काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेश गरिएका कागजात झुठो भेटिएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग काठमाडौंको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा मन्त्रालयमा पेश गरिएका पत्र तथा संलग्न कागजात जाँचबुझ गर्दा झुठो पाइएका हुन्।
मन्त्रालयले झुठो कागजातका आधारमा अध्ययन भिसाका लागि सिफारिस गरिएका कुनै पनि विदेशी नागरिकको भिसासम्बन्धी थप कारबाही अगाडि नबढाउन अध्यागमन विभागलाई अनुरोध गरिएको जनाएको छ।
त्यस्तै, झुठो कागजात पेश गर्ने व्यक्ति वा संस्थामाथि छानबिन गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयसमक्ष अनुरोध गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले यस्ता नक्कली कागजात पेश गर्ने वा गराउने तत्वहरूसँग सजग रहन तथा शंकास्पद कार्यप्रति गहन निगरानी राख्न सम्बन्धित सबै व्यक्ति तथा संस्थालाई विशेष अनुरोधसमेत गरेको छ।