एडुकेटर अफ द इयर अवार्डबाट डा. मिथिलेश कुमार झा सम्मानित

एडुकेटर अफ द इयर अवार्डबाट डा. मिथिलेश कुमार झा सम्मानित

एक्सेल बिजनेस कलेजका प्रमुख कार्यकारी अधिकृत इ. डा. मिथिलेश कुमार झा ‘एडुकेटर अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन्।

शिक्षा व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार तथा संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत उनलाई सम्मान गरिएको हो।

डा. झाले शिक्षा क्षेत्रमा दीर्घकालीन अनुभवसहित अकादमिक नेतृत्व, शिक्षा अडिटिङ तथा अन्तर्राष्ट्रिय सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनले विभिन्न शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षातर्फ उन्मुख गराउन उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनको अनुभव, दृष्टिकोण र योगदानले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रभाव पारेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर  श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।

कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।