हाम्रो परीक्षा र मूल्याङ्कन प्रणाली किन परिवर्तन गर्नुपर्छ?

हाम्रो परीक्षा र मूल्याङ्कन प्रणाली किन परिवर्तन गर्नुपर्छ?

अंक, ग्रेड र प्रमाणपत्रभन्दा माथि उठेर सिकाइ, सीप र क्षमतामा केन्द्रित मूल्याङ्कन आवश्यक

हाम्रो मूल्याङ्कन प्रणाली लामो समयदेखि परीक्षा केन्द्रित रहँदै आएको छ। विद्यार्थीले कति बुझ्यो, कति सिर्जना गर्न सक्यो वा वास्तविक जीवनमा सिकेका कुरालाई कसरी प्रयोग गर्न सक्छ भन्ने कुराको मापनभन्दा पनि परीक्षामा कति अंक वा ग्रेड ल्यायो भन्ने आधारमा विद्यार्थीको उपलब्धि निर्धारण गरिँदै आएको छ। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको सिकाइ यात्रा अंक, ग्रेड र प्रमाणपत्र प्राप्त गर्ने प्रतिस्पर्धामा सीमित देखिन्छ। परिणामस्वरूप सिकाइमा रटाइ, उत्तर खोज्ने प्रवृत्ति र परीक्षा उत्तीर्ण गर्ने रणनीति बढी केन्द्रित बनेको छ। यसले शिक्षकलाई पनि सिकाइभन्दा परीक्षाको तयारीमा केन्द्रित हुन बाध्य बनाएको छ। विद्यार्थी, अभिभावक र विद्यालय सबैको ध्यान सिकाइको गुणस्तरभन्दा परीक्षाको नतिजामा केन्द्रित हुने अवस्था सिर्जना भएको छ।

संसार प्रत्येक क्षण तीव्र रूपमा परिवर्तन भइरहेको छ। एआई र डिजिटल प्रविधिको युगमा केवल सूचना र तथ्य सम्झन सक्ने व्यक्तिभन्दा समस्या समाधान गर्न सक्ने, आलोचनात्मक रूपमा सोच्न सक्ने र सहकार्य गर्न सक्ने नागरिकको आवश्यकता बढेको छ। तर हाम्रो वर्तमान परीक्षा र मूल्याङ्कन प्रणालीले यस्ता सीपको मापन गर्न सकेको छैन। यही कारणले विद्यार्थीमा भएको अन्तर्निहित क्षमता र उसको ग्रेड सिटबीच धेरै ठूलो अन्तर देखिन्छ। त्यसैले अब नेपालको परीक्षा र मूल्याङ्कन प्रणालीमा सुधार होइन, रूपान्तरणको आवश्यकता छ। मूल्याङ्कनलाई सिकाइको अन्तिम निर्णय गर्ने साधनका रूपमा होइन, सिकाइलाई निरन्तर सुधार गर्ने प्रक्रियाका रूपमा हेर्नुपर्छ। शिक्षा प्रणालीलाई भविष्यका चुनौतीसँग जुध्न सक्ने बनाउने हो भने मूल्याङ्कनलाई ग्रेड, अंक र श्रेणीको सीमित दायरामा नराखी विद्यार्थीको ज्ञान निर्माण, सीप सिकाइ र सोच विकासमा जोड्नुपर्छ। त्यसैले परीक्षा र मूल्याङ्कन प्रणाली परिवर्तन गर्नु विकल्प होइन, अपरिहार्यता हो।

परीक्षा र मूल्याङ्कन प्रणाली परिवर्तन गर्नु अब विकल्प होइन, अपरिहार्यता हो।

हाम्रो सन्दर्भमा परीक्षा र मूल्याङ्कन प्रणाली लामो समयदेखि बहसको विषय बन्दै आएको छ। यस प्रणालीले विद्यार्थीको वास्तविक सिकाइ मापन गर्न नसकेको आरोप बारम्बार लाग्दै आएको छ। सन् २००८ मा द चार्टर्ड इन्स्टिच्युट अफ एजुकेशनल एसेसर्सद्वारा प्रकाशित एक रिपोर्टमा २,००० वयस्कहरूको सर्वेक्षणमा ६६ प्रतिशतले आफ्नो परीक्षाको नतिजाले आफ्नो वास्तविक क्षमता प्रतिबिम्बित नगरेको बताएका थिए भने ७० प्रतिशत शिक्षकहरूले परीक्षा आफ्ना विद्यार्थीहरूको सिकाइ मापनको सबैभन्दा राम्रो सूचक हो भन्ने कुरामा विश्वास नगर्ने बताएका थिए। यसले परीक्षा मात्र सिकाइ मापनको सूचक हो भन्ने होइन भन्ने कुरा देखाउँछ।

