कृत्रिम बौद्धिकता (एआई) ले बदल्दै विद्यालयको भूमिका र सिकाइ

कृत्रिम बौद्धिकता (एआई) ले बदल्दै विद्यालयको भूमिका र सिकाइ

एआईले सूचना सजिलै उपलब्ध गराए पनि विद्यालयको मूल भूमिका अब विद्यार्थीमा विवेक, प्रश्न गर्ने क्षमता, सिर्जनशीलता, नैतिकता र मानवीय मूल्य विकास गर्ने केन्द्र बन्नु हो।

विषय प्रवेश

नेपालमा श्री ३ जङ्गबहादुर राणाको शासनअघि केही गुरुकुल र संस्कृत पाठशालाहरू थिए। श्री ३ जङ्गबहादुर राणाले सन् १८५४ मा पाश्चात्य शैलीको पहिलो विद्यालय दरबार हाईस्कुल खोले। दरबार हाईस्कुलको स्थापनाकालदेखि अहिलेसम्म राज्यद्वारा सञ्चालित र निजी विद्यालय गरी ३५,४४७ विद्यालयहरू सञ्चालनमा छन्। गुरुकुल परम्परादेखि सन् २०२६ सम्म आइपुग्दा शिक्षा र सिकाइ सधैँ परिवर्तनशील रहँदै आएका छन्। मानव सभ्यताको इतिहासमा शिलालेखदेखि डिजिटल बोर्डसम्म आइपुग्दा र गुरुकुल प्रणालीदेखि कृत्रिम बौद्धिकताको युगसम्म शिक्षा र सिकाइ निरन्तर विकसित र परिवर्तन हुँदै आएको पाइन्छ। विगतमा शिक्षा र सिकाइमा भएको परिवर्तन र अहिले भइरहेको परिवर्तनमा भने धेरै भिन्नता देखिन्छ।

शिक्षाको इतिहासलाई हेर्दा सिकाइका माध्यमहरू समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार क्रमशः विकसित हुँदै आएका छन्। प्राचीन समयमा ज्ञानको हस्तान्तरण मुख्यतः मौखिक सिकाइमार्फत हुन्थ्यो। गुरुबाट शिष्यमा श्रवण, मनन, कण्ठस्थ र संवादका माध्यमबाट ज्ञान प्रवाह गरिन्थ्यो। त्यसपछि शिष्यहरूले सिकाइको अभ्यास बालुवा, धुलो वा माटोमा लेखेर गर्न थाले। समयक्रममा ज्ञानलाई दीर्घकालसम्म सुरक्षित राख्न ताडपत्र र भोजपत्रजस्ता प्राकृतिक सामग्रीमा लेखनको अभ्यास सुरु भयो। पछि पुनः प्रयोग गर्न सकिने व्यक्तिगत स्लेट बोर्डको प्रयोग व्यापक बन्यो। यसले लेखन सिकाइलाई अझ व्यवस्थित र सुलभ बनायो। विद्यालय शिक्षाको विस्तारसँगै कक्षाकोठाको खरीपाटी शिक्षक र विद्यार्थीबीच सामूहिक सिकाइको प्रमुख माध्यम बन्यो। खरीपाटीबिनाको कक्षाकोठा सोच्न पनि सकिँदैनथ्यो। जब कागज सुलभ र सस्तो भयो, कापी र किताब शिक्षाको मुख्य साधनका रूपमा स्थापित भए। वर्तमान युगमा भने कम्प्युटर, ट्याबलेट, स्मार्टफोन, इन्टरनेट र एआईजस्ता डिजिटल उपकरणहरू सिकाइका प्रमुख माध्यम बनेका छन्। संसारमा शिक्षण र सिकाइका साधनहरू परिवर्तन भए पनि ज्ञान निर्माण, जीवनोपयोगी सीप सिकाइ र अवधारणा बुझाइजस्ता मूल उद्देश्य भने यथावत् रहेका छन्।

