शिक्षा सुधारको वास्तविक आधार शिक्षकको क्षमता, प्रेरणा र शिक्षण शैलीमा निर्भर हुन्छ। सक्षम शिक्षकबिना उत्कृष्ट पाठ्यक्रम, आधुनिक भवन वा नयाँ नीति पनि कक्षाकोठामा प्रभावकारी बन्न सक्दैन।
पूर्वीय दर्शनमा शिक्षक अर्थात् गुरुलाई अत्यन्त उच्च र सम्मानित स्थान दिइएको छ। यस दृष्टिकोणलाई संस्कृत श्लोक “गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः” ले स्पष्ट रूपमा अभिव्यक्त गर्छ। हिन्दु दर्शनमा ब्रह्माजीलाई सृष्टिकर्ता मानिन्छ। शिक्षकले विद्यार्थीभित्र रहेको अन्तर्निहित क्षमता, जिज्ञासा र सिर्जनशीलतालाई उजागर गरी ज्ञानको निर्माण गरिदिन्छन्। विद्यार्थीमा प्रश्न गर्ने, सोच्ने र खोजी गर्ने संस्कार विकास गराउँछन्। यस अर्थमा शिक्षक सिकाइका सृष्टिकर्ता हुन्। भगवान् विष्णुलाई पालनकर्ता मानिन्छ। शिक्षकले विद्यार्थीको सिकाइ यात्रालाई निरन्तर सहयोग गर्छन्। विद्यार्थीको आत्मविश्वास बढाउँछन्। कठिनाइ र चुनौतीमा साथ दिन्छन्। यस अर्थमा शिक्षक सिकाइका पालनकर्ता हुन्। त्यसैगरी भगवान् शिवलाई अज्ञान, भ्रम र विकृतिको विनाश गर्ने देवता मानिन्छ। शिक्षकले पनि विद्यार्थीको अज्ञानता हटाई ज्ञानको ज्योति फैलाउँछन्। आलोचनात्मक सोच विकास गराउँछन्। गलत धारणा र भ्रमलाई नाश गरिदिन्छन्। यस अर्थमा शिक्षक सिकाइका तगाराहरूलाई नाश गरी अघि बढाउने व्यक्ति हुन्। यो श्लोकले शिक्षकलाई ज्ञानका सर्जक, सिकाइका संरक्षक र जीवनका रूपान्तरणकर्ताका रूपमा चित्रण गरेको छ।
त्यसैगरी “गुरुः साक्षात् परं ब्रह्म” भन्ने भावले गुरु स्वयं ब्रह्मको प्रत्यक्ष रूप हो भन्ने दाबी गरेको छ। यसले शिक्षकलाई मानव जीवनमा ज्ञान, विवेक र आत्मविकासतर्फ मार्गदर्शन गर्ने महत्वपूर्ण शैक्षिक शक्ति तथा प्रेरणाको स्रोतका रूपमा चित्रण गर्छ। साथै यस भावले शिक्षकको भूमिकालाई प्रेरणादायी र नैतिक नेतृत्वका रूपमा प्रस्तुत गरेको छ। पूर्वीय दर्शनमा गुरु ज्ञान दिने मात्र होइन, जीवन परिवर्तन गर्ने शक्ति हुन्। गुरुको भूमिका केवल पाठ्यवस्तु शिक्षण गर्ने व्यक्तिमा सीमित नभई विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने मार्गदर्शकको भूमिकामा केन्द्रित रहेको पाइन्छ। यसले विद्यार्थीको सिकाइमा शिक्षकको भूमिका अहम रहने कुरालाई थप प्रस्ट पार्छ।
नेपालमा शिक्षा सुधारको बहस वर्षौंदेखि चलिरहेको छ। नयाँ पाठ्यक्रम, आधुनिक भवन, प्रविधिमैत्री कक्षा र परीक्षा प्रणालीका विषयमा धेरै चर्चा हुने गरेका छन्। तर शिक्षा प्रणालीको वास्तविक गुणस्तर निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षक हो। शिक्षककै बारेमा भने कमै बहस हुने गरेको छ। कक्षाकोठामा विद्यार्थीले ज्ञान मात्र निर्माण गर्दैनन्; उनीहरूले सोच्ने तरिका, आत्मविश्वास, अनुशासन, जिज्ञासा र जीवनप्रतिको दृष्टिकोण पनि निर्माण गरिरहेका हुन्छन्। त्यसैले शिक्षकको क्षमता, व्यवहार र शिक्षण शैलीले विद्यार्थीको भविष्य निर्माणमा गहिरो प्रभाव पार्छ। शिक्षक प्रेरणादायी, सक्षम र जिम्मेवार भए भने सामान्य स्रोतसाधन भएका विद्यालयले पनि उत्कृष्ट परिणाम दिन सक्छन्। शिक्षक कमजोर भए भने राम्रो पाठ्यक्रम, महँगा किताब वा आकर्षक भवनले मात्र शिक्षा र सिकाइ सुधार सम्भव हुँदैन। शिक्षा केवल अङ्क प्राप्त गर्ने प्रक्रिया होइन। यो सोच निर्माण गर्ने, व्यक्तित्व विकास गर्ने र समाजका लागि जिम्मेवार नागरिक तयार गर्ने माध्यम हो। त्यसैले सिकाइ सुधारको मूल केन्द्र शिक्षक नै हुन्।
आज नेपालका धेरै विद्यालयमा देखिएको मुख्य चुनौती पाठ्यक्रमलाई प्रभावकारी रूपमा कक्षाकोठामा कसरी प्रस्तुत गर्ने भन्ने हो। विद्यार्थीको सिकाइ तब मात्र अर्थपूर्ण हुन्छ, जब शिक्षकले विषयलाई जीवनसँग जोडेर बुझाउन सक्छन्, विद्यार्थीलाई प्रश्न गर्न प्रेरित गर्छन् र सिकाइलाई सक्रिय अनुभवमा रूपान्तरण गर्छन्। शिक्षक कमजोर हुँदा विद्यार्थीको आत्मविश्वास घट्छ। सिकाइप्रति रुचि हराउँछ र शिक्षा केवल परीक्षा पास गर्ने माध्यममा सीमित हुन्छ। त्यसैले शिक्षा सुधारको चर्चा गर्दा शिक्षकको गुणस्तर, व्यवहारिक तालिम, विद्यालय नेतृत्व र राजनीतिक हस्तक्षेपजस्ता विषयलाई केन्द्रमा राख्न आवश्यक छ। राष्ट्रको भविष्य निर्माण हुने स्थान कक्षाकोठा हो। त्यो भविष्य निर्माण गर्ने प्रमुख शक्ति शिक्षक हुन्। यही कारणले सिकाइ सुधारको आधार शिक्षकको क्षमता, प्रतिबद्धता र शिक्षण प्रक्रियाको गुणस्तरमा निर्भर हुन्छ। शिक्षक कुनै पनि शिक्षा प्रणालीको केन्द्रबिन्दु हुनुपर्छ।
विद्यार्थीले विद्यालयमा सबैभन्दा धेरै प्रभाव कुनै व्यक्तिबाट ग्रहण गर्छ भने त्यो शिक्षकबाट नै हो। जब शिक्षक कमजोर हुन्छन् अर्थात् विषयवस्तु राम्ररी बुझाउन सक्दैनन्, विद्यार्थीको मनोविज्ञान बुझ्दैनन्, प्रेरणा दिन सक्दैनन् वा केवल किताब पढाएर सकाउने काम मात्र गर्छन्, त्यसको प्रत्यक्ष असर विद्यार्थीको आत्मविश्वासमा पर्छ। विद्यार्थीले आफूले नबुझेको विषयलाई आफ्नै कमजोरी ठान्न थाल्छ। जबकि समस्या प्रायः सिकाउने तरिकामा हुन्छ। कक्षामा शिक्षकले “तिमीले सक्दैनौ”, “तिमी कमजोर छौ” जस्ता शब्द प्रयोग गर्दा विद्यार्थीभित्र डर र हीनताबोध बढ्छ। त्यसको विपरीत, राम्रो शिक्षकले सामान्य विद्यार्थीलाई पनि “म गर्न सक्छु” भन्ने विश्वास दिलाउँछ। यसले सिकाइमा शिक्षकको भूमिका थप स्पष्ट पार्छ।
शिक्षा सुधार भनेको केवल परीक्षामा उच्च अङ्क ल्याउने व्यवस्था बनाउनु मात्र होइन। यदि विद्यार्थीले केवल घोकन्ते शैलीमा अङ्क ल्यायो तर उसमा प्रश्न गर्ने क्षमता, सिर्जनशील सोच, समस्या समाधान गर्ने बानी, सामाजिक जिम्मेवारी र नैतिक चेतना विकास भएन भने त्यो शिक्षा अधुरो हुन्छ। नेपालमा लामो समयदेखि शिक्षालाई अङ्क र प्रमाणपत्रसँग जोडेर हेरिएको छ। अभिभावक, विद्यालय र कहिलेकाहीँ सरकारसमेतले सफलतालाई प्रतिशतले मापन गर्छन्। तर वास्तविक शिक्षा भनेको सोच परिवर्तन हो। विद्यार्थीलाई स्वतन्त्र रूपमा सोच्न, तर्क गर्न, नयाँ विचार सिर्जना गर्न र समाजप्रति उत्तरदायी बन्न सिकाउनु हो।
यदि विद्यार्थीले केवल परीक्षा पास गर्न पढ्छ भने ऊ जीवनका चुनौतीसँग जुध्न सक्षम बन्न सक्दैन। त्यसैले शिक्षा सुधारको मूल लक्ष्य विद्यार्थीको सोचाइको स्तर उकास्नु हुनुपर्छ। यसका लागि शिक्षकले कक्षालाई केवल पाठ पढाउने ठाउँ नभई संवाद, खोज, अनुसन्धान र प्रेरणाको केन्द्र बनाउन आवश्यक हुन्छ। विद्यार्थीले गल्ती गर्न पाउने, प्रश्न गर्न पाउने र आफ्नो विचार व्यक्त गर्न पाउने वातावरण सिर्जना हुँदा मात्र आत्मविश्वास बढ्छ। त्यसैले शिक्षकको गुणस्तर सुधार गर्नु भनेको केवल शिक्षकलाई राम्रो तलब दिनु मात्र होइन, उनीहरूलाई विद्यार्थीको जीवन निर्माणकर्ता भन्ने दृष्टिले हेर्नु पनि हो। राष्ट्रको भविष्य आत्मविश्वासी, सिर्जनशील र जिम्मेवार नागरिकमा निर्भर हुन्छ, र त्यस्ता नागरिक निर्माण गर्ने पहिलो शक्ति शिक्षक नै हुन्।
शिक्षा सुधारको सबैभन्दा महत्वपूर्ण आधार शिक्षकको गुणस्तर नै हो। शिक्षक राम्रो नभएसम्म कुनै पनि देशको शिक्षा प्रणाली प्रभावकारी बन्न सक्दैन भन्ने कुरा आज स्थापित भइसकेको छ। नेपालमा शिक्षासम्बन्धी धेरै बहस गरिए। पाठ्यक्रम परिवर्तन, नयाँ नीति, विद्युतीय शिक्षा, प्रविधि प्रयोग आदि सदाबहार बहसका विषय हुन्। तर शिक्षकको गुणस्तर सुधारमा कमै बहस भएको पाइन्छ। यदि कक्षाकोठामा उभिएको शिक्षक नै सक्षम, प्रेरित र व्यवहारिक भएन भने सुधारका प्रयास निरर्थक हुन्छन्। ती सबै योजना कागजमै सीमित रहन्छन्। राम्रो शिक्षक बनाउन सबैभन्दा पहिले प्रणाली सुधारिनुपर्छ। नेपालमा शिक्षक नियुक्ति, सरुवा, बढुवा र मूल्याङ्कन प्रक्रियामा अझै पनि पारदर्शिता र व्यावसायिकता कमजोर देखिन्छ। कतिपय अवस्थामा राजनीतिक पहुँच, सम्बन्ध वा दबाबका आधारमा निर्णय हुने गुनासो सुनिन्छ। यस्तो वातावरणले योग्य र मेहनती शिक्षकलाई निरुत्साहित बनाउँछ।
शिक्षकले आफ्नो पेशालाई सम्मानित र सुरक्षित महसुस गर्न पाएनन् भने उनीहरूबाट उच्च गुणस्तरको शिक्षण अपेक्षा गर्न सकिँदैन। त्यसैले शिक्षक व्यवस्थापन प्रणाली निष्पक्ष, उत्तरदायी र दक्षतामुखी हुनुपर्छ। शिक्षकलाई दक्ष बनाउने अर्को महत्वपूर्ण पक्ष शिक्षक तालिम हो। नेपालमा धेरै शिक्षक तालिमहरू औपचारिकता पूरा गर्ने शैलीमा सञ्चालन हुने गरेको पाइन्छ। शिक्षक तालिमको विषय आधुनिक शिक्षण विधि, विद्यार्थी मनोविज्ञान, प्रविधिको प्रयोग, समावेशी शिक्षा र व्यवहारिक कक्षाकोठा व्यवस्थापनजस्ता विषयहरू रहनुपर्छ। शिक्षकले तालिमपछि आफ्नो कक्षामा वास्तविक परिवर्तन ल्याउन सक्नुपर्छ। केवल प्रमाणपत्र बाँड्ने तालिमले शिक्षा सुधार हुँदैन।हाम्रो शिक्षा प्रणाली चरम राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेको छैन। शिक्षा प्रणालीमा राजनीतिक हस्तक्षेप रोक्नु पनि अत्यन्त आवश्यक छ। विद्यालय र शिक्षकलाई राजनीतिक प्रतिस्पर्धाको मैदान बनाउँदा शैक्षिक वातावरण कमजोर हुन्छ। शिक्षकले आफ्नो समय र ऊर्जा विद्यार्थीको सिकाइमा केन्द्रित गर्नुपर्ने हो, तर राजनीतिक दबाबले गर्दा उनीहरूको ध्यान विचलित भइरहेको छ।
नेपालले यदि साँच्चिकै शिक्षा सुधार चाहने हो भने पहिलो प्राथमिकता कक्षाकोठा र शिक्षकलाई दिनुपर्छ। किनभने राष्ट्रको भविष्य कुनै ठूलो भवन, नीति दस्तावेज वा भाषणमा होइन, दैनिक रूपमा चल्ने कक्षाकोठामा निर्माण हुन्छ। एउटा विद्यार्थीले दिनको धेरै समय विद्यालयमा बिताउँछ। त्यो अवधिमा उसले संसारलाई हेर्ने दृष्टिकोण निर्माण गरिरहेको हुन्छ। शिक्षकको पढाउने शैली, व्यवहार, मूल्य र सोचले विद्यार्थीको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्छ। कक्षाकोठा प्रेरणादायी छ भने विद्यार्थीमा जिज्ञासा, अनुशासन, सिर्जनशीलता र नेतृत्व विकास हुन्छ। कक्षाकोठा डर, घोकन्ते अभ्यास र निष्क्रियताले भरिएको छ भने विद्यार्थी केवल परीक्षा पास गर्ने मेसिनजस्तै बन्न सक्छ। नेपालमा शिक्षा सुधारका नाममा धेरै पटक संरचनात्मक परिवर्तन गरिए। नयाँ पाठ्यक्रम, नयाँ परीक्षा प्रणाली र नयाँ नीतिहरू लागू गरिए। तर धेरै विद्यालयमा विद्यार्थीको सिकाइ अनुभव अझै कमजोर छ। वास्तविक परिवर्तन कक्षाकोठासम्म पुग्न सकेको छैन। शिक्षकलाई पर्याप्त स्रोत, तालिम र प्रेरणा नदिई केवल नीति परिवर्तन गर्दा अपेक्षित परिणाम आउँदैन।
“राष्ट्रको भविष्य कुनै ठूलो भवन, नीति दस्तावेज वा भाषणमा होइन, दैनिक रूपमा चल्ने कक्षाकोठामा निर्माण हुन्छ।”
त्यसैले शिक्षकलाई राष्ट्र निर्माणको मुख्य शक्ति मानेर लगानी गर्न आवश्यक छ। ग्रामीण क्षेत्रका धेरै विद्यालयमा अझै पनि शिक्षक अभाव, कमजोर पूर्वाधार र सिकाइ सामग्रीको कमी छ। सबैभन्दा ठूलो समस्या कहिलेकाहीँ प्रेरणाहीन शिक्षण पद्धति हुन्छ। यदि शिक्षक प्रेरित र दक्ष छन् भने सीमित स्रोतमा पनि राम्रो शिक्षा सम्भव हुन्छ।
विश्वका धेरै सफल शिक्षा प्रणालीहरूले शिक्षकलाई उच्च सम्मान, अर्थपूर्ण तयारी र निरन्तर व्यावसायिक विकासको अवसर दिएको पाइन्छ। नेपालले पनि शिक्षक पेशालाई आकर्षक, सम्मानित र उत्तरदायी बनाउन आवश्यक छ।
“जब शिक्षक सक्षम हुन्छन्, तब विद्यार्थी सक्षम हुन्छन्। जब विद्यार्थी सक्षम हुन्छन्, तब राष्ट्र सक्षम बन्छ।”
