प्रितिमा इङ्लिस सेकेन्डरी स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

प्रितिमा इङ्लिस सेकेन्डरी स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

विद्यार्थीको जीवनोपयोगी सीप, नेतृत्व र जिम्मेवार व्यक्तित्व विकासमा जोड

काठमाडौँ / ३२ असार – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले प्रितिमा इङ्लिस सेकेन्डरी स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल तथा प्रितिमा इङ्लिस सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल मुरारीप्रकाश सञ्जेल र सह–संस्थापक कविता सञ्जेलले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समारोहमा फ्युचर एड्भान्टेजका ब्रान्ड एम्बेसडर तथा गायक निर्णय श्रेष्ठ ‘एनएसके’ र प्रेरणादायी वक्ता रमन भट्टराईको समेत उपस्थिति थियो।

सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ।

कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा सहकार्य गर्न, निर्णय लिन, नेतृत्व गर्न तथा आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ। फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।

प्रितिमा इङ्लिस सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल मुरारीप्रकाश सञ्जेलले आजको शिक्षाले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्न, जिम्मेवारी वहन गर्न र व्यवहारिक समस्याको समाधान खोज्न सक्षम बनाउनुपर्ने बताए। विद्यार्थीको क्षमता र रुचि पहिचान गर्दै उनीहरूलाई आत्मनिर्भर तथा नेतृत्वदायी बनाउनु विद्यालयको प्राथमिकता रहेको उनको भनाइ छ। सह–संस्थापक कविता सञ्जेलले विद्यार्थीको समग्र विकासका लागि आत्मविश्वास, अनुशासन, सिर्जनशीलता, सहकार्य र सकारात्मक सोच उत्तिकै आवश्यक रहेको बताइन्। फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीलाई आफ्ना प्रतिभा प्रस्तुत गर्न र सिकेका सीपलाई दैनिक जीवनमा प्रयोग गर्न थप अवसर प्रदान गर्ने विश्वास उनले व्यक्त गरिन्।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले प्रितिमा इङ्लिस सेकेन्डरी स्कुलसँगको साझेदारी विद्यार्थीलाई जीवन र भविष्यका अवसरका लागि सक्षम बनाउने अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यालयमा सक्रिय सहभागिता, नेतृत्व अभ्यास, जिम्मेवारी र अनुभवमा आधारित सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।