शिक्षामा प्रयोग हुने साधन र माध्यमहरू समयसँगै परिवर्तन भएजस्तै सिकाइका स्वरूप र अभ्यासहरू पनि त्यसअनुसार अनुकूल हुँदै आएका छन्। हरेक युगमा नयाँ प्रविधि र आवश्यकताले सिकाइलाई चुनौती मात्र होइन, अवसर पनि प्रदान गरेको छ। नयाँ प्रविधि सुरुवाती चरणमा स्वीकार गर्न प्रायः कठिन नै हुन्छ। सन् १९८० को दशकमा गणित शिक्षामा क्याल्कुलेटरको प्रयोग बढाउने प्रयास हुँदा धेरै शिक्षकहरूले यसको विरोध गरेका थिए। उनीहरूलाई क्याल्कुलेटरले विद्यार्थीको सोच्ने र गणना गर्ने क्षमतामा नकारात्मक असर पार्ने चिन्ता थियो। तर समयसँगै क्याल्कुलेटर शिक्षण सिकाइको प्रभावकारी उपकरणका रूपमा स्थापित भयो। आज यो गणितीय सोचको प्रतिस्थापन होइन, बरु त्यसलाई सहयोग गर्ने साधनका रूपमा स्वीकार गरिएको छ। अहिले कृत्रिम बौद्धिकताको सन्दर्भमा पनि यस्तै अवस्था देखिएको छ। धेरै शिक्षकहरूले सिकाइमा कृत्रिम बौद्धिकताको प्रयोगलाई चिन्ताको विषय बनाएका छन्। जसरी क्याल्कुलेटरलाई गणित सिकाइमा समायोजन गरेर त्यसको लाभ उठाइयो, त्यसैगरी कृत्रिम बौद्धिकतालाई पनि शिक्षण सिकाइको सहयोगी साधनका रूपमा स्वीकार गरी विद्यार्थीको सिर्जनात्मकता, समस्या समाधान क्षमता र व्यक्तिगत सिकाइलाई सशक्त बनाउन प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। एआईले नयाँ ढङ्गले सोच्ने, सिक्ने र सिकाउने अवसर दिएको छ। शिक्षाले हरेक चुनौतीलाई आत्मसात् गर्दै अझ उन्नत रूपमा अघि बढेको छ। इतिहासले यही तथ्यलाई पुष्टि गर्छ।

शिक्षा प्रणालीले समाजको आवश्यकताअनुसार आफ्नो स्वरूप पनि परिवर्तन गर्दै आएको पाइन्छ। पाषाण युगमा औपचारिक विद्यालय प्रणाली थिएन। सिकाइ पूर्ण रूपमा परिवार र समुदायमा आधारित थियो। मानिसहरूले बाँच्नका लागि आवश्यक सीपहरू जस्तै शिकार गर्ने, आगो बाल्ने र सरल औजार बनाउने जस्ता व्यवहारिक ज्ञान प्रत्यक्ष अनुभव र अवलोकनबाट सिक्थे। कृषि युगमा मानव जीवन स्थायी बस्ती र खेतीपातीतर्फ उन्मुख भएपछि सिकाइ पनि संरचित हुँदै गयो। यस समयमा सांस्कृतिक मूल्य, धार्मिक विश्वास, कृषि सीप र सामाजिक नियमहरूको हस्तान्तरणलाई बढी महत्व दिइयो। शिक्षा परम्परा र जीवनशैली जोगाउने माध्यम बन्यो।

औद्योगिक युगमा शिक्षा प्रणाली कारखानामा आधारित अर्थतन्त्रका लागि अनुशासित, समयपालक र आदेश पालना गर्ने श्रमिक तयार गर्ने काममा केन्द्रित रह्यो। यस समयमा मानकीकृत पाठ्यक्रम, एउटै पाठ, एउटै समयतालिका र परीक्षा प्रणालीले शिक्षा संरचना निर्धारण गर्‍यो। सूचना युगमा कम्प्युटर र इन्टरनेटको विकाससँगै विद्यालयको ध्यान सूचना र ज्ञानको उपलब्धतामा केन्द्रित भयो। डिजिटल प्रविधिको विस्तारले शैक्षिक पहुँच बढायो। सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म र डिजिटल उपकरणहरूले सिकाइलाई सहकार्य, सञ्चार र सूचना खोजमा आधारित बनाइदिए। हालको कृत्रिम बौद्धिकताको युगमा विद्यालयको भूमिका फेरि गहिरो रूपमा परिवर्तन भइरहेको छ। अब संसार विस्तारै मानव–एआई सहकार्य युगमा प्रवेश गर्दैछ। अब विद्यालयको मुख्य ध्यान आलोचनात्मक चिन्तन, सिर्जनशीलता, नैतिकता, समस्या समाधान र प्रश्न गर्ने क्षमताको विकासमा केन्द्रित हुनुपर्छ। किनभने एआईले सूचना दिन सक्छ, तर विवेक र मानवीय मूल्य विकास गर्न सक्दैन।

