विद्यालयमा विद्यार्थीको पहुँच बढे पनि वास्तविक सिकाइ, जीवनसँग जोडिएको शिक्षा र समान अवसर अझै सुनिश्चित हुन सकेको छैन। नेपालको विद्यालय शिक्षा सुधारको केन्द्रमा अब गुणस्तर, सान्दर्भिकता र समता राख्नुपर्ने आवश्यकता छ।
केही वर्ष पहिलेसम्म विद्यालय शिक्षाको मुख्य चुनौती भर्ना दर, पहुँचको सुनिश्चितता, भवनको अभाव, पाठ्यपुस्तकको कमी वा बजेटको न्यूनता आदि थियो। धेरै बालबालिका विद्यालय बाहिर थिए। ग्रामीण र दुर्गम क्षेत्रमा विद्यालय नहुँदा पहुँचको समस्या झन् गम्भीर थियो। बजेटको न्यूनता आजका दिनमा पनि उस्तै छ। अहिले पनि केही हदसम्म यी समस्या छन्, तर मूल समस्या भने यी होइनन्। अहिलेको मुख्य समस्या भनेको सिकाइको गुणस्तर, सान्दर्भिकता र सिकाइमा समता हुन्।
अहिले अधिकांश विद्यार्थी विद्यालयमा छन्, तर उनीहरूले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्। विद्यार्थीले कक्षाकोठामा सिकेका कुराको सम्बन्ध उनीहरूको दैनिकी र संसारसँग जोड्न सकिएको छैन। विद्यार्थीको सिकाइ उनीहरूको प्रोफाइलअनुसार भइरहेको छैन। सिकाइको वातावरण नपाउँदा विद्यार्थीले सिकाइमा दक्षता हासिल गर्न सकेका छैनन्।
यसको अलावा हाम्रो शिक्षा प्रणालीले उत्पादन गर्ने विद्यार्थीहरूमा जीवनका वास्तविक चुनौतीहरू सामना गर्न आवश्यक सोच, सीप र आत्मविश्वासको पनि कमी देखिन्छ। शिक्षालाई ज्ञान र चेतनाको निर्माणभन्दा बढी अङ्क, परीक्षा र प्रतिस्पर्धाको यन्त्र बनाइएको छ। अधिकांश विद्यालयहरूमा शिक्षाको उद्देश्य “सिकाउनु” भन्दा “परीक्षा उत्तीर्ण गराउनु” मा सीमित भएको छ। कक्षाकोठामा डरले शासन गरेको छ। सिर्जनशीलताभन्दा बढी रटानको अभ्यास भएको छ। प्रश्न सोध्ने संस्कृति कमै पाइन्छ। शिक्षक र विद्यार्थी दुवै एउटा यस्तो सिकाइको दौडमा सहभागी भएका छन् जहाँ परीक्षामा उत्तीर्ण हुनु नै दौडको अन्तिम गन्तव्य मानिएको छ।
माथिका समस्या केवल शिक्षक र विद्यार्थीको मात्र होइन। विद्यार्थीको परिवार, समाज र राज्यकै सोचमा पनि समस्या देखिन्छ। आफ्ना छोराछोरीले राम्रो ग्रेड ल्याउन, प्रतिष्ठित कलेजमा भर्ना पाउन, राम्रो जागिर खान भन्ने अपेक्षा सबै अभिभावकमा रहेको हुन्छ। यस्तो अपेक्षा राख्नु नराम्रो होइन, तर यस्तो अपेक्षाले कक्षाकोठाको सिकाइलाई गलत दिशामा लैजानु भने हुँदैन। अभिभावकको अपेक्षा पूरा गर्न सिकाइलाई परीक्षा केन्द्रित मात्र गरियो भने त्यो दुर्भाग्य हुन्छ।
राज्यको नीति र संरचना अझै पनि पुरानै ढाँचामा अडिएको छ, जहाँ शिक्षा सुधारको अर्थ नयाँ पाठ्यपुस्तक छाप्नु वा केही तालिम आयोजना गर्नु मात्र ठानिन्छ। हाम्रो सिक्ने–सिकाउने शैलीले हाम्रा विद्यार्थीको सोच्ने क्षमता, नैतिक मूल्य, सामाजिक संवेदनशीलता, डिजिटल साक्षरता र जीवनोपयोगी सीप विकास गर्ने अवसर खोसिरहेको छ। परिणामस्वरूप, हामीले विद्यालयबाट धेरै प्रमाणपत्रधारी विद्यार्थीहरू त निकालिरहेका छौँ, तर जिम्मेवार नागरिक, आत्मनिर्भर युवा र समस्याको समाधान खोज्न सक्ने सशक्त पुस्ता निर्माण गर्न असफल भइरहेका छौँ।
अहिलेको अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट संसारमा हाम्रो विद्यालय शिक्षाले विद्यार्थीलाई प्रश्न गर्न, विश्लेषण गर्न, सहकार्य गर्न, सिर्जना गर्न र आफ्नो पहिचान निर्माण गर्न सिकाउनुपर्ने हो। तर दुर्भाग्यवश, हामी अझै पनि शिक्षा भनेको “किताब पढ्नु, गृहकार्य गर्नु र परीक्षा दिनु” भन्ने सीमित परिभाषामा बाँधिएका छौँ। यही नै हाम्रो विद्यालय शिक्षाको सबैभन्दा ठूलो कमजोरी हो। जबसम्म हामी शिक्षा र सिकाइलाई अङ्कको सिँढीबाट झिकेर जीवन निर्माणको यात्रामा रूपान्तरण गर्दैनौँ, तबसम्म विद्यालयहरू बढे पनि शिक्षाको गुणस्तर र सार्थकता घटिरहने छ।
नेपालका धेरै विद्यालयमा कक्षाकोठा अझै पनि शिक्षक केन्द्रित छ। शिक्षक बोल्छन्, विद्यार्थी सुन्छन्। शिक्षक लेख्छन्, विद्यार्थी सार्छन्। विद्यार्थीको भूमिका “सिक्ने” होइन, “नोट बनाउने” मा सीमित छ। विज्ञान सिकाउँदा प्रयोगशालाको प्रयोग गरिँदैन। सेतोपाटीमा चित्र कोरेर हाइड्रोजन ग्यास बनाउन सिकाइन्छ। सामाजिक विषय शिक्षण गर्दा समुदाय जोडिँदैन। समुदायको अध्ययन हुँदैन। गणित विषय शिक्षण गर्दा वास्तविक जीवनका समस्या हल गरिँदैन।
परिणामतः विद्यार्थीले ज्ञानलाई सूचना, तथ्य, परिभाषा, सूत्र आदिको रूपमा बुझ्छन्। उदाहरणका लागि धेरै विद्यार्थीहरूले “प्रतिशत” पढेका हुन्छन्, तर पसलमा सामान किन्ने बेलामा छुट कति हुन्छ भनेर गणना गर्न सक्दैनन्। हामीले सिकाएका विद्यार्थीले “उच्च जिपिए” त ल्याउँछन्, तर सामान्य समस्या समाधान गर्न, राम्रो लेख्न र तर्क गर्न चाहिँ सक्दैनन्।
विद्यालय “जानु” र “सिक्नु” फरक कुरा हो। हाम्रा विद्यार्थीहरू विद्यालय त गइरहेका छन्, तर अपेक्षित रूपमा सिकिरहेका छैनन्। नेपालको विद्यालय शिक्षामा सबैभन्दा ठूलो समस्या भनेको विद्यार्थी विद्यालय त जान्छन्, तर अपेक्षित रूपमा सिक्दैनन् भन्ने हो। हाम्रो आधारभूत तहको परीक्षा, एसईई परीक्षा र एसएलसी परीक्षाको परिणामले पनि यो तथ्यलाई पुष्टि गर्छ। हाम्रो सिकाइको मापन विद्यार्थीहरूले के सिके भन्ने आधारमा होइन, कति अङ्क वा ग्रेड ल्याए भन्ने आधारमा हुन्छ।
