काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । बोर्डका अनुसार यस वर्षको एसईई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष एसईईका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन् ।
यस वर्ष परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ । बोर्डका अनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी हुँदैछन् । साथै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना परीक्षार्थीले पनि एसईई दिइरहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसईईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने व्यवस्था मिलाइएको जनाएको छ । बोर्डका अनुसार परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
एसईई सञ्चालनका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक केन्द्रमा १५ जना प्रहरी खटाइएको छ । साथै, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, प्रत्येक २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई जना कर्मचारी परिचालन गरिएको बोर्डले जनाएको छ ।