अब शिक्षा प्रणालीले जीवनभर सिक्ने क्षमता, अनुकूलनशीलता, नवप्रवर्तन र नैतिक नेतृत्व विकास गर्नुपर्छ। यस्तो युगमा विद्यालय समस्या समाधान गर्न सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्ने केन्द्र बन्नुपर्नेछ।

विद्यालयको परिवर्तित भूमिका

आज हामी कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरेका छौँ। कृत्रिम बौद्धिकताले ज्ञान निर्माण, प्रसार र पहुँचको परम्परागत संरचनालाई नै भत्काइदिएको छ। एकातिर विद्यालयहरू अझै पनि धेरै हदसम्म पाठ्यपुस्तक पढाउने र परीक्षा पास गराउने संरचनामा अड्किएका छन् भने अर्कोतर्फ विद्यार्थीहरू मोबाइल, इन्टरनेट, गुगल, च्याटजीपीटी, डीपसिकजस्ता प्रविधिबाट तुरुन्तै उत्तर पाउन सक्षम भएका छन्। यस्तो अवस्थामा विद्यालयको पुरानो भूमिका फेरिनु अपरिहार्य देखिन्छ। एआईको युगमा विद्यालयको वास्तविक भूमिका फेरिएन भने विद्यालयहरूको अस्तित्व नै समाप्त हुने खतरा देखिन्छ।

आजसम्म विद्यालयहरू सूचनाको केन्द्र बने। विद्यालयको मुख्य काम सूचना दिने, नोट पढाउने र परीक्षा पास गराउने रह्यो। विद्यार्थीहरूले आवश्यक जानकारी, ज्ञान र सीपहरू मुख्यतः विद्यालय, पाठ्यपुस्तक र शिक्षकबाट प्राप्त गरे। पाठ्यपुस्तक र शिक्षक नै सूचनाका प्रमुख स्रोत रहे। विद्यालयलाई समाजमा ज्ञान वितरण गर्ने केन्द्रीय संस्थाका रूपमा हेरियो। तर आज त्यो अवस्था परिवर्तन भएको छ। प्रविधि र इन्टरनेटको विकाससँगै सूचना विद्यालय, पाठ्यपुस्तक र शिक्षकभित्र मात्र सीमित नरही विभिन्न माध्यमबाट सहज रूपमा उपलब्ध हुन थालेको छ। आज कुनै पनि विद्यार्थीले “प्रकाश संश्लेषण भनेको के हो?”, “नेपालको संविधानका मूलभूत मर्म के हुन्?” वा “पाइथागोरसको साध्य के हो?” भन्ने प्रश्नहरूको उत्तर प्राप्त गर्न शिक्षक, पाठ्यपुस्तक र विद्यालयमा भर परिरहन नपर्ने स्थिति सिर्जना भएको छ। कुनै विद्यार्थीले च्याटजीपीटीबाट कुनै प्रश्नको उत्तर तयार गरेर ल्यायो भने एआईले सिकाइ बिगार्‍यो भनेर डराउने विषय हुनुहुँदैन। यो परिघटना बुझ्ने विषय हुनुपर्छ। यसले के देखाउँछ भने अब विद्यालय “उत्तर दिने ठाउँ” बाट “उत्तरलाई बुझ्न र प्रयोग गर्न सिकाउने ठाउँ” मा रूपान्तरण हुनुपर्छ।

“विद्यालय अब उत्तर दिने ठाउँबाट उत्तरलाई बुझ्न र प्रयोग गर्न सिकाउने ठाउँमा रूपान्तरण हुनुपर्छ।”

विद्यालयले जानकारीलाई कसरी विश्लेषण गर्ने? प्राप्त जानकारी सही वा गलत कसरी छुट्याउने? भन्ने कुरा सिकाउनुपर्छ। अबको दिन “जान्ने व्यक्तिको” होइन, “बुझ्ने व्यक्तिको” हो।