हाम्रा विद्यार्थीहरूको पढाइ–लेखाइको आधारभूत दक्षता कमजोर छ भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टहरूमा बारम्बार पढ्न पाइन्छ। विभिन्न अध्ययनहरूले धेरै विद्यार्थीहरू कक्षागत स्तरभन्दा तल पढ्न र बुझ्न सक्ने अवस्थामा रहेको देखाएका छन्। कतिपय ग्रामीण विद्यालयमा कक्षा पाँचसम्म पढेका विद्यार्थीले सरल अनुच्छेद पढेर अर्थ बुझ्न कठिन मान्ने अवस्था देखिन्छ। यसले भविष्यमा उनीहरूलाई विज्ञान, गणित जस्ता विषय सिक्न झनै अप्ठ्यारो बनाउँछ।
सिकाइको गुणस्तर कमजोर हुनुको अर्को कारण हो—परीक्षा केन्द्रित संस्कृति। विद्यार्थीलाई सिकाइको आनन्दभन्दा बढी परीक्षा पास गर्न सिकाइन्छ। विद्यालयका धेरै कार्यक्रम अन्तिम परीक्षा केन्द्रित हुन्छन्। यसले विद्यार्थीलाई घोक्ने र कण्ठ गर्ने काममा बढी लगाउँछ। शिक्षकलाई ट्युशन शिक्षक बनाउँछ। विद्यालयलाई “प्रश्नपत्र अभ्यास केन्द्र” मा परिणत गर्छ। यस्तो शिक्षा प्रणालीले सिर्जनशीलता मार्छ। विद्यार्थीमा खोज गर्ने बानी हटाउँछ। विद्यार्थीको आलोचनात्मक सोच कमजोर बनाउँछ। विद्यार्थीको आत्मसम्मानलाई अङ्कसँग जोड्छ। कम अङ्क ल्याउने विद्यार्थीलाई “कमजोर” को बिल्ला भिराइन्छ, तर उनीहरूभित्रको प्रतिभा पहिचान गरिँदैन।
गुणस्तरको प्रश्न सिकाइसँग मात्र होइन, शिक्षकको क्षमतासँग पनि जोडिन्छ। धेरै शिक्षकहरू मेहनती हुँदा हुँदै पनि उनीहरूलाई २१औँ शताब्दीको शिक्षण विधि, समावेशी शिक्षा, सूचना तथा सञ्चार प्रविधि जस्ता विषयमा पर्याप्त र निरन्तर सहयोग तथा तालिम छैन। धेरै विद्यालयहरूमा शिक्षकको मुख्य काम “पाठ्यपुस्तक पढाएर सक्ने” हुन्छ। विद्यार्थीहरूले सिके कि सिकेनन् भनेर हेरिँदैन।
विद्यालय व्यवस्थापन समितिहरू र स्थानीय निकायहरू पनि गुणस्तरको मापनलाई परीक्षाको नतिजामा मात्र सीमित गरेर हेर्छन्। यस्तो संरचनामा वास्तविक गुणस्तर सुधार सम्भव हुँदैन। सिकाइको गुणस्तरको सङ्कट भनेको ज्ञानको सतहीपन, सीपको अभाव, सोचको दुर्बलता र आत्मविश्वासको कमी हो। जबसम्म नेपालले शिक्षा प्रणालीलाई “रटान र अङ्क वा ग्रेड” बाट “ज्ञान निर्माण, सीप सिकाइ र अवधारणा बुझाइ” मा रूपान्तरण गर्दैन, तबसम्म विद्यालय शिक्षा समाज परिवर्तन गर्ने शक्ति होइन, केवल प्रमाणपत्र उत्पादन गर्ने कारखाना बन्नेछ।
