निःशुल्क शिक्षा तथा छात्रवृत्ति कार्यान्वयनमा कडाइ गर्न मन्त्रालयको निर्देशन

निःशुल्क शिक्षा तथा छात्रवृत्ति कार्यान्वयनमा कडाइ गर्न मन्त्रालयको निर्देशन

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूमा निःशुल्क शिक्षा तथा छात्रवृत्ति व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले एक पत्र जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा शिक्षा नियमावली, २०५९ अनुसार निजी तथा सामुदायिक विद्यालयहरूले तोकिएको व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने जनाएको हो।

उक्त ऐनअनुसार विद्यालयहरूले विद्यार्थी संख्याका आधारमा निश्चित प्रतिशतमा विपन्न, अपाङ्ग, महिला, दलित तथा जनजाति समुदायका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा तथा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।

मन्त्रालयले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण तत्काल IEMIS प्रणालीमा अद्यावधिक गर्न, छात्रवृत्ति वितरण प्रक्रिया पारदर्शी बनाउन तथा अभिभावकहरूले सहज रूपमा जानकारी पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

त्यस्तै, विद्यालयहरूले प्रदान गरेको छात्रवृत्ति सम्बन्धी विवरण नियमित रूपमा सार्वजनिक गर्न र त्यसको अनुगमन प्रभावकारी रूपमा गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

निर्देशन पालना नगर्ने विद्यालयहरूलाई प्रचलित कानुन अनुसार आवश्यक कारबाही गरिने मन्त्रालयले जनाएको छ। साथै, स्थानीय तहहरूलाई पनि यस सम्बन्धमा समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ।