एजुकेशन एक्सिलेन्स अवार्ड्स सम्पन्न, शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्कुल तथा व्यक्तित्वहरु सम्मानित

एजुकेशन एक्सिलेन्स अवार्ड्स सम्पन्न, शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्कुल तथा व्यक्तित्वहरु सम्मानित

काठमाडौं — शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका विद्यालय, शिक्षक तथा विभिन्न क्षेत्रमा प्रभाव पारिरहेका व्यक्तिहरूलाई सम्मान गर्दै एजुकेशन एक्सिलेन्स अवार्ड्स, द १% अवार्ड्स समारोह तथा ‘द १% टिन’ पुस्तक लोकार्पण कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर  श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।

कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। सो क्रममा काठमाडौँ वर्ल्ड स्कुल, भक्तपुर लाई बेस्ट स्कुल अवार्ड तथा नवरत्न लाइफ स्कुल, भक्तपुरलाई स्कुल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो।

यसैगरी, काठमाडौंको न्यू जेनिथ इंग्लिस मोडेल स्कुल, समृद्धि स्कुल, लिभरपुल सेकेन्डरी स्कुल, रिभिएरा इन्टरनेशनल एकेडेमी, भक्तपुरको विनायक शिक्षा निकेतन, माउन्ट भ्यु स्कुल, क्वालिटी इंग्लिस सेकेन्डरी स्कुल, जनकपुरको मोडर्न इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुल, धनगढीको राइजिङ स्टार इंग्लिस बोर्डिङ स्कुल, मोरङको हिमालय इंग्लिस स्कुल लगायतलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमअन्तर्गत व्यक्तिगत विधामा पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। जसमा भुवनलाल श्रेष्ठलाई डाइनामिक प्रिन्सिपल अवार्ड, इ. डा. मिथिलेश कुमार झा लाई एडुकेटर अफ द इयर , रञ्जना प्रधान लाई प्रिन्सिपल अफ द इयर प्रदान गरिएको थियो।

यसका साथै गणेश बाबु पोखरेल, विनोद कुमार कोइराला, हिरा शर्मा नेपाल, रविन्द्र बस्नेत, अञ्जु भट्टराई, प्रमिला सिंह, मुकुन्दराज शर्मा, जय प्रकाश राई तथा श्याम कुमार यादव लगायतका व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

त्यस्तै, विभिन्न क्षेत्रमा निरन्तरता, अनुशासन र प्रभावका आधारमा द १% अवार्ड्स अन्तर्गत पनि विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। जसमा शिवलाल श्रेष्ठ, प्रा. तोया नारायण पौडेल, रोशन भट्टराई, सन्तोष ताम्राकार, आङ छिरिङ शेर्पा, जितेन्द्र यादव, लक्ष्मण पोखरेल, प्रशान्त मिस्ट, निर्णय एनएसके तथा कृष्णप्रसाद दुलाल रहेका छन्।

कार्यक्रमकै अवसरमा प्रेरणादायी पुस्तक द १% टिनको लोकार्पण गरिएको थियो। पुस्तकका लेखक सफ्रिन सिलवालले युवाहरूलाई आत्मविश्वास, अनुशासन र स्पष्ट लक्ष्यका साथ अघि बढ्न प्रेरित गर्ने उद्देश्यले पुस्तक लेखिएको बताए।

कार्यक्रममा जेभियर एकेडेमी र ब्रिज इन्टरनेशनल ले प्रायोजन गरेका थिए भने अलिशान फर्निचर वर्ल्ड, शिक्षालय कलेज र फेदर सोलुसन्सले सहकार्य गरेका थिए।

कार्यक्रममा शिक्षा क्षेत्रका अगुवा, विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान र प्रोत्साहन प्रदान गर्नुका साथै समग्र शिक्षा क्षेत्रलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।