भक्तपुर — चाँगुनारायण क्षेत्रमा सञ्चालित साइनिङ्ग इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो ३३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवअन्तर्गत अभिभावक दिवस, सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसले विद्यालयको शैक्षिक यात्रा, विद्यार्थी प्रतिभा र संस्थागत प्रतिबद्धतालाई एकै मञ्चमा उजागर गरेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोँजु को सभापतित्वमा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै शाहीले विद्यार्थीमा सकारात्मक सोच, अनुशासन र जिम्मेवारीबोध विकास गर्ने शिक्षा आजको आवश्यकता भएको बताए। उनले शिक्षा नै शान्ति, समृद्धि र उज्ज्वल भविष्य निर्माणको सबैभन्दा बलियो आधार भएको उल्लेख गरे।
कार्यक्रमका विशेष अतिथि चाँगुनारायण नगरपालिका वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमाल र वडा नं. ४ का अध्यक्ष रोजबहादुर तामाङ ले साइनिङ्ग स्कुललाई क्षेत्रमा निरन्तर चम्किरहेको शैक्षिक केन्द्रका रूपमा चित्रित गरेका थिए। कार्यक्रममा ईप्सन अध्यक्ष जिबी खड्का, नेशनल प्याब्सन भक्तपुर अध्यक्ष पुण्यराम कवां, मोटिभेशनल स्पिकर तुल्सीहरि प्रजापति, सञ्चारकर्मी हरिसुन्दर छुकां लगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा कक्षागत रूपमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी, विभिन्न खेलकुद तथा अन्य गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक तथा छात्रवृत्ति प्रदायक व्यक्ति र संस्थाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। यसले विद्यालयले केवल शैक्षिक उपलब्धिलाई मात्र होइन, समग्र योगदान, सहयोग र प्रतिभालाई पनि समान महत्त्व दिँदै आएको स्पष्ट पारेको देखिन्थ्यो।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत, सिर्जनात्मक प्रस्तुति, साथै कलाकार तथा जादुगर राजेन्द्र गिरीको टोली को प्रस्तुति विशेष आकर्षण बनेका थिए। गायक कपिल कसपाल र पूर्व विद्यार्थी समीर बोगटी को प्रस्तुति पनि समारोहका यादगार क्षणमध्ये रहे।
विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछु ले विद्यालयले अभिभावक र विद्यार्थीको आवश्यकता अनुसार व्यावहारिक, संस्कारयुक्त र विद्यार्थी–केन्द्रित शिक्षा प्रदान गर्दै आएको बताए। उनका अनुसार विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ।
साइनिङ्ग इङ्गलिस सेकेन्डरी स्कुलले एसईई तथा बीएलईमा उत्कृष्ट नतिजा मार्फत भक्तपुरको उत्तरी क्षेत्रमा गुणस्तरीय शिक्षाको सशक्त उपस्थिति बनाउँदै आएको उल्लेख गर्दै विद्यालय परिवारले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ।