काठमाडौँ। काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका डिन प्रा.डा. विजय के.सी.लाई एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ मा लाइफटाइम अचिभमेन्ट इन एकेडेमिया अवार्ड बाट सम्मान गरिएको छ।
एजुकेसन दैनिक र आई.वाई.एल.एफ. — इन्टरनेसनल यङ लिडर्स फोरमको आयोजनामा, अप्टिमेज ग्लोबलको प्रस्तुति तथा फ्युचर एड्भान्टेजको सहकार्यमा सम्पन्न समारोहमा प्रा.डा. के.सी.लाई उक्त अवार्ड प्रदान गरिएको हो।
कार्यक्रम वरिष्ठ व्यक्तित्व कर्ण शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा शिक्षाविद् रमेश सिलवाल, बैंकर मनोज ज्ञवाली, कृष्ण अधिकारी, रञ्जना प्रधान, नरेश प्रसाद श्रेष्ठ, भक्त राजभण्डारीलगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
प्रा.डा. विजय के.सी.ले लामो समयदेखि शैक्षिक नेतृत्व, व्यवस्थापन शिक्षा, अनुसन्धान, संस्थागत विकास र विद्यार्थी मार्गदर्शनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। उहाँले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, नेतृत्व विकास र शैक्षिक उत्कृष्टताको प्रवर्द्धनमा पुर्याउनुभएको योगदान प्रशंसनीय रहेको छ।
शिक्षा क्षेत्रमा उहाँको दीर्घकालीन योगदान, प्रेरणादायी नेतृत्व र शैक्षिक विकासमा देखिएको समर्पणको कदर गर्दै आयोजकले उक्त अवार्ड प्रदान गरेको जनाएको छ।
समारोहमा शिक्षा क्षेत्रका विभिन्न संस्था, कलेज, विद्यालय, शिक्षा नेतृत्वकर्ता तथा समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
आयोजकका अनुसार एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६ को उद्देश्य शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका संस्था तथा व्यक्तित्वहरूको योगदानलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु हो। यस्ता अवार्ड कार्यक्रमले शैक्षिक संस्थाहरू, शिक्षाविद् तथा नेतृत्वकर्ताहरूलाई अझ गुणस्तरीय, जिम्मेवार र भविष्यकेन्द्रित शिक्षा निर्माणका लागि प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।