काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ ।
कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार काठमाडौँ उपत्यकास्थित विभिन्न स्थानमा सञ्चालित केही शैक्षिक परामर्श केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गरेको उजुरी तथा निवेदन प्राप्त भएपछि अनुगमन तथा कारबाही अघि बढाइएको हो ।
प्रहरीका अनुसार ती केन्द्रहरूले शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित मापदण्ड र प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेको पाइएको छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८३/०२/०१ गते छापा मार्ने क्रममा ९५ वटा शैक्षिक परामर्श केन्द्रमा अनुगमन गरेको हो । सो क्रममा ६९ जना शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूको स्क्रिनिङ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।
प्रहरीले शैक्षिक परामर्श केन्द्रमार्फत ठगीमा परेका नेपाली नागरिकहरूलाई यथाशीघ्र उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क राख्न अनुरोधसमेत गरेको छ ।
शैक्षिक परामर्शका नाममा अवैध कारोबार, कागजातसम्बन्धी अनियमितता तथा मापदण्डविपरीत सेवा सञ्चालन भइरहेको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
