काठमाडौँ / ३२ असार – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले रिभेरा इन्टरनेसनल एकेडेमी र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ। रिभेरा इन्टरनेसनल एकेडेमी मैजुबहाल, चाबहिलमा अवस्थित छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र रिभेरा इन्टरनेसनल एकेडेमीका अध्यक्ष प्रकाश श्रेष्ठले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समारोहमा फ्युचर एड्भान्टेजका ब्रान्ड एम्बेसडर तथा गायक निर्णय श्रेष्ठ ‘एनएसके’ र प्रेरणादायी वक्ता रमन भट्टराईको समेत उपस्थिति थियो।
सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ।

कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा सहकार्य गर्न, निर्णय लिन, नेतृत्व गर्न तथा आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ। फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।

रिभेरा इन्टरनेसनल एकेडेमीका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यार्थीलाई बदलिँदो समय र विश्वका अवसरअनुसार तयार गर्न विद्यालय शिक्षालाई कक्षाकोठाको अध्ययनमा मात्र सीमित राख्न नहुने बताए। ज्ञानसँगै आत्मविश्वास, व्यवहार, सहकार्य, नेतृत्व र जिम्मेवार निर्णय गर्ने क्षमता विकास भएमा मात्र विद्यार्थीले आफ्नो सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सक्ने उनको भनाइ छ। उनका अनुसार फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीलाई आफ्ना विचार व्यक्त गर्न, नयाँ जिम्मेवारी लिन, समस्यालाई सकारात्मक रूपमा सामना गर्न र वास्तविक जीवनका परिस्थितिमा सिकेको कुरा प्रयोग गर्न थप अवसर प्रदान गर्नेछ।
फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले रिभेरा इन्टरनेसनल एकेडेमीसँगको साझेदारी विद्यार्थीको समग्र विकास र भविष्य तयारी अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यालयमा सक्रिय सहभागिता, सञ्चार संस्कृति, नेतृत्व अभ्यास र व्यावहारिक सिकाइलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
