शिक्षा मन्त्रीमा सस्मित पोखरेल नियुक्त — शिक्षा र खेलकुदमा राजनीतीकरण अन्त्य गर्ने प्रतिबद्धता

शिक्षा मन्त्रीमा सस्मित पोखरेल नियुक्त — शिक्षा र खेलकुदमा राजनीतीकरण अन्त्य गर्ने प्रतिबद्धता

काठमाडौं। प्रतिनिधि सभा सदस्य सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन्। काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित पोखरेललाई बालेन्द्र शाह नेतृत्वको सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता पोखरेल शिक्षा र सार्वजनिक नीतिको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका व्यक्ति हुन्। उनले काठमाडौँ विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेका छन्।

यसअघि उनले काठमाडौँ महानगरपालिकामा शिक्षा सहायक विज्ञ तथा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरेका थिए। महानगरमा रहँदा कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई पारदर्शी ढंगले छात्रवृत्ति वितरण गर्ने कार्यको नेतृत्वसमेत गरेका थिए। यही कारणले पनि उनी शिक्षा व्यवस्थापन, पारदर्शिता र नीतिगत सुधारसँग जोडिएका युवा अनुहारका रूपमा परिचित छन्।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले शिक्षा र खेलकुद दुवै क्षेत्र सुधारका लागि विषयगत दक्षता, अनुभव र पेशागत क्षमताका आधारमा नेतृत्व अघि ल्याउनुपर्ने धारणा राखे। राष्ट्रिय खेलकुद परिषद् लगायत खेल क्षेत्रसँग सम्बन्धित संस्थाहरूमा दक्ष जनशक्तिलाई समेटेर अघि बढ्ने योजना रहेको पनि उनले बताएका छन्। खेल क्षेत्रको विकासका लागि सबैभन्दा पहिले त्यसमा जरो गाडेको राजनीतीकरण हटाउन आवश्यक रहेको उनको भनाइ छ।

मन्त्री पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मूल कारण पनि राजनीतीकरण नै भएको उल्लेख गरेका छन्। जहाँ राजनीति हुनुपर्ने हो त्यहाँ नहुने, र जहाँ हुन नहुने हो त्यहीँ भइरहेको अवस्थाले देशका धेरै पेशागत क्षेत्र प्रभावित भएको उनको भनाइ थियो।

उनका अनुसार अब खेलकुदमा खेल बुझेका, शिक्षा क्षेत्रमा शिक्षा बुझेका र सम्बन्धित क्षेत्रका विषयविज्ञहरूलाई प्राथमिकता दिएर संरचनागत सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ।

युवा नेतृत्वको प्रतिनिधित्व गर्ने सस्मित पोखरेलको नियुक्तिसँगै शिक्षा र खेलकुद क्षेत्रमा सुधार, पारदर्शिता र पेशागत प्रणाली निर्माणतर्फ नयाँ अपेक्षा जागेको छ। विशेषगरी शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै उनले नीतिगत सुधार, व्यवस्थापनको पारदर्शिता र संस्थागत प्रभावकारितामा कस्तो काम देखाउँछन् भन्ने विषयमा धेरैको चासो केन्द्रित भएको छ।