अहिलेको अभ्यासमा मुख्यतः आवधिक परीक्षामा आधारित मूल्याङ्कन प्रणाली हावी छ। यसले विद्यार्थीको सीमित समयभित्र सम्झेर लेख्न सक्ने क्षमतालाई मात्र मापन गर्छ। विद्यालयहरूलाई निश्चित प्रतिशत आन्तरिक मूल्याङ्कन गर्न अनुमति दिइए पनि यस्तो आन्तरिक मूल्याङ्कन प्रायः असंगत र असमान देखिन्छ। धेरै विद्यालयहरूले यस्तो मूल्याङ्कनमा शतप्रतिशत अंक दिने प्रवृत्ति छ। यसले आन्तरिक र बाह्य मूल्याङ्कनबीच गम्भीर प्रश्न खडा गरेको छ। यसले समग्र मूल्याङ्कन प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

मूल्याङ्कन र परीक्षालाई समयसापेक्ष बनाउन विगतमा धेरै परिवर्तन गरियो। निरन्तर मूल्याङ्कन, लेटर ग्रेडिङ, आन्तरिक मूल्याङ्कन र प्रश्नपत्रमा केही सुधार पनि भए। शिक्षा मन्त्रालयको प्रयास राम्रो भए पनि यसले सिकाइमा खासै उपलब्धि हासिल गरेको पाइएन। त्यसैले अब परीक्षा र मूल्याङ्कन प्रणालीमा किस्ताबन्दीको परिवर्तन होइन, आमूल रूपान्तरण नै गर्नुपर्छ।

वर्तमान मूल्याङ्कन र परीक्षा प्रणालीका कमजोरीहरू

नेपालको मूल्याङ्कन प्रणालीको प्रमुख समस्या भनेको सिकाइ र मूल्याङ्कनबीचको असन्तुलन हो। कक्षाकोठामा सिकाइ प्रक्रिया कहिलेकाहीँ रचनात्मक, संवादात्मक र विद्यार्थी केन्द्रित हुन खोजे पनि अन्तिम मूल्याङ्कन भने स्मरणमा आधारित परीक्षामा सीमित हुन्छ। यसले परीक्षाका लागि सिकाउने संस्कृतिलाई प्रश्रय दिन्छ। शिक्षकहरू पाठ्यपुस्तकका पाठ र अभ्यासका साथै सम्भावित परीक्षा प्रश्नहरूको तयारी गराउनेतर्फ मात्र केन्द्रित हुन्छन्। यसले सिकाइलाई जीवन्त अनुभवको रूपमा होइन, परीक्षा उत्तीर्ण गर्ने औपचारिक प्रक्रियाका रूपमा सीमित गरिदिन्छ। धेरै विद्यालयमा अहिले यही अभ्यास गरिएको छ। जब विद्यार्थी दश कक्षामा पुग्छ, उसको खेल्ने समय सकियो, सामाजिककरण गर्ने समय सकियो, मनोरञ्जन गर्ने समय सकियो भन्ने वातावरण बनाइन्छ। यस्तो लाग्छ, विद्यार्थीहरू परीक्षा तयारी गर्न मात्र विद्यालय गएका छन्।

विश्वका विकसित मूल्याङ्कन प्रणालीहरूले मूल्याङ्कनलाई केवल अन्तिम परीक्षामा सीमित राख्दैनन्। उनीहरूले मूल्याङ्कनलाई निरन्तर प्रक्रिया मान्छन्। अनुसन्धानमा आधारित परियोजना कार्य, प्रस्तुति, प्रयोगात्मक कार्य र आलोचनात्मक लेखनलाई पनि मूल्याङ्कनमा समान महत्व दिन्छन्। प्रश्नको उत्तर लेखेर मात्र पुग्दैन। यस्तो मूल्याङ्कनमा विद्यार्थीहरूले खोज र अनुसन्धान गर्ने, स्रोतहरूको विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने क्षमता प्रदर्शन गर्नुपर्छ। यसले सिकाइलाई “के सम्झने?” भन्ने मार्गबाट “कसरी सोच्ने?” भन्ने मार्गमा लैजान्छ। त्यसैले अब हामीले मूल्याङ्कन प्रणालीलाई रूपान्तरण गर्न ढिला गर्नु हुँदैन।

