काठमाडौँ — नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले शैक्षिक सत्र २०८३ सम्बन्धी निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ।
केन्द्रले जारी गरेको पत्रमा शैक्षिक सत्र २०८३ को प्रभावकारी कार्यान्वयनका लागि विद्यालयहरूलाई आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ। साथै, विद्यालयहरूले शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।
पत्रअनुसार विद्यालयहरूले
वार्षिक कार्यतालिका तथा शैक्षिक योजना निर्माण/तयारी गर्ने,
विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक गर्ने,
शिक्षकको पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने,
र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्नुपर्नेछ।
केन्द्रले सार्वजनिक बिदाअनुसार शैक्षिक कार्यक्रम समायोजन गरी प्रभावकारी र उपलब्धिमूलक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न पनि आग्रह गरेको छ।
त्यस्तै, पत्रमा शैक्षिक सत्र २०८३ को भर्ना अभियान बैशाख १५ गतेबाट सुरु हुने र २०८३ बैशाख २१ गतेबाट पठनपाठन सुरु हुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
शिक्षा क्षेत्रमा योजनाबद्ध, व्यवस्थित र गुणस्तरीय शैक्षिक अभ्यासलाई अघि बढाउने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको केन्द्रले जनाएको छ