प्रश्न र संवाद संस्कृतिको पुनर्जागरण

पूर्वीय दर्शनमा प्रश्न गर्ने संस्कृतिलाई ज्ञान प्राप्तिको मूल आधार मानिएको छ। वैदिक, उपनिषद्, बौद्ध तथा गुरुकुल परम्परामा ज्ञानलाई केवल सुनाएर हस्तान्तरण गरिने विषय मानिएको छैन। जिज्ञासा, संवाद, तर्क र प्रश्नोत्तरका माध्यमबाट ज्ञानको खोजी गरिने कुरालाई निकै महत्व दिइएको पाइन्छ। अष्टावक्र र राजा जनकबीचको शास्त्रार्थ, नचिकेता–यम संवाद, यक्ष र धर्मराज युधिष्ठिरबीचको प्रश्नोत्तर, अर्जुन–कृष्ण संवाद, कालिदास र विद्योत्तमाबीचको शास्त्रार्थ तथा बुद्ध र उनका शिष्यहरूबीच भएका संवादहरू प्रश्न गर्ने संस्कृतिका उत्कृष्ट उदाहरण हुन्। पूर्वीय दृष्टिकोणले प्रश्नलाई अवज्ञा वा विद्रोह होइन, ज्ञान, विवेक र आत्मबोधतर्फको यात्रा मानेको छ। “ज्ञान उपदेशबाट होइन, प्रश्नोत्तरबाट प्राप्त हुन्छ” भन्ने मर्मलाई समेटेको पाइन्छ।

अष्टावक्रको शास्त्रार्थ पूर्वीय ज्ञान परम्पराको यस्तो अनुपम उदाहरण हो जहाँ प्रश्न, संवाद र आत्मबोधलाई सर्वोच्च स्थान दिइएको छ। यही परम्परा आज हराउँदै गएको प्रश्न गर्ने संस्कृति पुनःस्थापित गर्न प्रेरणादायी स्रोत बन्न सक्छ। नचिकेता–यम संवाद गहिरो दार्शनिक संवाद हो। यसले प्रश्न गर्ने संस्कृतिको सर्वोच्च आदर्श प्रस्तुत गर्छ। यक्ष प्रश्नले सही प्रश्न सोध्ने कला, आलोचनात्मक चिन्तन, नैतिक निर्णय र आत्मबोध सिकाउँछ। भगवद्गीताको अर्जुन–कृष्ण संवादले प्रविधि जति विकसित भए पनि अन्तिम निर्णय मानव चेतना, विवेक र नैतिकतामा निर्भर रहने कुरा सिकाउँछ। कालिदास र विद्योत्तमाबीचको शास्त्रार्थले ज्ञान, विनम्रता, तर्कशक्ति र सिर्जनशीलताको उत्कृष्टता प्रदर्शन गर्न प्रेरित गर्छ। बुद्ध र उनका शिष्यहरूबीच भएका संवादहरूले सोच्न बाध्य पार्ने र आत्मचिन्तनतर्फ डोर्‍याउने काम गर्छन्।

कृत्रिम बौद्धिकताको युगमा मानिसहरू प्रश्नको उत्तर खोज्नुभन्दा उत्तर प्राप्त गर्न बढी अभ्यस्त हुँदै गएका छन्। केही निमेषमै उत्तर उपलब्ध हुने भएकाले गहिरो जिज्ञासा, चिन्तन, तर्क र प्रश्न गर्ने बानी क्रमशः कमजोर बन्दै गएको छ। शिक्षामा काम गर्नेहरूका लागि यो डर लाग्दो र चिन्ताको विषय हो। जब प्रश्न गर्ने संस्कृति कमजोर हुन्छ, तब मानिस सूचनाको उपभोक्ता बन्छ। ज्ञान निर्माणकर्ता बन्न सक्दैन। विद्यालयहरूले ज्ञानको उपभोग गर्ने नागरिक निर्माण गर्ने कि ज्ञान निर्माण गर्ने नागरिक बनाउने? सोच्ने बेला भएको छ।

त्यसैले आज प्रश्न र संवाद गर्ने संस्कृतिको पुनःस्थापना झन् आवश्यक भएको छ। विद्यालय, परिवार र समाजले बालबालिकालाई “सही उत्तर” भन्दा “सही प्रश्न” खोज्न प्रोत्साहित गर्नुपर्छ। एआईले हजारौँ उत्तर दिन सक्छ, तर कुन प्रश्न सोध्ने भन्ने विवेक, जिज्ञासा र नैतिक चेतना भने मानिसले नै विकास गर्नुपर्छ। भविष्यमा धेरै उत्तर जान्ने व्यक्तिभन्दा सही समयमा सही प्रश्न गर्न सक्ने व्यक्ति सफल हुनेछ। पूर्वीय ज्ञान परम्पराले सिकाएको यही प्रश्न, संवाद र आत्मचिन्तनको संस्कृति पुनर्जीवित गर्न सकेमा मात्र एआईको युगमा पनि मानवीय बुद्धि, विवेक र सिर्जनशीलता सुरक्षित राख्न सकिन्छ।