सिकाइ सिक्ने व्यक्तिको जीवनसँग जोडिनुपर्छ। सिकाइ सिक्ने व्यक्तिको जीवनसँग जोडिएन भने त्यो सिकाइ होइन। नेपालको विद्यालय शिक्षाको अर्को मुख्य समस्या भनेको सिकाइको सान्दर्भिकता कमजोर हुनु हो। सान्दर्भिकता भन्नाले विद्यालयमा निर्माण गरिने ज्ञान र सिकाइने सीप विद्यार्थीको जीवन, समुदाय, स्थानीय आवश्यकता र भविष्यको श्रम बजारसँग कति जोडिएको छ भन्ने हो।
तर हाम्रो शिक्षा प्रणालीमा पढाइ धेरै हदसम्म जीवन केन्द्रितभन्दा पनि पाठ्यपुस्तक केन्द्रित छ। विद्यार्थीले सिक्ने धेरै कुरा उनीहरूको स्थान, परिवारको आर्थिक अवस्था, देशको आवश्यकता वा भविष्यको सम्भावनासँग मेल खाँदैन। परिणामतः विद्यार्थीले विद्यालयलाई “जीवनको तयारी गर्ने ठाउँ” होइन, “परीक्षा उत्तीर्ण गर्ने र माथिल्लो कक्षा चढ्ने ठाउँ” मात्र ठान्छन्।
सिकाइ प्रायः “सैद्धान्तिक” मात्र हुन्छ। विद्यार्थीले “धानको उत्पादन प्रक्रिया” लेख्न सक्छन्, तर आफ्नै गाउँमा धान किन घट्दैछ, धान उत्पादनमा मलखादको प्रभाव के छ, बजार मूल्य कसरी निर्धारण हुन्छ, जलवायु परिवर्तनले धान खेतीमा के असर गरेको छ भन्ने व्यवहारिक विश्लेषण गर्न सक्दैनन्। यही कारणले विद्यालय पढेका धेरै युवाहरू कृषि क्षेत्रमा अवसर देख्दैनन्। उनीहरूमा कृषि “पढे–लेखेको मानिसले गर्ने काम होइन” भन्ने गलत धारणा बसाइएको छ। यदि विद्यालयले कृषिलाई आधुनिक प्रविधि, उद्यमशीलता र स्थानीय अर्थतन्त्रसँग जोडेर सिकाएको भए युवाहरू विदेश पलायन हुने प्रवृत्ति केही हदसम्म घट्न सक्थ्यो।
सान्दर्भिकताको कमी नागरिक शिक्षामा पनि देखिन्छ। विद्यार्थीले संविधानका धाराहरू याद गर्न सक्छन्, तर लोकतन्त्रको अभ्यास कसरी गर्ने, स्थानीय सरकारको भूमिका के हो, कर किन तिर्नुपर्छ, सार्वजनिक सम्पत्ति किन जोगाउनु नागरिकको दायित्व हो जस्ता व्यवहारिक नागरिक शिक्षामा ध्यान गएको देखिँदैन। शिक्षा यदि सान्दर्भिक भएको भए विद्यार्थीले नागरिकताको संस्कार विद्यालयबाटै सिक्थे।
सान्दर्भिकता रोजगार र सीपसँग पनि सम्बन्धित छ। आजको संसार डिजिटल युगको संसार हो। यस्तो संसारमा हामीले सिकाउने पाठ्यक्रम र सिक्ने व्यक्तिको आवश्यकता बीच मेल देखिँदैन। विद्यार्थीले मोबाइल चलाउन जान्दछ। तर डिजिटल सुरक्षा, तथ्य जाँच, साइबर बुलिङबाट जोगिने उपाय, सूचनाको गोपनीयता जस्ता अत्यन्त आवश्यक सीप सिकेको, जानेको र बुझेको हुँदैन। सामाजिक सञ्जालले युवालाई प्रभाव पारिरहेको छ, तर विद्यालयले सञ्चार साक्षरता सिकाउन सकेको छैन। फलस्वरूप विद्यार्थी गलत सूचनाको सिकार हुन्छन्। चरम विचारधारामा प्रभावित हुन्छन्। यसले विद्यार्थीको मानसिक स्वास्थ्यमा असर पार्छ। तर यस मामलामा विद्यालय मौन नै बसेको हुन्छ।
सान्दर्भिकताको सङ्कट पाठ्यक्रममा मात्र होइन, सिकाइको शैलीमा पनि छ। उदाहरणका लागि, विद्यार्थीलाई “परियोजना कार्य” दिइन्छ, तर वास्तविक परियोजना कार्य गर्ने अवसर दिइँदैन। परियोजना कार्यमा समस्या समाधानभन्दा बढी जानकारी सङ्कलन गराइन्छ। इन्टरनेटबाट सामग्री नक्कल गरेर ल्याउन अह्राइन्छ। परियोजना कार्यको वास्तविक जीवनमा के उपयोगिता छ भनेर जोडेर हेरिँदैन। बुझाइभन्दा बढी प्रस्तुतीकरणलाई महत्त्व दिइन्छ। यदि कुनै कार्यले नयाँ बुझाइ सिर्जना गर्दैन वा वास्तविक समस्याको समाधानमा ज्ञान प्रयोग गर्दैन भने त्यसलाई कुन आधारमा परियोजना कार्य मान्ने? जब परियोजना कार्यहरू सूचना, तथ्य र परिभाषा सङ्कलन गर्ने अभ्यासमा सीमित हुन्छन्, तब सिकाइ केवल शैक्षिक औपचारिकतामा सीमित हुन्छ।
नेपालको शिक्षा प्रणालीमा सान्दर्भिकता कमजोर हुनुको मूल कारण “केन्द्र र बाहिर” बाट बनाइने नीति र पाठ्यक्रमले स्थानीय विविधतालाई सम्मान नगर्नु हो। हिमाल, पहाड र तराईका जीवनशैली फरक छन्। भाषा, संस्कृति, अर्थतन्त्र र रोजगारीका सम्भावना फरक छन्। तर विद्यालयको पाठ्यक्रम धेरै हदसम्म एउटै ढाँचामा चल्छ। परिणामतः विद्यार्थीले आफ्नो पहिचान, आफ्नो समुदाय र आफ्नो सम्भावनासँग शिक्षा जोड्न सक्दैन।
हाम्रो सन्दर्भमा विद्यार्थीलाई शिक्षा “आफ्नो” लाग्दैन। उसको लागि शिक्षा “अरूको लागि बनेको” जस्तो हुन्छ। सिकाइको सान्दर्भिकता कमजोर हुनु भनेको विद्यार्थीलाई वास्तविक जीवनको चुनौती सामना गर्न असक्षम बनाउनु हो। जब शिक्षा जीवनसँग जोडिँदैन, तब विद्यार्थीको आत्मविश्वास घट्छ। रोजगारको सम्भावना कमजोर हुन्छ र देशले उत्पादनशील नागरिकभन्दा निराश युवाहरू बढी पाउँछ। त्यसैले नेपालको शिक्षा सुधारको केन्द्रमा सान्दर्भिकता अनिवार्य हुनु र रहनुपर्छ।
नेपालमा विद्यालय शिक्षाको सबैभन्दा पीडादायी र राजनीतिक रूपमा संवेदनशील समस्या भनेको सिकाइमा समताको अभाव हो। समता भन्नाले सबै विद्यार्थीलाई उनीहरूको आवश्यकता अनुसार अवसर उपलब्ध गराउनु हो। विद्यार्थीको पृष्ठभूमिका कारण उसको सिकाइ र भविष्य निर्धारण हुनु हुँदैन। नेपालको शिक्षा प्रणालीमा विद्यालयभित्र प्रवेश त धेरैले पाएका छन्, तर समान गुणस्तरीय सिकाइ पाउने अधिकार सबैलाई छैन। यही कारणले शिक्षा सामाजिक न्यायको माध्यम बन्नुपर्ने ठाउँमा सामाजिक विभाजनको कारक बन्दै गएको छ।
