नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी, शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको आत्मविश्वास, नेतृत्व र व्यावहारिक क्षमता विकासमा जोड

नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी, शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको आत्मविश्वास, नेतृत्व र व्यावहारिक क्षमता विकासमा जोड

काठमाडौँ / ३२ असार – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समारोहमा फ्युचर एड्भान्टेजका ब्रान्ड एम्बेसडर तथा गायक निर्णय श्रेष्ठ ‘एनएसके’ र प्रेरणादायी वक्ता रमन भट्टराईको समेत उपस्थिति थियो। सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ। कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई विभिन्न गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा काम गर्न, निर्णय लिन, नेतृत्व गर्न र आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ।

फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।

नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानले आधुनिक शिक्षाले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको व्यक्तित्व, सिर्जनशीलता, आत्मविश्वास र सामाजिक जिम्मेवारीको भावना विकास गर्नुपर्ने बताइन्। कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक जीवनमा प्रयोग गर्न सक्ने अवसर प्रदान गर्नु आजको शिक्षाको महत्वपूर्ण आवश्यकता भएको उनको भनाइ छ। उनका अनुसार फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न, जिम्मेवारी लिन, समूहमा सहकार्य गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न थप अवसर प्रदान गर्नेछ। यसले विद्यालयले अघि बढाउँदै आएको समग्र विद्यार्थी विकासको अवधारणालाई अझ प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरिन्।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलसँगको साझेदारी विद्यार्थीलाई जीवन र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यालयमा विद्यार्थीको सक्रिय सहभागिता, नेतृत्व अभ्यास, सञ्चार संस्कृति र व्यावहारिक सिकाइलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।