अबको बाटो

विद्यालय अब सूचनाको एक मात्र स्रोत रहेन। हामीले यो सत्य स्वीकार गर्नैपर्छ। विगतमा शिक्षक र पाठ्यपुस्तक ज्ञानका प्रमुख स्रोत थिए। शिक्षकले जे भने, पाठ्यपुस्तकमा जे लेखियो, त्यही नै ज्ञानको मानक मानिन्थ्यो। आज कुनै पनि विद्यार्थीले मोबाइल फोन, इन्टरनेट वा एआई प्रणालीमार्फत केही क्षणमै विश्वभरका लाखौँ स्रोतबाट जानकारी प्राप्त गर्न सक्छ। यस्तो अवस्थामा विद्यालयले केवल सूचना उपलब्ध गराउने पुरानो भूमिकामा अडिग रहन खोज्यो भने विद्यालय अप्रासङ्गिक र असान्दर्भिक बन्दै जान्छ। अब विद्यालयको काम उत्तर दिने, जानकारी उपलब्ध गराउने र तथ्य कण्ठ गराउने होइन। उत्तर बुझ्न, जानकारीको विश्लेषण र अर्थ खोज्न सिकाउने हो। उत्तर दिने, जानकारी र तथ्य उपलब्ध गराउने काम एआईले गर्न सक्छ। आजको चुनौती सूचनाको अभाव होइन। अहिले सूचनाको त बाढी नै छ। सूचना यत्रतत्र पाइन्छ। विद्यार्थीहरू सूचनाले घेरिएका छन्। त्यसैले एआई युगमा विद्यालयको पहिलो जिम्मेवारी आलोचनात्मक चिन्तन विकास गर्नु हो। विद्यार्थीलाई उत्तर स्वीकार गर्न होइन, प्रश्न गर्न सिकाउनुपर्छ। विद्यालयले कुनै जानकारीको स्रोत के हो? त्यसको प्रमाण के हो? त्यसको वैकल्पिक व्याख्या के हुन सक्छ? यस्ता प्रश्न सोध्ने बौद्धिक संस्कृतिको विकास गर्नुपर्छ।

जब हामी एक युगबाट अर्को युगमा प्रवेश गर्छौँ, युग सुहाउँदो पाठ्यक्रम बनाउनैपर्छ। पाठ्यक्रमको पुनर्संरचना अपरिहार्य हुन्छ। कृत्रिम बौद्धिकताको युगमा पाठ्यक्रम परम्परागत ज्ञान हस्तान्तरणमा मात्र केन्द्रित हुनुहुँदैन। विद्यार्थीलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्षम बनाउने हुनुपर्छ। यस्तो पाठ्यक्रमले तथ्य र सूचनाको घोकाइभन्दा आलोचनात्मक चिन्तन, सिर्जनशीलता, समस्या समाधान, सहकार्य, सञ्चार तथा नैतिक निर्णय क्षमताको विकासलाई प्राथमिकता दिनुपर्छ। विद्यार्थीहरूलाई एआई र डिजिटल प्रविधिको जिम्मेवार प्रयोग, सूचना विश्लेषण, डेटा साक्षरता तथा आजीवन सिकाइका सीपहरू प्रदान गर्नुपर्छ। एआईले सूचना सजिलै उपलब्ध गराउने भएकाले विद्यालयले मानवका विशिष्ट गुणहरू जस्तै सहानुभूति, सामाजिक उत्तरदायित्व, नेतृत्व, मूल्य र नागरिक चेतनाको विकासमा विशेष ध्यान दिन आवश्यक छ। त्यसैले एआई युगको पाठ्यक्रम ज्ञान प्राप्तिभन्दा पनि ज्ञानको सिर्जना, प्रयोग र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्छ।