नेपालको सन्दर्भमा समताको पहिलो समस्या सार्वजनिक र निजी विद्यालयबीच देखिन्छ। निजी विद्यालयहरू अङ्ग्रेजी माध्यम, राम्रो भवन, आधुनिक स्रोतसाधन र आकर्षक कार्यक्रमसहित प्रस्तुत हुन्छन्। सार्वजनिक विद्यालयहरूमा धेरै ठाउँमा शिक्षकको अभाव, सामग्रीको कमी, कमजोर व्यवस्थापन र समुदायको घट्दो विश्वास देखिन्छ। सम्पन्न परिवारका केटाकेटी निजी विद्यालयमा, गरिब परिवारका केटाकेटी सार्वजनिक विद्यालयमा गएको अवस्था छ। शिक्षा नै वर्ग विभाजनको आधार बनेको छ।
यो समता होइन, असमानता उत्पादन गर्ने संरचना हो। समाजमा “सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भनेको कमजोर विद्यार्थी” भन्ने भाष्य निर्माण गरिएको छ। यसले सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको आत्मविश्वासमा प्रत्यक्ष चोट पुर्याएको छ।
हाम्रो देशमा भौगोलिक असमानता अत्यन्त गहिरो छ। काठमाडौं, पोखरा, धरान, बुटवल जस्ता सहरका विद्यालयमा शिक्षक, प्रविधि र अवसर बढी छन्। कर्णाली, सुदूरपश्चिम वा दुर्गम पहाडी जिल्लामा अझै पनि विद्यार्थीले नियमित शिक्षक नपाउने, पुस्तक ढिलो पुग्ने, इन्टरनेट नहुने, कक्षाकोठा अभाव हुने समस्या भोगिरहेका छन्। एउटै देशमा जन्मिएको विद्यार्थीले आफ्नो जन्मस्थानका कारण शिक्षाको अवसर गुमाउनु राज्यको संरचनागत असफलता हो। जब शिक्षाको अवसरलाई भूगोलले निर्धारण गर्छ, त्यो शिक्षा प्रणाली अन्यायपूर्ण हुन्छ।
नेपाल बहुभाषिक देश हो, तर विद्यालय शिक्षा अझै पनि धेरै हदसम्म नेपाली वा अङ्ग्रेजीमा केन्द्रित छ। मातृभाषा फरक भएका बालबालिकाले कक्षा एकदेखि नै भाषा बुझ्न सङ्घर्ष गर्नुपर्छ। शिक्षकले उनीहरूको भाषा र संस्कृति नबुझ्दा विद्यार्थीको सिकाइ झनै कमजोर हुन्छ। यो केवल भाषा समस्या होइन, पहिचान र आत्मसम्मानको समस्या हो। भाषिक असमानताले विद्यार्थीलाई “म सक्षम छैन” भन्ने भ्रममा पुर्याउँछ। जबकि समस्या विद्यार्थीमा होइन, शिक्षा प्रणालीको संरचनामा हुन्छ। भाषिक र सांस्कृतिक असमानता पनि ठूलो समस्याको रूपमा रहेको छ।
