एन.के. सिंह मेमोरियल ई.पी.एस. स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

एन.के. सिंह मेमोरियल ई.पी.एस. स्कुलको फ्युचर एड्भान्टेजसँग औपचारिक साझेदारी

काठमाडौँ / १३ साउन – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै प्रभावकारी सञ्चार, आत्मविश्वास, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले एन.के. सिंह मेमोरियल ई.पी.एस. स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र एन.के. सिंह मेमोरियल ई.पी.एस. स्कुलकी प्रिन्सिपल प्रमिला सिंहले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ।

कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई विभिन्न गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा सहकार्य गर्न, निर्णय लिन, नेतृत्व गर्न तथा आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ।

फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ।

एन.के. सिंह मेमोरियल ई.पी.एस. स्कुलकी प्रिन्सिपल प्रमिला सिंहले विद्यार्थीको सफलता शैक्षिक नतिजामा मात्र नभई उनीहरूको व्यवहार, आत्मविश्वास, निर्णय क्षमता र समाजप्रतिको जिम्मेवारीमा समेत प्रतिबिम्बित हुनुपर्ने बताइन्। बदलिँदो समयअनुसार विद्यार्थीलाई नयाँ अवसर पहिचान गर्न र चुनौती सामना गर्न सक्षम बनाउनु विद्यालय शिक्षाको महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ।

उनका अनुसार फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न, समूहमा प्रभावकारी रूपमा काम गर्न, पहल लिन र नेतृत्वदायी भूमिका निर्वाह गर्न थप अवसर प्रदान गर्नेछ।

फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले एन.के. सिंह मेमोरियल ई.पी.एस. स्कुलसँगको साझेदारी विद्यार्थीको समग्र विकास र भविष्य तयारी अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यालयमा सक्रिय सहभागिता, जिम्मेवारी, नेतृत्व अभ्यास र अनुभवमा आधारित सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।