भक्तपुर, ३१ असार — विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले मोडर्न बोर्डिङ सेकेन्डरी स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ। फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र मोडर्न बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल राजन कसपालले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार विद्यालयका विद्यार्थीले नियमित पठनपाठनसँगै सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारीसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ। कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा काम गर्न, निर्णय लिन, नेतृत्व गर्न तथा अनुभवबाट सिक्न प्रेरित गरिन्छ।
मोडर्न बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल राजन कसपालले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै जीवनमा प्रयोग गर्न सकिने व्यावहारिक सीप आवश्यक रहेको बताए। उनका अनुसार विद्यालय शिक्षाले शैक्षिक उपलब्धिसँगै आत्मविश्वास, सिर्जनशीलता, चरित्र, नेतृत्व र जिम्मेवारीको भावना विकास गर्न सक्नुपर्छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले मोडर्न बोर्डिङ सेकेन्डरी स्कुलसँगको साझेदारी विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउने अभियानको महत्वपूर्ण कदम भएको बताए। आजका विद्यार्थीलाई राम्रो शैक्षिक नतिजासँगै स्पष्ट अभिव्यक्ति, नेतृत्व, आर्थिक सचेतना, सहकार्य र समस्या समाधान गर्ने क्षमता आवश्यक रहेको उनको भनाइ छ।
यस सहकार्यले विद्यालयमा विद्यार्थीको सक्रिय सहभागिता, सञ्चार संस्कृति, नेतृत्व अभ्यास र जिम्मेवारीको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ। फ्युचर एड्भान्टेजले विभिन्न विद्यालयसँग सहकार्य गर्दै विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र ‘फ्युचर–रेडी’ बनाउने अभियान विस्तार गरिरहेको जनाएको छ।