नेपाल–अमेरिकाबीच शिक्षा र खेलकुद सहकार्य विस्तार गर्ने विषयमा छलफल

नेपाल–अमेरिकाबीच शिक्षा र खेलकुद सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौं, साउन २४ — नेपाल र संयुक्त राज्य अमेरिकाबीच शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम बीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक शिक्षा, शिक्षकको क्षमता अभिवृद्धि, सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, विद्यालय स्वास्थ्य तथा पोषण तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा नेपाल सरकारले अघि बढाइरहेका शिक्षा सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संयुक्त राज्य अमेरिकाको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरिएको थियो। साथै, आगामी दिनमा शिक्षा र खेलकुदका विविध क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको जनाइएको छ।

यस भेटलाई नेपाल–अमेरिका सम्बन्धलाई शिक्षा र खेलकुदको माध्यमबाट थप सुदृढ बनाउने दिशामा सकारात्मक पहलका रूपमा हेरिएको छ।