नेपालमा राष्ट्रिय परीक्षा बोर्ड र स्थानीय पालिकाहरूले लिने परीक्षामा आन्तरिक मूल्याङ्कनलाई पनि स्थान दिइए पनि नेपालमा आन्तरिक मूल्याङ्कनको विश्वसनीयता छैन। धेरै विद्यालयहरूमा आन्तरिक अंक लगभग शतप्रतिशतसम्म दिने प्रवृत्ति देखिन्छ। यसले मूल्याङ्कनको वस्तुनिष्ठता कमजोर बनाउँछ। आन्तरिक मूल्याङ्कन शिक्षक केन्द्रित, विद्यालय केन्द्रित र कहिलेकाहीँ सम्बन्ध केन्द्रित बन्न पुगेको आरोपसमेत लाग्ने गर्छ। स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूले हाम्रो राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ग्रेड सिट हेर्दा छक्क पर्ने स्थिति छ। विद्यार्थीले आन्तरिक मूल्याङ्कनमा पाएको अंक, ग्रेड र बाह्य मूल्याङ्कनमा पाएको अंक तथा ग्रेडबीचको खाडल यति धेरै फराकिलो छ कि विश्वास गर्ने आधार नै भेटिँदैन। यसले राष्ट्रिय स्तरको परीक्षा प्रणालीको विश्वसनीयतामा प्रश्न उठाएको छ। आन्तरिक मूल्याङ्कनलाई सही रूपमा संरचित, स्पष्ट मापदण्ड अर्थात् रुब्रिक्समा आधारित र बाह्य मोडरेसनको व्यवस्थासहित लागू गर्नुपर्छ।

तीन घण्टे लिखित परीक्षा आफैँमा पूर्ण रूपमा गलत होइन। तर यसलाई प्रमुख र निर्णायक मूल्याङ्कन विधि बनाउनु समस्या हो। जीवनमा कुनै पनि समस्या तीन घण्टाको समयसीमामा सीमित हुँदैन। वास्तविक जीवनमा समस्या जटिल, बहुआयामिक र अनिश्चित हुन्छन्। त्यसैले विद्यार्थीले समय व्यवस्थापन, स्रोत विश्लेषण, समूहमा काम गर्ने क्षमता र व्यवहारिक समाधान निकाल्ने सीप विकास गर्नु आवश्यक हुन्छ। जुन कुरा तीन घण्टाको परीक्षाले मापन गर्न सक्दैन। शिक्षकले तीन घण्टाको परीक्षाले जे मापन गर्न सक्छ, त्यही कुरा मात्र सिकाउँछन्। परीक्षामा नसोधिने विषय र अवधारणाले कक्षाकोठामा स्थान पाउँदैनन्। यस्तो लाग्छ विद्यार्थी विद्यालय सिक्न होइन, परीक्षाको तयारी गर्न आएका हुन्।

नेपालको मूल्याङ्कन प्रणाली सुधार गर्न अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूबाट धेरै कुरा सिक्न सकिन्छ। उदाहरणका लागि निर्माणात्मक मूल्याङ्कन वा सिकाइका क्रममा गरिने निरन्तर मूल्याङ्कनलाई मुख्य आधार बनाउन सकिन्छ। यसमा विद्यार्थीको सानो–सानो प्रगति, कक्षा सहभागिता, परियोजना कार्य र कक्षा प्रस्तुति समावेश हुन्छन्। यसले विद्यार्थीलाई अन्तिम परीक्षाको डरभन्दा बढी सिकाइ प्रक्रियामा सक्रिय बनाउँछ। यसका साथै क्षमतामा आधारित मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्छ। मूल्याङ्कन प्रणालीलाई अधिक पारदर्शी र मानकीकृत बनाउन रुब्रिक्समा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न सकिन्छ। यसले शिक्षकलाई स्पष्ट मापदण्ड दिन्छ। मूल्याङ्कनमा हुने व्यक्तिगत भिन्नता र प्रभाव घटाउँछ। साथै, स्थानीय र राष्ट्रिय स्तरमा मोडरेसन गरेर आन्तरिक मूल्याङ्कनलाई बाह्य रूपमा नमूना जाँच गर्ने अभ्यासले विश्वसनीयता बढाउन सक्छ। डिजिटल प्रविधिको प्रयोग गरेर परीक्षा प्रणालीलाई डाटामा आधारित बनाउनु पनि अत्यन्त आवश्यक छ। यसले विद्यार्थीको प्रगति ट्र्याक गर्न र नीति निर्माणमा सहयोग पुर्‍याउँछ।

