काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनतर्फ ऐतिहासिक प्रगति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्ने महत्त्वपूर्ण निर्णय गरेपछि आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुने बाटो खुलेको हो ।
मन्त्रालयका अनुसार विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय आधार, शैक्षिक संरचना तथा प्रशासनिक तयारीलाई मूर्त रूप दिने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ । निर्णयअनुसार विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित गरिएको छ भने आर्थिक वर्ष २०८२/८३ को जेठ र असार महिनाका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ ।
यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि माग गरिएको २ अर्ब ५३ करोड रुपैयाँ बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको मन्त्रालयले जनाएको छ ।
यो व्यवस्थासँगै आगामी शैक्षिक सत्रदेखि विश्वविद्यालयमा एमबीबीएसमा ५० सिट, नर्सिङमा ३० सिट, बीएस्सी एमएलटीमा २० सिट र बी अप्टोमेट्री (नेत्र विज्ञान) मा २० सिट मा अध्यापन सुरु गर्ने तयारी अघि बढाइएको छ ।
प्रतिनिधिसभा सदस्य केपी खनाल ले यस उपलब्धिलाई युगान्तकारी सफलता भन्दै प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको प्रतीक्षा अब अन्त्यतर्फ पुगेको उल्लेख गरेका छन् ।
नयाँ सरकार गठन भएलगत्तै विश्वविद्यालयको क्षमता विस्तार, शैक्षिक कार्यक्रम सञ्चालन र संरचनात्मक सुधारबारे छलफल सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, प्रतिनिधिसभा सदस्य केपी खनाल, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार तथा अन्य सरोकारवालाको टोलीबीच भएको छलफलमा विश्वविद्यालयको स्तरोन्नति गर्ने, अस्पतालको क्षमता १०० शय्याबाट ३०० शय्यामा विस्तार गर्ने तथा सेवालाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालिएको थियो ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि भएको यो निर्णयलाई सुदूरपश्चिमको स्वास्थ्य शिक्षा क्षेत्रमा नयाँ अध्यायका रूपमा हेरिएको छ ।