डाइनामिक प्रिन्सिपल अवार्डबाट भुवनलाल श्रेष्ठ सम्मानित

डाइनामिक प्रिन्सिपल अवार्डबाट भुवनलाल श्रेष्ठ सम्मानित

भक्तपुरको बालकोटस्थित मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुलका संस्थापक प्राचार्य भुवनलाल श्रेष्ठ ‘डाइनामिक प्रिन्सिपल अवार्ड’ बाट सम्मानित भएका छन्।

शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठले विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२ अन्तर्गत उनलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रम एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको थियो।

श्रेष्ठले आफ्नो नेतृत्वमा विद्यालयलाई अनुशासन, शैक्षिक गुणस्तर र विद्यार्थीहरूको समग्र विकासतर्फ अघि बढाउँदै आएका छन्। उनी पाब्सन नेपालको उपमहासचिवको रूपमा समेत शिक्षा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनको निरन्तर समर्पण र नेतृत्वले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर  श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।

कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।