सिकाइ मूल्याङ्कनका चार दृष्टिकोण : मापनदेखि रूपान्तरणसम्म

मूल्याङ्कनलाई केवल “परीक्षा दिएर अंक वा ग्रेड निकाल्ने प्रक्रिया” भनेर बुझ्ने परम्परा अझै बलियो छ। शिक्षा प्रणालीमा मूल्याङ्कनलाई प्रायः विद्यार्थीले कति अंक वा ग्रेड प्राप्त गर्‍यो भन्ने आधारमा मात्र बुझ्ने गरिन्छ। तर शिक्षाशास्त्रले मूल्याङ्कनलाई केवल उपलब्धि मापन गर्ने साधनका रूपमा मात्र हेर्दैन। सिकाइलाई मार्गदर्शन गर्ने, सुधार गर्ने र गहिरो बनाउने प्रक्रियाका रूपमा पनि हेर्छ। त्यसैले आज मूल्याङ्कनका विभिन्न दृष्टिकोणहरू — सिकाइको मूल्याङ्कन, सिकाइका लागि मूल्याङ्कन, सिकाइकै रूपमा मूल्याङ्कन र सिकाइसँगै मूल्याङ्कनबारे व्यापक चर्चा हुन थालेको छ। यी चारै दृष्टिकोणले मूल्याङ्कनको उद्देश्य, प्रक्रिया र प्रयोगलाई फरक–फरक कोणबाट व्याख्या गर्छन्। परम्परागत परीक्षा केन्द्रित सोचबाट अघि बढ्दै विद्यार्थीको वास्तविक सिकाइ, आत्म–प्रतिबिम्ब, आत्मचिन्तन र क्षमता विकासलाई केन्द्रमा राख्ने प्रयास यी अवधारणाहरूको मूल मर्म हो।

विशेषतः एक्काइसौँ शताब्दीको सिकाइमा मूल्याङ्कनलाई अभिन्न अंगका रूपमा स्थापित गर्न यी दृष्टिकोणहरूले महत्वपूर्ण योगदान दिएका छन्। यस लेखमा यी चार प्रकारका मूल्याङ्कनको अवधारणा, विशेषता, अन्तरसम्बन्ध र नेपालको शिक्षा प्रणालीका सन्दर्भमा तिनको सान्दर्भिकताबारे चर्चा गरिएको छ। हाम्रो विद्यालय शिक्षामा गरिने मूल्याङ्कनले सही दिशा पकड्न सकेको देखिँदैन। विद्यालयमा मूल्याङ्कन भइरहेका छन् तर ती मूल्याङ्कनले केको मूल्याङ्कन गरिरहेका छन् भन्ने बुझिएको पाइँदैन। केको लागि कस्तो मूल्याङ्कन गर्ने र के मूल्याङ्कन गर्ने भन्ने स्पष्ट नभएसम्म गरिएका मूल्याङ्कन वैध, विश्वसनीय र सिकाइमा सहयोगी हुँदैनन्।

शिक्षकले विद्यार्थीको मूल्याङ्कन गर्दा सबैभन्दा पहिले आफूले के उद्देश्यका लागि मूल्याङ्कन गरिरहेको छु भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ। मूल्याङ्कन केवल परीक्षा लिएर अंक दिने प्रक्रिया मात्र होइन। सिकाइलाई बुझ्ने, सुधार गर्ने र अगाडि बढाउने माध्यम पनि हो। शिक्षकले विद्यार्थीले कति सिके भन्ने जान्न खोज्नु सिकाइको मूल्याङ्कन हो। शिक्षकले विद्यार्थीलाई उसको सिकाइमा सुधार गर्न आवश्यक मूल्याङ्कन गरेर पृष्ठपोषण दिनु सिकाइका लागि मूल्याङ्कन हो। विद्यार्थीलाई स्वयं मूल्याङ्कन प्रक्रियामा सहभागी गराई आफ्नो सिकाइको समीक्षा, प्रतिबिम्ब र सुधार गर्नु सिकाइकै रूपमा मूल्याङ्कन हो। त्यस्तै, सिकाइ र मूल्याङ्कनलाई अलग–अलग गतिविधि नठानी एउटै निरन्तर प्रक्रियाका रूपमा सञ्चालन गर्नु सिकाइसँगै मूल्याङ्कन हो।

शिक्षकले यी चारै दृष्टिकोणलाई सन्तुलित रूपमा प्रयोग गरी विद्यार्थीको सिकाइलाई गहिरो, अर्थपूर्ण र निरन्तर बनाउने प्रयास गर्नुपर्छ।

१. सिकाइको मूल्याङ्कन

सिकाइको मूल्याङ्कन मुख्यतः विद्यार्थीले के सिके भन्ने कुरा मापन गर्न केन्द्रित हुन्छ। यो सामान्यतया सिकाइको अन्त्यमा गरिन्छ। एकाइ परीक्षा, त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा, वार्षिक परीक्षा यसका उदाहरण हुन्। यसको मुख्य उद्देश्य विद्यार्थीले निर्धारित सिकाइ उपलब्धि कति हासिल गरेका छन् भन्ने निर्धारण गर्नु हो। विद्यार्थीको सिकाइलाई ग्रेड दिनु, विद्यार्थीलाई कक्षा चढाउने निर्णय गर्नु र विद्यार्थीलाई सिकाइको प्रमाणपत्र दिनु यसको मूल काम हो। सिकाइको मूल्याङ्कनले विद्यार्थीले के सिके भन्ने जानकारी प्रदान गरे पनि यसले सिकाइ सुधारका लागि तत्काल सहयोग गर्नेभन्दा बढी सिकाइको स्तर मापन गर्ने कुरामा जोड दिन्छ। हाम्रो सन्दर्भमा हामीले अहिलेसम्म सिकाइको मूल्याङ्कन नै बढी गर्‍यौँ, जसले गर्दा विद्यार्थीको वास्तविक सिकाइ सुधार हुन सकेन।

