काठमाडौं, साउन १० — त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाउँदै आरोपितलाई पक्राउ गरेको हो।
प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएपछि मन्त्री पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग तत्काल छलफल गरी आवश्यक अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। त्यसलगत्तै प्रहरीले सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमार्फत परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘अर्गनाइजेशनल बिहेवियर’ विषयको प्रश्नपत्र सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रश्नपत्र बाहिरिएको घटनापछि मन्त्री पोखरेलले मन्त्रालयमै सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुका साथै प्रहरीका उच्च अधिकारी र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग परामर्श गरी आवश्यक कदम चाल्न पहल गरेका थिए।
यसअघि सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएको भन्दै ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजले सम्बन्धित स्क्रिनसट सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो। त्यसपछि व्यवस्थापन संकायको डीन कार्यालयले साइबर ब्युरोमा औपचारिक उजुरी दिएको थियो।
यसैबीच, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। परीक्षा सञ्चालन समितिको निर्णयअनुसार प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
शिक्षा क्षेत्रको विश्वसनीयता र परीक्षाको मर्यादा कायम राख्न दोषीमाथि कानुनी कारबाही तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्न सरोकारवालाले जोड दिएका छन्।