ग्रामीण क्षेत्रमा अझै पनि छोरीहरूलाई विद्यालय पठाउने विषयमा अनौपचारिक विभेद, घरेलु कामको दबाब, किशोरीहरूको महिनावारी व्यवस्थापनको समस्या, सुरक्षित शौचालयको अभाव जस्ता कारणले सिकाइ अवसर असमान हुन्छ। विद्यालयमा शौचालय, स्यानिटरी प्याडको व्यवस्थापन र सुरक्षित वातावरण नहुँदा धेरै किशोरीहरू नियमित उपस्थित हुन सक्दैनन्। यसले उनीहरूको सिकाइमा ठूलो खाडल बनाएको छ।
शिक्षामा समता भनेको केवल “भर्ना संख्या” बराबर बनाउनु होइन। उपस्थिति, सिकाइ र सफलताको समान अवसर पनि सुनिश्चित गर्नु हो। अपाङ्गता भएका विद्यार्थीहरूका लागि समावेशी शिक्षा अझै कमजोर छ। धेरै विद्यालयका भौतिक संरचना अझै पनि अपाङ्गमैत्री छैनन्। अपाङ्गता भएका विद्यार्थीलाई विद्यालयले “समावेश” गरेको जस्तो देखिए पनि वास्तवमा उनीहरूलाई सिक्न सहज वातावरण छैन। यो समता होइन, औपचारिकता मात्र हो।
नेपालको शिक्षा प्रणालीमा समता कमजोर हुनुको ठूलो कारण नीति होइन, कार्यान्वयन हो। सरकारले “सबैका लागि शिक्षा” को नारा त दिएको छ, तर बजेट, शिक्षक व्यवस्थापन, निगरानी प्रणाली र स्रोत वितरणमा समानता छैन। अझै पनि राजनीतिक पहुँच भएका ठाउँमा बढी सुविधा पुग्ने, दुर्गम र कमजोर समुदाय पछि पर्ने अवस्था देखिन्छ। शिक्षा क्षेत्रमा बजेट खर्च भए पनि त्यसको प्रभाव विद्यार्थीको सिकाइमा देखिँदैन।
शिक्षा भनेको सामाजिक न्यायको सबैभन्दा बलियो माध्यम हो। यदि शिक्षा नै असमान भयो भने समाजमा असमानता झनै गहिरो हुन्छ। आज नेपालमा गरिब र धनीको दूरी बढ्नु, ग्रामीण र शहरी अवसरको अन्तर गहिरिनु, बेरोजगारी र विदेश पलायन बढ्नुको एउटा मौन कारण शिक्षा प्रणालीभित्रको असमानता पनि हो। त्यसैले नेपालको शिक्षा सुधारको केन्द्रमा “समता” राख्नु भनेको केवल शैक्षिक मुद्दा मात्र होइन। यो त सामाजिक न्याय र राष्ट्र निर्माणको मुद्दा पनि हो।
नेपालको विद्यालय शिक्षाको सुधारबारे छलफल गर्दा हामी बारम्बार भवन, बजेट, पाठ्यपुस्तक र तालिमको सूची बनाउँछौँ। तर सत्य के हो भने यी सबै उपायहरू तबसम्म अर्थपूर्ण हुँदैनन् जबसम्म हामी शिक्षाको मूल प्रश्न—विद्यार्थीले के सिक्दैछ? त्यो सिकाइ जीवनसँग कति जोडिएको छ? र त्यो सिकाइ सबैका लागि समान रूपमा सम्भव छ कि छैन?—भन्ने प्रश्नहरूको इमानदार उत्तर खोज्दैनौँ।
आज नेपालको विद्यालय शिक्षाको सङ्कट व्यवस्थापनको मात्र होइन, उद्देश्य र दृष्टिकोणको पनि सङ्कट हो। शिक्षा प्रणालीले प्रमाणपत्र त दियो, तर क्षमता दिन सकिरहेको छैन। विद्यालयले विद्यार्थीलाई कक्षा उत्तीर्ण त गराए, तर जीवन सफल गराउन सकिरहेको छैन। यही कारणले हाम्रो समाजमा उच्च अङ्क ल्याएका तर आत्मनिर्भर हुन नसक्ने, विदेश जान बाध्य हुने, सीप नभएका र निर्णय गर्न डराउने युवाहरूको संख्या बढिरहेको छ।