२. सिकाइका लागि मूल्याङ्कन

सिकाइका लागि मूल्याङ्कन भन्नाले विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तर सुधार गर्नका लागि गरिने मूल्याङ्कनलाई जनाउँछ। यस मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीले अहिले के सिक्दैछन्, कमजोरी कहाँ छ र विद्यार्थीको कमजोरी कसरी सुधार गर्न सकिन्छ भन्ने पहिचान गर्नु हो। अंक वा ग्रेड दिनु होइन। शिक्षकले कक्षा क्रियाकलाप, प्रश्नोत्तर, साना एकाइ परीक्षा, परियोजना कार्य, अवलोकन, कक्षाकार्य, गृहकार्य, कक्षा सहभागिता, कक्षा प्रस्तुति आदिमार्फत विद्यार्थीको सिकाइबारे जानकारी संकलन गर्छन्। त्यसपछि विद्यार्थीलाई स्पष्ट पृष्ठपोषण समयमै दिन्छन्। यसले विद्यार्थीहरूलाई आफ्नो सिकाइ सुधार गर्न मद्दत गर्छ। यस प्रकारको मूल्याङ्कन सिकाइ चलिरहेको अवस्थामा गरिन्छ। हाम्रो सन्दर्भमा निरन्तर मूल्याङ्कन, परियोजना कार्य र कक्षा सहभागिताद्वारा गरिने मूल्याङ्कन यसका उदाहरण हुन्। यसले शिक्षकलाई आफ्नो शिक्षण विधि सुधार गर्न र विद्यार्थीलाई सक्रिय सिकाइतर्फ अग्रसर गराउन सहयोग गर्छ। सिकाइको मूल्याङ्कनले “विद्यार्थी कहाँ पुगे?” भन्ने कुरा बताउँछ भने सिकाइका लागि मूल्याङ्कनले “विद्यार्थीलाई त्यहाँ पुग्न कसरी मद्दत गर्ने?” भन्ने कुराको बाटो देखाउँछ।

सिकाइको मूल्याङ्कनले विद्यार्थी कहाँ पुगे भन्ने देखाउँछ, तर सिकाइका लागि मूल्याङ्कनले त्यहाँ पुग्न कसरी मद्दत गर्ने भन्ने बाटो देखाउँछ।

३. सिकाइकै रूपमा मूल्याङ्कन

सिकाइकै रूपमा मूल्याङ्कन भन्नाले त्यस्तो अभ्यास हो, जसमा विद्यार्थी स्वयं आफ्नो सिकाइ प्रक्रियामा सक्रिय भाग लिन्छन् र मूल्याङ्कनलाई सिकाइको साधनका रूपमा प्रयोग गर्छन्। यस दृष्टिकोणमा विद्यार्थी केवल जाँचिने विषय मात्र हुँदैनन्। उनीहरू आफ्नै सिकाइका मूल्याङ्कनकर्ता पनि बन्छन्। उनीहरूले आफूले के सिके, के बुझेनन् र कहाँ सुधार आवश्यक छ भन्ने कुरा निरन्तर आत्म–प्रतिबिम्ब गरेर पहिचान गर्छन्। यस मूल्याङ्कन प्रक्रियामा स्वमूल्याङ्कन, सहपाठी मूल्याङ्कन र सिकाइ जर्नलजस्ता विधिहरू प्रयोग गरिन्छन्। यस्तो मूल्याङ्कनमा शिक्षकको भूमिका मार्गदर्शकको हुन्छ। शिक्षकले विद्यार्थीलाई सोच्न, विश्लेषण गर्न र आफ्नै सिकाइमा सुधार ल्याउन सहयोग गर्छन्। विद्यार्थीले रुब्रिक्सको सहायताले आफ्नो कार्यको मूल्याङ्कन आफैँ गर्छन्। यसले विद्यार्थीहरूमा सिकाइमा जिम्मेवारी र आत्मविश्वास बढाउँछ। सिकाइमा स्वायत्तता प्रदान गर्छ। विद्यार्थीले रुब्रिक्सको सहायताले परियोजना कार्य, प्रस्तुतीकरण, समूह छलफल र कार्यसञ्चयिका अर्थात् पोर्टफोलियो आदिको मूल्याङ्कन गर्छन्। यसले विद्यार्थीमा सिक्ने बानीको विकास गर्छ। त्यसैले सिकाइकै रूपमा मूल्याङ्कनलाई आधुनिक शिक्षण–सिकाइ प्रक्रियाको एक अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ।

