शिक्षा मन्त्री पोखरेल र इयू सम्बद्ध कूटनीतिज्ञहरूबीच भेटवार्ता

शिक्षा मन्त्री पोखरेल र इयू सम्बद्ध कूटनीतिज्ञहरूबीच भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले युरोपेली सङ्घ (इयू) सम्बद्ध विभिन्न मुलुकका राजदूत, डेपुटी हेड अफ मिसनलगायत कूटनीतिज्ञहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा भएको भेटवार्तामा नेपालको शिक्षा क्षेत्र सुधार, शिक्षामा समावेशिता, पूर्वाधार विकास र शिक्षकको पेसागत विकासका विषयमा छलफल भएको थियो। भेटमा नेपाल र युरोपेली सङ्घ सम्बद्ध राष्ट्रहरूबीच शिक्षा क्षेत्रमा सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल सरकार शिक्षा सुधारका लागि प्रतिबद्ध रहेको बताउँदै समावेशी, गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, शिक्षकको क्षमता अभिवृद्धि तथा सबै वर्गका विद्यार्थीको पहुँच सुनिश्चित गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए।

मन्त्री पोखरेलले नेपालको शिक्षा विकासमा युरोपेली सङ्घ तथा इयू सम्बद्ध राष्ट्रहरूले गर्दै आएको सहकार्यप्रति धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनमा पनि शिक्षा सुधारका क्षेत्रमा थप सहकार्य र साझेदारीका लागि नेपाल सरकार तयार रहेको उनले बताए।

भेटवार्तामा सहभागी कूटनीतिज्ञहरूले नेपालको शिक्षा क्षेत्रमा भइरहेका सुधार प्रयास, समावेशी शिक्षाको प्रवर्द्धन र गुणस्तरीय शिक्षाका लागि आवश्यक सहकार्यका विषयमा चासो व्यक्त गरेका थिए।

मन्त्रालयका अनुसार उक्त भेटले नेपाल र युरोपेली सङ्घ सम्बद्ध राष्ट्रहरूबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर थप सुदृढ गर्ने विश्वास लिइएको छ।