काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा यही वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ र आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा प्रकाशन गरिनेछ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले सरकारको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने नीतिअनुसार बोर्डले काम तीव्र रूपमा अघि बढाएको बताए। उनका अनुसार देशभरका परीक्षण केन्द्रहरूबाट परीक्षार्थीहरूको उत्तरपुस्तिका परीक्षण गरी मार्कस्लिप प्राप्त भइसकेको छ भने तथ्यांक कम्प्युटरमा इन्ट्री गर्ने काम अन्तिम चरणमा पुगेको छ।
यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा सकिएको करिब एक महिनामै नतिजा प्रकाशन गर्ने तयारी भएको यो पहिलो पटक भएको बोर्डले जनाएको छ। यसअघि एसइईको नतिजा सार्वजनिक हुन करिब तीन महिनासम्म लाग्ने गरेको थियो।
बोर्डका अनुसार यसपालि उत्तरपुस्तिका अन्यत्र ढुवानी नगरी परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो। देशभरका १ हजार ९७२ परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र बनाइएकाले उत्तरपुस्तिका परीक्षण, तथ्यांक संकलन र कम्प्युटर इन्ट्रीको प्रक्रिया तुलनात्मक रूपमा सहज र छिटो भएको बोर्डको भनाइ छ।
परीक्षा नियन्त्रक अधिकारीले परीक्षा केन्द्रमै शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षणसम्बन्धी अभिमुखीकरण गरिएकाले परीक्षण प्रक्रिया सावधानीपूर्वक भएको दाबी गरे। उनले त्रुटिरहित नतिजा सार्वजनिक गर्न रुजु तथा समीक्षा कार्यलाई विशेष प्राथमिकता दिइएको बताए।
बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार नतिजा समयमै सार्वजनिक गर्न कर्मचारीहरू बिदाको दिनसमेत बिहानदेखि साँझसम्म निरन्तर खटिएका छन्। आवश्यक जनशक्ति थप गरेर कामलाई तीव्र बनाइएको उनले जानकारी दिए।
यस वर्षको एसइईमा कुल ५ लाख १२ हजार ४२१ परीक्षार्थी सहभागी भएका छन्। त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ परीक्षार्थी छन् भने ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले फारम भरेका थिए। छात्राहरूको संख्या २ लाख ५७ हजार ६१३ रहेको बोर्डले जनाएको छ।
बोर्डका अनुसार सबै तथ्यांक इन्ट्री र अन्तिम रुजु प्रक्रिया पूरा भएपछि बोर्ड बैठकमार्फत नतिजा सार्वजनिक गरिनेछ।