प्रभावकारी विद्यालय नेतृत्वको कदर — रञ्जना प्रधान ‘प्रिन्सिपल अफ द इयर’बाट सम्मानित
नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुलकी प्राचार्य रञ्जना प्रधान ‘प्रिन्सिपल अफ द इयर अवार्ड’बाट सम्मानित भएकी छिन्।
विद्यालय नेतृत्व, गुणस्तरीय शिक्षा र विद्यार्थी विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२ अन्तर्गत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
प्रधानले आफ्नो नेतृत्वमा विद्यालयलाई अनुशासन, शैक्षिक उत्कृष्टता तथा समग्र विकासतर्फ अग्रसर गराउँदै आएकी छन्। उनले विद्यार्थीहरूलाई सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन निरन्तर काम गर्दै आएकी छन्। उनको नेतृत्व क्षमता, समर्पण र निरन्तर प्रयासले विद्यालयलाई नयाँ उचाइमा पुर्याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।
कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।