४. सिकाइसँगै मूल्याङ्कन

सिकाइसँगै मूल्याङ्कन अवधारणालाई हालको मूल्याङ्कन सम्बन्धी बहसमा एकीकृत दृष्टिकोणका रूपमा लिन सकिन्छ। विद्यार्थीले सिक्दै गर्दा नै उनीहरूको सिकाइको मूल्याङ्कन पनि सँगसँगै हुँदै जान्छ। माथि उल्लेखित सिकाइ मूल्याङ्कनभन्दा यो सहभागिताको हिसाबले फरक छ। यसमा मूल्याङ्कन शिक्षक, विद्यार्थी र सहपाठी साथीबाहेक अभिभावक, समुदायका स्रोत व्यक्ति र स्थानीय विज्ञसमेत समावेश हुन्छन्। जब सिकाइ विद्यार्थीको वास्तविक जीवन र संसारसँग जोडिन्छ, सिकाइमा समुदायका स्रोत व्यक्ति पनि जोडिन्छन् र सिङ्गो समुदाय पनि जोडिन्छ। त्यसैले समुदाय र स्रोत व्यक्तिको पनि सिकाइमा भूमिका रहने भएकाले यसलाई सिकाइ मूल्याङ्कनको एकीकृत रूप पनि मान्न सकिन्छ।

यस दृष्टिकोणअनुसार मूल्याङ्कन विद्यार्थीको व्यक्तिगत उपलब्धिको मात्र मापन होइन। यो सामूहिक सिकाइको पनि मापन हो। विद्यार्थीले सिक्नुपर्ने अवधारणा र विषयवस्तुलाई सहकार्यात्मक गतिविधि, समूह कार्य तथा समुदायसँगको अन्तरक्रियामार्फत सिक्छन्। सिकाइका क्रममा उनीहरू वास्तविक जीवनका समस्या तथा मुद्दाहरूमा काम गर्छन्। अनुभव आदानप्रदान गर्छन्। एकअर्काबाट सिक्ने अवसर प्राप्त गर्छन्।

जब सिकाइ समूहमा सहकार्य गरेर र विद्यार्थीको वास्तविक जीवन तथा संसारसँग जोडेर हुन्छ भने मूल्याङ्कन पनि त्यहीअनुरूप हुनुपर्छ। सिकाइलाई स्थानीय परिवेश, संस्कृति, इतिहास र वातावरणसँग जोडेर अर्थपूर्ण बनाइन्छ। पोर्टफोलियो मूल्याङ्कनमा परिवारको सहभागिता गराइन्छ। अभिभावकहरूले विद्यार्थीको सिकाइको समीक्षा गरी प्रतिक्रिया दिन्छन्। त्यस्तै, स्थानीय विज्ञ, समुदायका सदस्य तथा स्रोत व्यक्तिहरूले विद्यार्थीका परियोजनाहरूमा आफ्नो ज्ञान, अनुभव र सुझाव प्रदान गर्छन्।

यसले मूल्याङ्कनलाई समावेशी, सान्दर्भिक र वास्तविक बनाउँछ। यस्तो सिकाइ मूल्याङ्कन सहभागितामूलक, समावेशी र विद्यार्थी केन्द्रित हुन्छ। फलस्वरूप सिकाइ केवल कक्षाकोठाभित्र सीमित रहँदैन। समुदायका विभिन्न सदस्यहरू सिकाइका सक्रिय साझेदार बन्छन्। यस्तो वातावरणमा सिक्ने विद्यार्थीहरूले आफ्नो समाज, संस्कृति र परिवेशसँग गहिरो सम्बन्ध स्थापित गर्दै जिम्मेवार, सहकार्यशील र सचेत नागरिकका रूपमा विकास हुने अवसर प्राप्त गर्छन्।

अबको बाटो

हामीले सन्तुलित रूपमा सिकाइको मूल्याङ्कन, सिकाइका लागि मूल्याङ्कन, सिकाइकै रूपमा मूल्याङ्कन र सिकाइसँगै मूल्याङ्कन प्रयोग गर्न सकेका छैनौँ। अधिकांश विद्यालयहरूमा सिकाइको मूल्याङ्कन मात्र भइरहेको छ। बाँकी तीन दृष्टिकोण कमजोर र उपेक्षित अवस्थामा छन्। यही असन्तुलनका कारण नेपालको शिक्षा प्रणाली अत्यधिक परीक्षा केन्द्रित, अंक वा ग्रेड केन्द्रित र स्मरणशक्ति केन्द्रित बनेको छ। विद्यार्थीहरूले लिखित परीक्षा उत्तीर्ण गर्न सक्ने भए तापनि उनीहरूमा आलोचनात्मक चेत, समस्या समाधान, सिर्जनात्मकता र सहकार्यजस्ता एक्काइसौँ शताब्दीले माग गर्ने सीपहरू अत्यन्त कमजोर रहेको पाइन्छ। अब सिकाइको मूल्याङ्कनलाई मात्र अन्तिम निर्णायक बनाउने अभ्यासलाई कम गर्नुपर्छ। यसको विकल्पमा सिकाइका लागि मूल्याङ्कन, सिकाइकै रूपमा मूल्याङ्कन र सिकाइसँगै मूल्याङ्कनका विधि र अभ्यास लागू गर्दै जानुपर्छ।