सिकाइको गुणस्तर कमजोर रह्यो भने हाम्रो शिक्षा केवल रटान र प्रतिस्पर्धाको खेल हुनेछ, जहाँ विद्यार्थीको जिज्ञासा मर्छ। सिर्जनशीलता दबिन्छ। शिक्षक पनि पाठ्यक्रम सक्ने कर्मचारीजस्तो बन्न पुग्छ। यदि सिकाइ सान्दर्भिक भएन भने विद्यालयले उत्पादन गर्ने नागरिकले समाजको आवश्यकता पूरा गर्न सक्दैन। सिकाइमा समता कायम भएन भने शिक्षा नै सामाजिक विभाजनको उपकरण बन्नेछ।
शिक्षा धनीका लागि अवसर, गरिबका लागि बाध्यता हुनुहुँदैन। शहरका लागि सम्भावना, गाउँका लागि निराशा पनि हुनुहुँदैन। यस्तो शिक्षा प्रणालीले राष्ट्र निर्माण होइन, असमानता र असन्तुष्टि निर्माण गर्छ।
नेपालले शिक्षा सुधारलाई “नयाँ नीति” र “नयाँ पाठ्यक्रम” को बहसमा मात्र सीमित गर्न हुँदैन। सुधारको केन्द्रमा कक्षाकोठा हुनुपर्छ। शिक्षकको पेशागत क्षमता हुनुपर्छ। विद्यार्थीको वास्तविक सिकाइ हुनुपर्छ। हामीले परीक्षा प्रणालीलाई ज्ञान मापन होइन, सोच र सीप मापनतर्फ रूपान्तरण गर्नुपर्छ। विद्यालयलाई सूचना दिने केन्द्र होइन, अनुसन्धान गर्ने, सहकार्य गर्ने, समस्या समाधान गर्ने र समाजसँग जोडिने ठाउँ बनाउनुपर्छ। स्थानीय सन्दर्भअनुसार सिकाइलाई अर्थपूर्ण बनाउनुपर्छ।
विद्यार्थीले विद्यालयलाई “जीवनबाट अलग” होइन, “जीवनको तयारी” को ठाउँका रूपमा अनुभूति गर्न सक्नुपर्छ। देशको कुनै पनि कुनामा जन्मिएको बालबालिकाले अवसरबाट वञ्चित हुनुहुँदैन।
शिक्षा सुधार भनेको सरकारको मात्र जिम्मेवारी होइन। विद्यालय, शिक्षक, अभिभावक, स्थानीय सरकार, निजी क्षेत्र र समाज सबैको साझा प्रतिबद्धता हो। यस्तो प्रतिबद्धता केवल भाषणमा होइन, कक्षाकोठामा देखिनुपर्छ। हामीले सिकाइको गुणस्तर बढाउन सकेनौँ भने हामी भविष्य गुमाउँछौँ। यदि सान्दर्भिक शिक्षा दिन सकेनौँ भने हामी अवसर गुमाउँछौँ। यदि समता सुनिश्चित गर्न सकेनौँ भने हामी न्याय गुमाउँछौँ। जब गुणस्तर, सान्दर्भिकता र समता तीनै कमजोर हुन्छन्, तब शिक्षा केवल एउटा औपचारिक प्रणाली मात्र रहन्छ।
लेखकको परिचय: मेदिनबहादुर लामिछाने युलेन्स एजुकेशन फाउन्डेशनमा चिफ एकेडेमिक अफिसर तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीको रूपमा कार्यरत हुनुहुन्छ। साथै उहाँ काठमाडौं विश्वविद्यालयमा विद्यावारिधिको शोधार्थी समेत हुनुहुन्छ। यस लेखमा व्यक्त विचार उहाँको निजी विचार हुन्।