एआईले मूल्याङ्कन प्रणालीलाई पनि चुनौती दिएको छ। विद्यार्थीले घरमै एआईको सहायता लिएर निबन्ध लेख्न सक्छ भने परम्परागत गृहकार्यको अर्थ के रहन्छ? एआईले केही निमेषमै उत्तर दिन सक्छ भने केवल उत्तर लेखेर गरिने मूल्याङ्कनको औचित्य के हुन्छ? एआईले मूल्याङ्कनलाई पनि पुनःपरिभाषित गर्न आवश्यक बनाएको छ। अबको मूल्याङ्कनले विद्यार्थीले कसरी सोच्यो? कसरी तर्क गर्‍यो? कसरी सिर्जना गर्‍यो? र कसरी समस्या समाधान गर्‍यो? भन्ने कुराको प्रमाण खोज्नुपर्छ। यस्तो परिस्थितिमा वास्तविक जीवनसँग सम्बन्धित कार्य, परियोजना कार्य, कार्य प्रस्तुति, पोर्टफोलियो र विद्यार्थीले के गर्न सक्छ? भन्ने कुरा प्रमाणित गर्ने कार्य दिनुपर्छ। अब विद्यार्थीले के सम्झियो, सही उत्तर दियो कि दिएन भन्नेभन्दा पनि विद्यार्थीले सिकाइलाई व्यवहारमा कसरी प्रयोग गर्‍यो भन्ने कुरामा जोड दिनुपर्छ।

शिक्षक ज्ञानको एक मात्र स्रोत नभए पनि शिक्षकको महत्व भने सर्वदा रहिरहन्छ। शिक्षकको भूमिका अझ जटिल र महत्वपूर्ण बनेको छ। अब शिक्षक सूचना प्रदायकभन्दा बढी सिकाइ र अनुभवका शिल्पकार, सहजकर्ता र प्रेरक बन्नुपर्छ। शिक्षकले विद्यार्थीलाई उत्तर दिनुभन्दा सही प्रश्न गर्न सिकाउनुपर्छ। शिक्षकले विषयवस्तु सिकाउनुभन्दा सिक्न सिकाउनुपर्छ। जीवनभर सिकिरहने क्षमता विकास गराउनु शिक्षकको प्रमुख दायित्व बन्नुपर्छ। शिक्षा नीतिहरू पाठ्यपुस्तक, परीक्षा र प्रमाणपत्र केन्द्रित हुनुहुँदैन। नीति निर्माण गर्दा डिजिटल, एआई, मिडिया, डेटा र नैतिक साक्षरताजस्ता नयाँ क्षमताहरूलाई प्राथमिकतामा राख्नुपर्छ। एआईले अवसर सिर्जना गर्न सक्छ। साथै यसले असमानता पनि बढाउन सक्छ। केही विद्यार्थीहरूले मात्र गुणस्तरीय प्रविधि, इन्टरनेट र एआई उपकरणमा पहुँच पाए भने शैक्षिक विभाजन झन् गहिरो हुन सक्छ। त्यसैले नीतिनिर्माताहरूले डिजिटल पहुँचलाई शैक्षिक अधिकारका रूपमा हेर्नुपर्छ। अन्यथा एआईले सिकाइको अन्तर बढाउने जोखिम रहन्छ। प्रविधि, इन्टरनेट र एआई अब विलासिताका विषय रहेनन्। यी हरेक व्यक्तिका दैनिक आधारभूत आवश्यकता भइसके।

उपसंहार

एआईको युगमा विद्यालयको सबैभन्दा महत्वपूर्ण भूमिका मानवता संरक्षण गर्नु हो। विद्यालयले विवेकी, नैतिक, जिम्मेवार र लोकतान्त्रिक नागरिक निर्माण गर्नुपर्छ। भविष्यको समाजलाई केवल प्राविधिक दक्षता भएका मानिसहरू होइन, नैतिक निर्णय गर्न सक्ने, सहानुभूतिशील, सिर्जनशील र सामाजिक उत्तरदायित्व बोध भएका नागरिकहरू आवश्यक पर्नेछन्।

एआईले तथ्य दिन सक्छ, तर सहानुभूति दिन सक्दैन। एआईले गणना गर्न सक्छ, तर करुणा अनुभव गर्न सक्दैन। एआईले लेख लेख्न सक्छ, तर नैतिक जिम्मेवारी लिन सक्दैन।

“एआईले तथ्य दिन सक्छ, तर विवेक र मानवीय मूल्य विकास गर्न सक्दैन।”

