बनेपास्थित विद्यासागर सेकेन्डरी स्कुलका संस्थापक प्राचार्य हिरा शर्मा नेपाल ‘इननोभेटिभ एजुकेटर अवार्ड’बाट सम्मानित भएका छन्।
शिक्षा क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका नेपालले नवप्रवर्तनशील शिक्षण पद्धति, विद्यालय विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
एजुकेशन दैनिकद्वारा आयोजित एजुकेशन एक्सिलेन्स अवार्ड्स २०८२ अन्तर्गत उनलाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालले आफ्नो नेतृत्वमा विद्यासागर सेकेन्डरी स्कुललाई सिर्जनात्मक शिक्षण, व्यावहारिक सिकाइ तथा विद्यार्थी केन्द्रित वातावरणतर्फ अग्रसर गराउँदै आएका छन्। उनले परम्परागत शिक्षण पद्धतिभन्दा फरक सोच र अभ्यासमार्फत विद्यार्थीहरूलाई सक्रिय, आत्मविश्वासी र सक्षम बनाउने प्रयास गर्दै आएका छन्।
उनको दीर्घ अनुभव, नवप्रवर्तनशील सोच र शिक्षा क्षेत्रमा निरन्तर समर्पणले सकारात्मक प्रभाव पारेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षा क्षेत्रमा गुणस्तर, नेतृत्व र नवप्रवर्तनको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताए। उनले शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन शिक्षक, संस्था र नेतृत्वकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
त्यस्तै, विशिष्ट अतिथि प्रोफेसर डाक्टर श्रीराम भगत माथेले शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र नवप्रवर्तनलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरूले उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान र प्रेरणा प्रदान गर्ने बताए।
कार्यक्रममा देशभरका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई एजुकेशन एक्सिलेन्स अवार्ड्स अन्तर्गत सम्मान गरिएको थियो। उक्त कार्यक्रम एजुकेशन दैनिकद्वारा आयोजना गरिएको हो भने एक्जिटो एजुकेशनको प्रस्तुतिमा तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न भएको हो।