एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा पत्रकार सम्मेलन गर्दै नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार यस वर्ष एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैत १९ गतेदेखि देशभर सञ्चालन भएको एसईई परीक्षा चैत २९ गते सम्पन्न भएको थियो ।

यस वर्ष देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुन आवेदन दिएका थिए । त्यस्तै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले पनि परीक्षामा सहभागी हुन आवेदन दिएको बोर्डले जनाएको छ ।

विगतका वर्षहरूमा परीक्षा सम्पन्न भएको करिब तीन महिनापछि एसईईको नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष तुलनात्मक रूपमा छिटो नतिजा सार्वजनिक गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो ।

बोर्डका अनुसार यस वर्ष परीक्षा सम्पन्न भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको थियो । सोही कारण नतिजा प्रकाशन प्रक्रिया छिटो सम्पन्न भएको हो ।

विद्यार्थीहरूले एसएमएस, आइभीआर, युएसएसडी तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ । नेपाल टेलिकमको १६०० मा कल, एसएमएस तथा युएसएसडीमार्फत नतिजा हेर्न सकिनेछ ।

त्यस्तै, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np मार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।