्षण प्रणाली छ। शैक्षिक नतिजाका हिसाबले पनि हामीले हरेक वर्ष राम्रो उपलब्धि हासिल गरिरहेका छौँ। खेलकुद र अतिरिक्त गतिविधिमा पनि विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

तपाईंको विद्यालयको सबैभन्दा ठूलो उपलब्धि के हो?

हामीले ओझेलमा परेको विद्यालयलाई पहिचान दिलाउन सफल भएका छौँ। मध्यपुर क्षेत्रमा हाम्रो विद्यालयलाई एउटा भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न सकेका छौँ। मेरो विचारमा यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।

अहिलेको शिक्षामा के परिवर्तन देख्नुहुन्छ?

आजभन्दा २० वर्षअघिको शिक्षण प्रणाली र अहिलेको अवस्था धेरै फरक छ। विद्यार्थीहरूको सोच, व्यवहार र सिक्ने तरिका पूर्ण रूपमा बदलिएको छ। अहिलेका विद्यार्थीलाई केवल किताबमा सीमित राखेर पढाउन सम्भव छैन। उनीहरूलाई बुझाएर, प्रेरित गरेर र व्यवहारिक गतिविधिसँग जोडेर सिकाउनुपर्ने अवस्था आएको छ।

अभिभावकलाई के सन्देश दिन चाहनुहुन्छ?

अभिभावकले अहिले सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा केवल नतिजा मात्र होइन। विद्यार्थीको अनुशासन, व्यवहार, साथीको संगत र सोचमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ। विद्यार्थीलाई धेरै दबाब दिनु हुँदैन। माया, सहयोग र सही मार्गदर्शनमार्फत उनीहरूलाई अगाडि बढाउनुपर्छ।

शिक्षा क्षेत्रप्रति तपाईंको अनुभव र सन्तुष्टि कस्तो छ?

शिक्षा केवल पेशा मात्र होइन, यो सेवामूलक क्षेत्र हो। यस क्षेत्रमा आर्थिक पक्षभन्दा पनि आत्मसन्तुष्टि ठूलो कुरा हो। जब आफ्नै विद्यार्थीहरू डाक्टर, इन्जिनियर, बैंकर बनेर समाजमा अगाडि बढेको देखिन्छ, त्यो नै सबैभन्दा ठूलो उपलब्धि र गर्वको विषय लाग्छ।

अन्त्यमा, अभिभावक र विद्यार्थीलाई के भन्नुहुन्छ?

भक्तपुरमै धेरै उत्कृष्ट विद्यालयहरू छन्। टाढा–टाढा पठाउनु भन्दा नजिकैको राम्रो विद्यालय छनोट गर्नु उचित हुन्छ। युनिक नेपाल एकेडेमी पनि त्यस्तै एक विकल्प हो। एकपटक विद्यालय अवलोकन गरेर निर्णय लिन म सम्पूर्ण अभिभावकज्यूहरूलाई अनुरोध गर्दछु।