त्यसैले विद्यालयले केवल बौद्धिक विकासमा सीमित नरही सामाजिक भावनात्मक सिकाइ, नैतिक शिक्षा, सहानुभूति, सहकार्य र जिम्मेवारीजस्ता मानवीय गुणहरूको विकासमा विशेष ध्यान दिनुपर्छ।

हाम्रो शिक्षा प्रणाली अझै पनि औद्योगिक युगको मानसिकताबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन। धेरै विद्यालयहरू अझै पनि एउटै उत्तर, एउटै पाठ, एउटै परीक्षा र एउटै मापदण्डमा आधारित छन्। विद्यार्थीहरूलाई सोच्नभन्दा सम्झन, सिर्जना गर्नभन्दा दोहोर्‍याउन र प्रश्न गर्नुभन्दा उत्तर दिन प्रशिक्षित गरिन्छ। त्यही अभ्यासका कारण सिकाइमा एआईको प्रयोगलाई चिन्ताको विषय मानिएको हो। आज मेसिनले स्मरण गर्न सक्ने कुरा मानिसलाई सिकाउनु मात्र पर्याप्त छैन। मानिसलाई त्यस्तो कुरा सिकाउनुपर्छ जुन मेसिनले सजिलै गर्न सक्दैन। सिर्जनशीलता, कल्पनाशक्ति, नैतिक निर्णय, जटिल समस्या समाधान र अन्तरविषयक सोच मानव विशिष्टीकृत अवयवहरू हुन्।

एआईले सिकाइमा विद्यालयको भूमिका समाप्त बनाएको छैन। बरु पहिलेभन्दा अझ महत्वपूर्ण बनाएको छ। विद्यालय अब सूचनाको भण्डार होइन, बुझाइको केन्द्र बन्नुपर्छ। उत्तरको कारखाना होइन, प्रश्नको प्रयोगशाला बन्नुपर्छ। कण्ठस्थ ज्ञानको स्थल होइन, चिन्तन, सिर्जना र नवप्रवर्तनको केन्द्र बन्नुपर्छ। एआईले उत्तर दिन सक्छ, तर अर्थ दिन सक्दैन। एआईले सूचना दिन सक्छ, तर विवेक दिन सक्दैन। यही कारणले भविष्यमा विद्यालयको सफलता उसले कति जानकारी सिकायो भन्ने आधारमा होइन, उसले कति विवेकी, सिर्जनशील र मानवीय नागरिक निर्माण गर्‍यो भन्ने आधारमा मापन गरिनेछ। यिनै कुराहरूले एआईको अघि विद्यालयहरूको भूमिका महत्वपूर्ण बनाएको हो।

हामीले कृत्रिम बौद्धिकतालाई शिक्षण र सिकाइ प्रक्रियामा स्वीकार, आत्मसात् र उत्साहपूर्वक अपनाउन आवश्यक छ। एआई सिकाइलाई अझ प्रभावकारी, व्यक्तिगत र पहुँचयोग्य बनाउने शक्तिशाली साधन हो। यसले शिक्षकलाई सिकाइ सहजीकरणमा सहयोग गर्छ। विद्यार्थीलाई आफ्नै गतिमा, आफ्नै आवश्यकताअनुसार सिक्ने अवसर प्रदान गर्छ। त्यसैले एआईलाई डर वा चुनौतीका रूपमा होइन, शिक्षाको विकासको अर्को चरणका रूपमा हेर्नुपर्छ। जब हामी यसलाई सही ढङ्गले प्रयोग गर्छौँ, तब यसले आलोचनात्मक सोच, सिर्जनशीलता र समस्या समाधानजस्ता उच्चस्तरीय सिकाइलाई अझ मजबुत बनाउँछ। यसैले एआईलाई अस्वीकार होइन, विवेकपूर्ण रूपमा अपनाउनु नै आजको शिक्षाको आवश्यकता हो।

लेखकको परिचय : मेदिनबहादुर लामिछाने युलेन्स एजुकेशन फाउन्डेशनमा चिफ एकेडेमिक अफिसर तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा कार्यरत हुनुहुन्छ। साथै उहाँ काठमाडौं विश्वविद्यालयमा विद्यावारिधिको शोधार्थीसमेत हुनुहुन्छ। यस लेखमा व्यक्त विचार उहाँका निजी विचार हुन्।