त्यसैले शिक्षा सुधारको केन्द्रमा कक्षाकोठा र शिक्षक राख्नु भविष्य निर्माणको सबैभन्दा बुद्धिमानी कदम हो।
पाठ्यक्रम राम्रो हुनु, किताब आकर्षक हुनु वा विद्यालय भवन आधुनिक हुनु शिक्षा प्रणालीका महत्वपूर्ण पक्ष हुन्। यी सबै कुरा तब मात्र अर्थपूर्ण हुन्छन्, जब कक्षामा पढाउने शिक्षक सक्षम हुन्छन्। यदि शिक्षकले विषयवस्तु बुझाउन सक्दैनन्, विद्यार्थीलाई सहभागी बनाउन सक्दैनन् वा सिकाइलाई जीवनसँग जोड्न सक्दैनन् भने उत्कृष्ट पाठ्यक्रम पनि केवल कागजको सजावट बनेर रहन्छ।
किताबमा लेखिएको ज्ञानलाई जीवन्त अनुभवमा बदल्ने काममा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। शिक्षकले उदाहरण, छलफल, प्रयोग, कथा र गतिविधिमार्फत विद्यार्थीलाई सिकाउँछन्। यदि शिक्षक केवल किताब पढेर सुनाउने भूमिकामा सीमित भए भने विद्यार्थीको सिकाइ सतही हुन्छ। उनीहरूले घोक्छन्, परीक्षा दिन्छन् र बिर्सिन्छन्। तर जब शिक्षकले विषयलाई व्यवहारिक जीवनसँग जोड्छन्, विद्यार्थीले त्यसलाई बुझ्छन् र प्रयोग गर्न सिक्छन्।
उदाहरणका लागि विज्ञानको पाठ केवल परिभाषा सम्झिने विषय होइन। त्यो त अवलोकन, प्रयोग र जिज्ञासाको विषय हो। यदि शिक्षकले प्रयोग गराएनन् भने विज्ञान केवल शब्दमा सीमित हुन्छ। त्यस्तै सामाजिक शिक्षा केवल इतिहासका मिति याद गर्ने विषय होइन। त्यो समाज बुझ्ने चेतना हो। त्यसैले शिक्षाको गुणस्तर निर्धारण गर्ने मुख्य तत्व शिक्षकको शिक्षण क्षमता हो।
नेपालका धेरै विद्यालयमा समस्या पाठ्यक्रमको कमजोरीभन्दा पनि शिक्षण प्रक्रियाको कमजोरी रहेको पाइन्छ। शिक्षकले विद्यार्थीको स्तरअनुसार सिकाउन नसक्दा, सक्रिय सहभागिता गराउन नसक्दा र सिर्जनात्मक विधि प्रयोग नगर्दा सिकाइ प्रभावकारी भएको छैन। त्यसैले शिक्षा सुधारको बहस केवल किताब र नीतिमा सीमित हुनु हुँदैन। कक्षाकोठामा विद्यार्थीले कसरी सिकिरहेका छन् ? शिक्षकले कसरी पढाइरहेका छन् ? भन्ने विषयमा हुनुपर्छ। जबसम्म शिक्षण प्रक्रियालाई सुधारको केन्द्रमा राखिँदैन, तबसम्म बाहिरी सुधारहरूले अपेक्षित परिवर्तन ल्याउन सक्दैनन्।
शिक्षा केवल संरचना होइन। त्यो जीवित प्रक्रिया हो, र त्यो प्रक्रियाको आत्मा शिक्षक हुन्।
सिकाइ सुधारको वास्तविक आधार शिक्षक नै हुन्। शिक्षा सुधारलाई केवल पाठ्यक्रम परिवर्तन, नयाँ भवन निर्माण वा परीक्षा प्रणाली सुधारको सीमित दायरामा बुझ्नु मिल्दैन। कक्षाकोठामा उभिएको शिक्षक सक्षम, प्रेरणादायी र जिम्मेवार भएन भने बाहिरी सुधारहरूले अपेक्षित परिणाम दिन सक्दैनन्। विद्यार्थीको आत्मविश्वास निर्माण गर्ने, उसलाई प्रश्न गर्न प्रेरित गर्ने, सिर्जनशील सोच विकास गराउने र जीवनोपयोगी सीप सिकाउने काम शिक्षकले नै गर्छन्। त्यसैले शिक्षा सुधारको केन्द्रमा शिक्षकको गुणस्तर, शिक्षण पद्धति र कक्षाकोठाको वातावरणलाई राख्न आवश्यक छ। शिक्षकलाई केवल पाठ पढाउने कर्मचारीका रूपमा होइन, राष्ट्र निर्माण गर्ने मुख्य शक्ति र भविष्यका नागरिक निर्माणकर्ताका रूपमा हेरिनुपर्छ।
