पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीबीच पाँच वर्षका लागि सम्झौता नवीकरण भएको छ। पोखरामा आयोजित एक कार्यक्रमबीच शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले सन्दीपसँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको हो।
यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षका लागि सम्झौता गरेको थियो। उक्त सम्झौताको अवधि बाँकी रहँदै ब्रिजले सन्दीपसँगको सहकार्यलाई थप पाँच वर्षका लागि निरन्तरता दिएको हो।
सम्झौता पत्रमा ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरी र क्रिकेटर सन्दीप लामिछानेले हस्ताक्षर गरेका थिए। कार्यक्रममा बोल्दै ब्रिज इन्टरनेशनलका सिइओ गिरीले पाँच वर्षका लागि भएको यो सम्झौता नेपालको खेलकुद क्षेत्रमा लामो अवधिको महत्वपूर्ण सहकार्य भएको बताए।
गिरीले सन्दीपसँग पहिलो पटक सम्झौता गर्दा आफूहरूका लागि गर्वको क्षण भएको स्मरण गर्दै पुनः पाँच वर्षका लागि सम्झौता नवीकरण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए। उनले भने, “हामीले करिब दुई वर्षअघि सम्झौता गरेका थियौँ। कति छिटो समय बित्यो पत्तै भएन। हाम्रो सहकार्यलाई अझ लामो समय निरन्तरता दिनका लागि हामीले केही समयअघि नै सम्झौता नवीकरण गरेका हौँ।”
गिरीले सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमार्फत नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सन्दीपले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै शिक्षा र खेलकुदलाई जोड्ने उद्देश्यले ब्रिज इन्टरनेशनलले ‘राइजिङ एण्ड साइनिङ विथ एस २५’ कार्यक्रमसमेत अघि सारेको जानकारी दिए।

उनका अनुसार उक्त कार्यक्रममार्फत प्रत्येक प्रदेशमा पुगेर प्रतिभावान क्रिकेट खेलाडीहरूको खोजी गरिनेछ। कम्तीमा पाँच जना प्रतिभावान खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको गिरीले बताए। उनले भने, “क्रिकेटप्रतिको माया र मोह खेलमै जोडिइरहोस् भन्ने उद्देश्यले हामीले सन्दीपजस्तै अन्य प्रतिभावान क्रिकेटर उत्पादन गर्न चाहेका छौँ। शिक्षा र खेलकुदलाई जोड्दै कम्तीमा पाँच जना खेलाडीलाई छात्रवृत्ति दिने हाम्रो योजना छ।”
ब्रिज इन्टरनेशनलका अध्यक्ष महेश गिरीले सन्दीपसँगको सम्झौता केवल हस्ताक्षरमा सीमित नभई दीर्घकालीन सहकार्यको प्रतीक भएको बताए। उनले यो सहकार्यलाई संस्थागत जिम्मेवारी र साझा यात्राको रूपमा अघि बढाइने उल्लेख गरे।
क्रिकेटर सन्दीप लामिछानेले कठिन समयमा ब्रिज इन्टरनेशनलले आफूलाई साथ दिएको स्मरण गर्दै यो सम्झौता केवल व्यावसायिक सम्बन्ध नभई परिवारजस्तै सम्बन्ध भएको बताए। उनले भने, “म कुनै समय कठिन अवस्थामा हुँदा लडेको बेला उठाउने काम ब्रिजले गर्यो। यो सम्झौताले मलाई जुन जिम्मेवारी दिएको छ, त्यसलाई अटुट सम्बन्धका रूपमा अघि बढाउनेछु।”
सन्दीपले ब्रिज इन्टरनेशनलले आफूलाई विश्वास गरेर पुनः पाँच वर्षका लागि सम्झौता नवीकरण गरेकोमा आभार व्यक्त गरे। उनले आफूले जहिले पनि नेपालका लागि इमानदारीपूर्वक प्रतिनिधित्व गर्ने बताए। “मलाई तपाईंहरूले यो जिम्मेवारी दिनुभएको छ। म जब नेपालको प्रतिनिधित्व गर्छु, सधैँ नेपाल र नेपालप्रति इमानदार रहनेछु,” उनले भने।
सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका छन्। उनले ७३ खेलमा उक्त उपलब्धि हासिल गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा बनाएको कीर्तिमान तोडेका थिए। त्यस्तै, सन्दीपको नाममा ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमानसमेत छ।
सम्झौता कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, प्रदेश सांसद टीका माया बस्याल, डाइरेक्टर अफ ग्लोबल बिजनेस एन्ड रिलेसन्स एन्ड्रिउ हप्किन्स, एनआरएनएका प्रवक्ता सोमप्रसाद सापकोटा, नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति थियो।
कार्यक्रमका वक्ताहरूले सन्दीप लामिछानेले नेपाली क्रिकेटमा पुर्याएको योगदान र विश्वमञ्चमा नेपाललाई चिनाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए।