काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्योसले शिष्टाचार भेटवार्ता गरेकी छन्।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदलगायतका क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तामा विशेषगरी वर्तमान सरकारको प्राथमिकता, नेपालको विद्यालय शिक्षामा नर्वेले गर्दै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीका विषयमा छलफल भएको थियो।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षा क्षेत्रमा नर्वे सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले विशेषगरी समावेशिता, समता, आधारभूत सिकाइ, ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’ लगायतका क्षेत्रमा नर्वेको सहयोग महत्वपूर्ण रहेको बताए।
मन्त्री पोखरेलले नर्वेको शिक्षा प्रणाली उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालले उक्त प्रणाली र प्रविधिबाट धेरै कुरा सिक्न सक्ने बताए। त्यसका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
भेटमा राजदूत म्योसले नेपालको विद्यालय शिक्षामा नर्वेले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाल सरकारका एक सय बुँदे प्राथमिकताबारे आफू जानकार रहेको बताउँदै शिक्षा क्षेत्रमा थप सहकार्य गर्न नर्वे सरकार उत्सुक रहेको बताइन्।
भेटवार्ताले नेपाल र नर्वेबीच शिक्षा क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।