प्रत्येक पाठपछि संरचित प्रतिक्रिया, रुब्रिक्समा आधारित मूल्याङ्कन र कमजोर विद्यार्थीका लागि अतिरिक्त सहायता प्रदान गर्ने अनिवार्य व्यवस्था गर्नुपर्छ। सिकाइकै रूपमा मूल्याङ्कनलाई प्रोत्साहन दिन विद्यार्थीहरूलाई स्वमूल्याङ्कन र आत्म–प्रतिबिम्बको अभ्यास सिकाउनुपर्छ। यसले उनीहरूलाई जीवनभर सिक्न सक्ने व्यक्ति बन्न सघाउँछ।

सिकाइसँगै मूल्याङ्कनलाई पाठ्यक्रमको केन्द्रबिन्दुमा राख्दै आयोजनामा आधारित र अन्वेषणमा आधारित सिकाइलाई प्राथमिकता दिनुपर्छ। सिकाइको मूल्याङ्कन, सिकाइका लागि मूल्याङ्कन, सिकाइकै रूपमा मूल्याङ्कन र सिकाइसँगै मूल्याङ्कनलाई सन्तुलित रूपमा कार्यान्वयन गर्न सकियो भने नेपालको शिक्षा प्रणालीले प्रमाणपत्र केन्द्रित शिक्षाबाट क्षमता केन्द्रित शिक्षातर्फ महत्वपूर्ण रूपान्तरण गर्न सक्छ।

नेपालको मूल्याङ्कन प्रणालीलाई प्रमाणपत्र केन्द्रित अभ्यासबाट क्षमता केन्द्रित शिक्षातर्फ रूपान्तरण गर्न केही स्पष्ट नीतिगत कदमहरू आवश्यक छन्। सर्वप्रथम, राष्ट्रिय स्तरमा एकीकृत रुब्रिक्समा आधारित मूल्याङ्कन ढाँचा विकास गरी सबै विद्यालयहरूमा विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने व्यवस्था गर्नुपर्छ। यसले मूल्याङ्कनलाई बढी वस्तुनिष्ठ, पारदर्शी र विश्वसनीय बनाउँछ।

दोस्रो, मोडरेसन प्रणाली लागू गर्दै आन्तरिक मूल्याङ्कनको नमूना बाह्य रूपमा पुनः परीक्षण गर्ने अभ्यास विकास गर्नुपर्छ। यसले विद्यालय र बाह्य परीक्षाबीचको अंक असमानता घटाउन सहयोग गर्छ। मूल्याङ्कन प्रणालीमा कम्तीमा ४० प्रतिशत परियोजनामा आधारित मूल्याङ्कन अनिवार्य गरी विद्यार्थीलाई वास्तविक जीवनसँग जोडिएका समस्या समाधान, अनुसन्धान र सहकार्यात्मक सिकाइमा संलग्न गराउनुपर्छ। शिक्षकहरूको क्षमता विकासका लागि सिकाइ मूल्याङ्कनका चारै स्तम्भ सम्बन्धी संरचित तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। यसले शिक्षकलाई सिकाइ सुधारमा केन्द्रित निरन्तर मूल्याङ्कन अभ्यास प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्षम बनाउँछ।

अन्त्यमा, डिजिटल कार्य–सञ्चयिका अर्थात् पोर्टफोलियो प्रणाली विकास गरी विद्यार्थीको सिकाइ यात्रा, उपलब्धि, परियोजना कार्य र प्रतिबिम्बलाई दीर्घकालीन रूपमा अभिलेखीकरण गर्ने व्यवस्था गर्नुपर्छ। यसले मूल्याङ्कनलाई स्थिर परिणामबाट गतिशील सिकाइ प्रक्रियातर्फ रूपान्तरण गर्न मद्दत गर्छ।

मूल्याङ्कन प्रणालीको आमूल रूपान्तरणका लागि कुनै एकल “जादुई समाधान” छैन। यसको लागि चरणबद्ध, स्पष्ट जिम्मेवारी र समयसीमासहितको दीर्घकालीन रणनीति आवश्यक छ। प्रारम्भिक चरणमा शिक्षा मन्त्रालयले रुब्रिक्समा आधारित मूल्याङ्कनको राष्ट्रिय तालिम अनिवार्य गर्नुपर्छ र नेपालभरबाट छनोट गरिएका केही माध्यमिक विद्यालयहरूमा सिकाइकै रूपमा मूल्याङ्कनको नमूना परियोजना सञ्चालन गर्नुपर्छ।

