भक्तपुर / ३२ असार – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, सञ्चार क्षमता, नेतृत्व, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समारोहमा फ्युचर एड्भान्टेजका ब्रान्ड एम्बेसडर तथा गायक निर्णय श्रेष्ठ ‘एनएसके’ र प्रेरणादायी वक्ता रमन भट्टराईको समेत उपस्थिति थियो। सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, प्रभावकारी सञ्चार, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारीसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ। कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै प्रस्तुति दिन, समूहमा काम गर्न, निर्णय लिन, नेतृत्व गर्न र आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ।

फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।
मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको आत्मविश्वास, चरित्र, नेतृत्व, सिर्जनशीलता र व्यावहारिक क्षमता विकास गर्न आवश्यक रहेको बताए। फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीको समग्र विकास, सक्रिय सहभागिता, सञ्चार संस्कृति र जिम्मेवारीको भावना थप बलियो बनाउन र भविष्य तयारीमा थप सहयोग पुग्ने विद्यालयको विश्वास छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुलसँगको साझेदारी विद्यार्थीलाई जीवन र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने अभियानको महत्वपूर्ण कदम भएको बताए।