राज्यले गुणस्तरीय शिक्षा प्रणाली चाहने हो भने शिक्षकमै लगानी बढाउनुपर्छ। शिक्षक तालिम व्यवहारिक र प्रभावकारी हुनुपर्छ। विद्यालय नेतृत्व सक्षम र उत्तरदायी हुनुपर्छ तथा शिक्षामा हुने राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्छ। कक्षाकोठामा विद्यार्थीले सुरक्षित, सम्मानित र सक्रिय महसुस गर्ने वातावरण सिर्जना गर्न सके मात्र वास्तविक सिकाइ सम्भव हुन्छ। राम्रो शिक्षकले सीमित स्रोतसाधनमा पनि उत्कृष्ट परिणाम दिन सक्छन्। कमजोर शिक्षकले उत्कृष्ट स्रोतलाई पनि प्रभावहीन बनाइदिन सक्छन्। त्यसैले राष्ट्रको भविष्य उज्ज्वल बनाउन सबैभन्दा पहिले कक्षाकोठा बलियो बनाउनुपर्छ। कक्षाकोठा बलियो बनाउने मुख्य आधार सक्षम शिक्षक हुन्। शिक्षा प्रणालीको आत्मा शिक्षक नै भएकाले सिकाइ सुधारको प्रत्येक प्रयास शिक्षक सशक्तीकरणबाट सुरु हुनुपर्छ।
विद्यार्थीको सिकाइमा शिक्षकको भूमिका अहम नै हुन्छ। संस्कृतमा पनि भनिएको छ, “गुरुणा हि समं नास्ति त्रिषु लोकेषु किञ्चन” अर्थात् तीन लोकमा गुरु समान कोही छैन। यसो भनिए तापनि ज्ञान निर्माण केवल शिक्षकबाट मात्र सम्भव हुन्छ भनियो भने त्यो अतिशयोक्ति हुन्छ। विद्यार्थीको ज्ञान निर्माणमा शिक्षकको भूमिका प्रमुख रहने भए पनि केवल गुरुबाट मात्र ज्ञान निर्माण हुँदैन। विद्यार्थीको आफ्नै प्रयास, साथीहरूसँगको सहकार्य र समय तथा अनुभवबाट पनि सिकाइ हुन्छ। ज्ञान निर्माण हुन्छ। प्रसिद्ध संस्कृत सूक्ति “आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया । पादं सब्रह्मचारिभ्यः पादं कालक्रमेण च ।” ले सिकाइको प्रक्रिया कसरी विकसित हुन्छ भन्ने कुरा अत्यन्त गहिरो रूपमा व्याख्या गरेको छ। विद्यार्थीले एक चौथाइ ज्ञान गुरुबाट, एक चौथाइ आफ्नै बुद्धिबाट, एक चौथाइ साथीहरूबाट र बाँकी समयसँगै सिक्छ भन्ने भनाइ छ।
माथि उल्लेख गरिएको संस्कृत सूक्तिले शिक्षकको भूमिकालाई महत्वपूर्ण स्थान दिए पनि शिक्षक मात्र सम्पूर्ण ज्ञानका एक मात्र स्रोत भने होइनन्। शिक्षकले बाटो देखाउने काम गर्छन्। विद्यार्थी सक्रिय भएन भने शिक्षकले मात्र सिकाउन सक्दैनन्।
लेखकको परिचय : मेदिनबहादुर लामिछाने युलेन्स एजुकेशन फाउन्डेशनमा चिफ एकेडेमिक अफिसर तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा कार्यरत हुनुहुन्छ। साथै उहाँ काठमाडौं विश्वविद्यालयमा विद्यावारिधिको शोधार्थीसमेत हुनुहुन्छ। यस लेखमा व्यक्त विचार उहाँका निजी विचार हुन्।