मध्यम अवधिसम्म प्रदेश शिक्षा निर्देशनालय र विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको भार बढाएर ४० प्रतिशत पुर्‍याउने र बाह्य परीक्षाको भार ६० प्रतिशतमा झार्ने व्यवस्था लागू गर्नुपर्छ। यो तब मात्र अर्थपूर्ण हुन्छ जब आन्तरिक मूल्याङ्कन बाह्य रूपमा नमूना जाँच अर्थात् मोडरेसन गरिन्छ। मोडरेसन गरिएन भने शतप्रतिशत अंक दिने हालको कुप्रवृत्ति कायमै रहनेछ।

दीर्घकालीन चरणमा सम्पूर्ण शिक्षा प्रणालीले सिकाइसँगै मूल्याङ्कन लागू गर्नुपर्छ। यसको अर्थ विद्यार्थीको परियोजना अभिभावक, स्थानीय विज्ञ र समुदायका सदस्यले समेत मूल्याङ्कन गर्ने व्यवस्था हुनेछ। यस चरणमा केन्द्रीय परीक्षा केवल न्यूनतम दक्षता मापनको परीक्षामा सीमित हुनेछ। यी तीन चरण सफल बनाउन सबैभन्दा महत्वपूर्ण तत्व भनेको शिक्षकको पेशागत तालिम नै हो।

निष्कर्ष

नेपालमा मूल्याङ्कन प्रणाली परिवर्तन गर्नु अब विकल्प होइन, आवश्यकता हो। अहिले हामीले अभ्यास गरेको प्रणालीले स्मरण शक्ति र अंक केन्द्रित संस्कृतिलाई बढावा दिएको छ। यसले एक्काइसौँ शताब्दीका लागि आवश्यक आलोचनात्मक सोच, सिर्जनात्मकता, समस्या समाधान क्षमता र सहकार्य सीप मूल्याङ्कन गर्न सक्दैन। अन्तर्राष्ट्रिय अभ्यासहरूबाट सिक्दै नेपालले आफ्नो सन्दर्भअनुसार मिश्रित मूल्याङ्कन प्रणाली विकास गर्नुपर्छ, जसमा निरन्तर मूल्याङ्कन, परियोजना कार्य, व्यवहारिक परीक्षण र सीमित मात्रामा मानकीकृत परीक्षा समावेश होस्। यस्तो प्रणालीले मात्र विद्यार्थीलाई प्रमाणपत्रधारी नागरिकको सट्टा सक्षम, आत्मविश्वासी र जीवनका वास्तविक चुनौती सामना गर्न सक्ने नागरिक तयार गर्न सक्छ।

सिकाइ केवल परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया मात्र होइन। यो जीवन बुझ्ने र जीवन जिउन सिक्ने प्रक्रिया हो। तर नेपालमा परीक्षा प्रणालीले विद्यार्थीलाई सिकाइप्रति प्रेरित गर्नुको सट्टा डर र दबाबको वातावरण सिर्जना गरेको छ। परीक्षा असफल हुनु जीवन असफल हुनु जस्तो बुझाइ अझै पनि कतिपय स्थानमा विद्यमान छ। यसले विद्यार्थीको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारिरहेको छ। यस्तो सोच परिवर्तन गर्न परीक्षा प्रणालीमै संरचनात्मक सुधार आवश्यक छ।

यस लेखमा व्याख्या र प्रस्ताव गरिएको चार स्तम्भ दृष्टिकोणको कार्यान्वयनका लागि ठूलो बजेट आवश्यक छैन। आवश्यक छ त केवल राजनीतिक इच्छाशक्ति, शिक्षक तालिम र चरणबद्ध कार्यान्वयन। अब मूल्याङ्कन र परीक्षा प्रणालीलाई रूपान्तरण गर्न ढिलाइ गरियो भने अर्को पुस्तालाई सिकाइको प्रमाणपत्र त दिन सकिएला तर चुनौती सामना गर्न सक्ने नागरिक बनाउन भने सकिँदैन।

शिक्षा मन्त्रालय र विश्वविद्यालयहरूले मिलेर परीक्षा र मूल्याङ्कन प्रणालीलाई रूपान्तरण गर्न ढिलाइ गर्नु हुँदैन।

लेखकको परिचय : मेदिनबहादुर लामिछाने युलेन्स एजुकेशन फाउन्डेशनमा चिफ एकेडेमिक अफिसर तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा कार्यरत हुनुहुन्छ। साथै उहाँ काठमाडौं विश्वविद्यालयमा विद्यावारिधिका शोधार्थीसमेत हुनुहुन्छ। यस लेखमा व्यक्त विचार उहाँका निजी विचार हुन्।