विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउन माउन्ट भ्यू स्कुलको नयाँ पहल, फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी सुरु

विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउन माउन्ट भ्यू स्कुलको नयाँ पहल, फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी सुरु

भक्तपुर / ३१ असार – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले माउन्ट भ्यू स्कुल, भक्तपुर र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र माउन्ट भ्यू स्कुलका प्रतिनिधिले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समारोहमा फ्युचर एड्भान्टेजका ब्रान्ड एम्बेसडर तथा गायक निर्णय श्रेष्ठ ‘एनएसके’ र प्रेरणादायी वक्ता रमन भट्टराईको समेत उपस्थिति थियो।

समझदारीअनुसार विद्यालयका विद्यार्थीले नियमित पठनपाठनसँगै सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

फ्युचर एड्भान्टेज अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।

कार्यक्रमले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ। यसको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ।

विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा काम गर्न, निर्णय लिन, नेतृत्व गर्न तथा आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ।

माउन्ट भ्यू स्कुलले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता, चरित्र, नेतृत्व र व्यवहारिक क्षमता विकासमा जोड दिँदै आएको जनाएको छ। फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीको समग्र विकास र भविष्य तयारीमा थप सहयोग पुग्ने विद्यालयको विश्वास छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले माउन्ट भ्यू स्कुलसँगको साझेदारीलाई विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि सक्षम बनाउने अभियानको महत्वपूर्ण कदमका रूपमा लिएको बताए।